कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका – ३ लक्ष्मी देउरालीस्थित वनपाले सामुदायिक वनका उपभोक्ताले आफ्नै सामुदायिक वनभित्र लप्सी उत्पादन गरी अचार र क्यान्डी बनाएर राम्रो आम्दानी गरिरहेका छन् । कुल १६ हेक्टर क्षेत्रफलमा रहेको वनपाले सामुदायिक वन भित्रको ० दशमलव ५२ हेक्टर क्षेत्रफलमा लप्सीका बोट छन् । सामुदायिक वन केवल घाँस दाउरा र अन्य काठपातका लागिमात्र उपायोगमा आइरहेको बेलामा यो सामुदायिक वनले वनमा यसरी उद्योग खोल्न सकिन्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गरेको छ ।
वनमा रोपिएका लप्सीका विरुवाले उत्पादन दिन थालेपछि स्थानीय उपभोक्ताले अचार र क्यान्डी बनाएर बिक्री गर्न थालेको सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष चुडामणी पौडेलले बताए । उनले भने, ‘लप्सीको अचार र क्यान्डी बेचेर वार्षिक झण्डै डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।’
सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की र हरियो वन कार्यक्रमको सहयोगमा सामुदायिक वनमा लप्सी उद्योग स्थापना गर्न सम्भव भएको हो । स्थानीय उपभोक्ताको सक्रियतामा २०४२ सालमा तत्कालीन जिल्ला वन कार्यालयको आर्थिक सहयोगमा यो क्षेत्रमा लप्सीका विरुवा रोपिएको हो । त्यतिबेला यो वनमा करिब २ सय लप्सीका विरुवा रोपिएको स्थानीय उपभोक्ता षडानन्द पौडेलले बताए ।
लप्सीको विरुवा रोपेदेखि नै स्थानीय उपभोक्ताले वनपालेसमेत राखेर लप्सीका बोट हुर्काएका हुन् । कास्कीको यो सामुदायिक वनलाई लप्सीको पकेट क्षेत्रका रुपमा विकास गर्ने स्थानीय उपभोक्ताको योजना रहेको छ । स्थानीय उपभोक्ता षडानन्द पौडेलले भने, ‘हाम्रो वनमा ठूला रुख हुँदैनन् । सबैजसो रुखहरु दाउराकै रुपमा बढी प्रयोगमा आउने गरेका छन् । मिहिनेत गरेमा त वनलाई आम्दानीको स्रोत हामी आफैँ बनाउन सक्ने रहेछौँ ।’ सुरु–सुरुमा लप्सीको दाना बिक्री गरेर आम्दानी लिएका यहाँका उपभोक्ताले २०७१ सालपछि भने अचार र क्यान्डी बनाएर बिक्रिी गर्न थालेका हुन् ।
‘गएको वर्ष त राम्रो लप्सी फलेको थियो, यसपाली त असिनाले सबै लप्सी झर्याे खासै अचार बनाउन सकेका छैनौँ ।’ वन उपभोक्ता समितिका कोषाध्यक्ष चुडामणी पौडेलले भने । आफ्नै सामुदायिक वनमा लप्सी उत्पादन पर्याप्त मात्रामा नभएको भए पनि अन्य ठाउँबाट लप्सीका दाना किनेर ल्याएर पनि अचार र क्यान्डी बनाएर बेच्ने योजना रहेको उनले सुनाए । ‘यहाँ बजारको समस्या देखिएको छैन । हामीले बनाएको अचार केही केही त गाउँठाउँमा नै बिक्रिी भइरहेको छ । केही भने पोखरामा समेत बिक्री गरेका छौँ । बजारमा लप्सीको अचार र क्यान्डीको राम्रो माग छ’ पौडेलले भने ।
वनमा बर्सेनि लटरम्म लप्सी फल्न थालेपछि यहाँको सिङ्गो समुदाय नै वनमार्फत आयआर्जनमा जोडिएका छन् । यो सामुदायिक वनले जिल्ला घरेलु उद्योग कार्यालयमा लप्सी अचार उद्योग दर्ता गरेको छ । उपभोक्ता समूहले तयार गरेको अचार प्रतिकिलोग्राम ३ सय २० रुपैयाँमा, गुलियो र पिरो क्यान्डी ४ सय रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ । वनमा फलेका लप्सी प्रशोधन गरी अचार र क्यान्डी बनाउनका लगि समुदायले डिभिजन वन कार्यालयको १५ लाख सहयोगमा एउटा भवन नै निर्माण गरेको छ । यसका साथै हरियो वन कार्यक्रममार्फत लप्सीको बोक्रा सुकाउने सोलार, लप्सीको बोक्रा छोडाउने मेसिन, लप्सी टिप्ने औजारलगायतका विभिन्न सामग्रीहरु पनि प्राप्त गरेको छ ।
वनबाट लप्सी टिपेर ल्याएपछि पनि स्थानीय उपभोक्ताहरुले नै लप्सीको अचार बनाउने क्यान्डी बनाउने लगायतका कामहरु गर्ने गरेका छन् । उपभोक्ता समूहका कोषाध्यक्ष पौडेलले भने, ‘आवश्यकता अनुसार हामी प्रत्येक टोलबाट मानिसहरु बोलाउने सबैलाई पारिश्रमिक दिएर काम लगाउने गरेका छौँ ।’
वनको संरक्षण प्रवद्र्धन एवं उपयोगका दृष्टिले उत्कृष्ट बनेको यो सामुदायिक वनले २०७३/७४ मा नेपाल सरकारबाट गणेशमानसिंह वन वातावरण राष्ट्रिय पुरस्कार २०७१/०७२ सालमा जिल्ला वन कार्यालय कास्कीबाट प्रथम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको थियो ।