स्याङ्जा –
आर्थिक आयआर्जन बढाउनका सामुदायिक वनका उपभोक्ता पछिल्लो समय अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् । वन जंगलमा हुने अनावश्यक झाडी व्यवस्थापन गरी सामुदायिक वनबाट आर्थिक लाभ लिनका लागि स्यााङ्जाको फेदीखोला गाउँपालिकाको चिप्लेटी सामुदायिक वन उपभोक्ता समूहले वनभित्र अम्रिसो खेती गरिरहेको छ ।
पछिल्लो समय गाउँघरका युवा शक्ति विदेशिने र सहर केन्द्रित हुँदा वन जंगल गएर घाँस दाउरा गर्ने चलन हराउँदै गइरहेको छ । यसले गर्दा वनमा अनुत्पादक झाडी बढेको छ । उनुत्पादक झाडी व्यवस्थापन गर्दै अम्रिसो खेती गरेर चिप्लेटी सामुदायिक वनले नमुना कार्य गरिरहेको छ ।
यो सामुदायिक वनमा लहलह अम्रिसो झुलेको देखिन्छ । उत्पादन नहुने वस्तु विस्थापित गरेर उत्पादनमुखी अम्रिसो लगाएपछि यहाँका स्थानीय १ सय ५३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । सामुदायिक वनबाट समुदायको आर्थिक विकासमा परिवर्तन ल्याउन यो सामुदायिक वनले यो कामको सुरुवात गरेको चिप्लेटी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपेन्द्र सुवेदीले बताए । उनले भने ‘२ वर्ष पहिला हामीले सामुदायिक वनबाट आम्दानी लिने उद्देश्यले सामुदायिक वनमा ६ हजार अम्रिसोको विरुवा रोपेका हौँ । अब अम्रिसो कुचो बनाउनका लागि योग्य भइसकेको छ ।’
वनमा अम्रिसो लगाइसकेपछि यसको संरक्षणमा भने अलि समस्या भएको सुवेदी बताउँछन् । बाटोको छेउमै रोपेको अम्रिसोको केही विरुवा भने स्थानीयको बाख्रावस्तुले खाइदिएको छ । संरक्षणका लागि वन उपभोक्ता समूहले पाले राखेको भए पनि त्यो अम्रिसो रेखदेखका लागि प्रभावकारी नभएकाले हटाइएको उनले बताए । पछिल्लो समय अम्रिसोको संरक्षण र संवद्र्धनका लागि यो क्षेत्रमा तारबार लगाउने काम पनि भइरहेको छ ।
सामुदायिक वन उपभोक्ता समूहले उत्पादन गरेको यो अम्रिसोबाट निर्माण भएको एउटा कुचो ५० रुपैयाँसम्ममा बिक्री गर्न सकिने अध्यक्ष सुवेदी बताउँछन् । यसले उपभोक्ता समूहको कोषमा केही रकम सञ्चित हुनेछ । अम्रिसो खेती गर्न पनि सजिलो छ । यसलाई रोपेपछि ६–६ महिनामा गोडमेल गरे हुन्छ । अम्रिसोको बोटमुनि अन्य बोटविरुवा उम्रिने भएकाले ६ महिनामा एकपटक गोडमेल गर्यो भने सजिलै यसबाट प्रतिफल लिन सकिने सुवेदी बताउँछन् ।
फेदीखोला गाउँपालिका र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा चिप्लेटी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना लागि एउटा सामुदायिक भवनको पनि निर्माण गरेको छ । वन उपभोक्ता समूहको बैठक तथा सामुदायिक वनमा उद्यमका क्रियाकलाप गर्नका लागि यो भवनको निर्माण गरिएको हो ।
कम लागतमा अम्रिसो खेतीबाट छिटो प्रतिफल पाउने र जोखिममुक्त रहेकाले यसतर्फ लागेको चिप्लेटी सामुदायिक वनका उपभोक्ताहरु बताउँछन् । अम्रिसोबाट बनेको एउटा कुचोको न्यूनतम मूल्य ५० रुपैयाँ छ । जति उत्पादन गर्न सके पनि कुचोका लागि बजारीकरणको समस्या नभएको अध्यक्ष सुवेदीको भनाइ छ । गाउँ घरमा पनि कुचोको राम्रो माग रहेको उनले बताए । कुचो र घाँस दुवै हुने भएकाले यसबाट स्थानीय कृषकहरुलाई दोहोरो फाइदा रहेको पनि अध्यक्ष सुवेदीले बताए ।