गाउँभरी तरकारी !

स्याङ्जा –

पोखराबाट झण्डै २८ किलोमिटरको यात्रापछि स्याङ्जाको सदरमुकाम पुतलीबजार नपुग्दै बायाँतर्फ उकालो लाग्नेवित्तिकै सुरु हुन्छ फेदीखोला गाउँपालिकाको तल्लोकुँडुले गाउँ । यो गाउँ सामुदायिक वनका उपभोक्ताको सशक्त गतिविधिका कारण छुट्टै पहिचान बनाउन सफल छ ।

राजमार्ग छोडेर अलिकति उकालो लाग्नेवित्तिकै घर वरिपरीका बारीका पाटामा बनाइएका टनेलामा बोटभरी लटरम्म फलेका गोलभेँडा, बारीका पाटाभरी फूलेका काउली र सिजन अनुसारका सागपातको आकर्षक दृश्यले मन लोभ्याउँछ ।

यस गाउँका महिला पुरुष दुवै उत्तिकै जाँगरिला छन् । तरकारी खेतीमा गाउँका महिला र पुरुष दुवैले उत्तिकै मिहिनेत गरेका छन् । हरियो वन कार्यक्रमको सहयोगमा चिप्लेटी सामुदायिक वनका उपभोक्ताहरुले अहिले घरैपिच्छे गोलभेँडा, काउली, आलु, अन्य सिजनअनुसारको सागपात बारीभरी लगाइरहेका छन् । यसअघि पनि सामुहिक रुपमा तरकारी खती गरेर यो समूह उदाहरणीय बनेको थियो । चिप्लेटी सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दीपेन्द्र सुवेदीले भने ‘यसअघि हाम्रो सामुदायिक वन उपभोक्ता समूहले सामुहिक रुपमा नै तरकारी खेती गरेको थियो । त्यसबाट राम्रो प्रतिफल प्राप्त भएपछि अहिले यहाँका सबै उपभोक्ताहरुले व्यक्तिगत रुपमा नै तरकारी खेती गरेका छन् । कोही–कोहीले बाख्रापालन पनि गरिरहेका छन् । तरकारी खेतीले यहाँका उपभोक्ता सबैको जिविकोपार्जन गर्न सहज भएको छ ।’

बिक्री गर्नका लागि बारीमा काउली काटिरहनु भएका विष्णुप्रसाद सुवेदीले भने ‘यही बारीमा ५ किलो सम्मको एउटै काउली फलाइयो । तरकारी खेतीले हाम्रा लागि निकै सहयोग पुर्याएको छ । अलिअलि आर्थिक आम्दानी पनि भएको छ भने बिहान बेलुका के तरकारी खाने भनेर खोजेर हिँड्न परेको छैन ।’

घर वरीपरीका खेतबारीमा सिजनअनुसार रोपेको आलु, काउली बन्दाकोभी, गोलभेँडा प्याज नियालिरहेकी थिइन् ८० वर्षीया उजेली विक । तरकारीबाट आगामी दिनमा मैले कति आम्दानी गर्न सक्छु होला ? अघिल्लो वर्षको तुलनामा नाफा हुने हो कि नहुने हो ? भन्दै उनी बारीमा रोपेको तरकारी नियालीरहेकी थिइन् ।

फेदीखोला गाउँपालिका तल्लोकुँडुले गाउँका विक टोलमा बिहानदेखि बेलुकासम्म तरकारी बारीमा कुटो कोदालो गरेर नै उनको दिन बितिरहेको छ ।

बिक्रीका लागि तयार भएका आलु, गोलभेँडा, हरिया सागसब्जी, काउली उनले बजारसम्म ल्याएर पसलमा दिन्छिन् । कोही–कोही त उनको घरमै गएर पनि किन्ने गरेका छन् । उनका परिवारमा तरकारी खान समस्या परेको छैन । व्यावसायिक तरकारी खेती गर्दा उनले दुई–चार पैसाका लागि अरूको अगाडि हात पसार्नु परेको छैन । उनी भन्छिन् ‘८० वर्षको वृद्ध भइसकेँ । छोरा बुहारी र छोरीहरु आ–आफ्नै सुरमा छन् । छोरा बुहारी पोखरातिर बस्छन् । छोरीहरुको पनि विवाह भैसक्यो । श्रीमान् पनि वृद्ध भइसक्नुभयो । म बुढिले नै यसो गर्जो टार्ने गरी काम पनि गरिरहेको छु । अलिअलि तरकारी फलाएर बेच्ने हो भने दुईचार पैसा खोज्न अन्त गइरहनु पर्दैन ।’

तरकारी खेतीमा लोगेदेखि उनीहरुले पनि केही पैसा जम्मा गर्न थालेका छन् । सामुदायिक वन समूहका उभोक्तालाई हरियो वन कार्यक्रमले जिविकोपार्जनका लागि सहयोग गरेपछि उनले तरकारी खेती गर्न सुरु गरेकी हुन् । पहिला सामुदायिक रुपमा सुरु गरिएको तरकारी खेती अलि सबै परिवारले सुरु गरेका हुन् ।

अन्य बाली लगाउनुभन्दा सिजनअनुसार तरकारीबाट बढी आम्दानी हुने देखेपछि उनी यतातिर आकर्षित भएकी हुन् । उनको जीविका नै तरकारी खेतीबाट चलेको छ ।

विकले भनिन्, ‘तरकारी खेतीले गर्दा दुई–चार पैसा भए पनि देख्न पाएको छु । साहुमहाजनबाट महँगो व्याजमा पैसा लिनु परेको छैन । दिनभरी काममा व्यस्त भएकाले शरीर पनि स्वस्थ हुन पाएको छ । उनले फूर्तीसाथ भनिन् ८० वर्षको उमेरमा पनि म यही बारीमा काम गरिरहेको छु ।’

यहाँको मुख्य आम्दानी नै यस्तै सिजनअनुसारका तरकारी खेती हो । यो ठाउँका सवैले आफ्नो खेतबारीमा तरकारी खेती गरेर बिक्रीबाट आएको पैसाले परिवार चलाउने गरेका छन् । उनीहरुले तरकारी खेतीबाट कमाएको पैसा आफ्नो छोराछोरीको शिक्षामा लगानी, बिरामी भए औषधि उपचार, दैनिक आवश्यक खाद्यान्न, लत्ताकपडामा खर्च गर्ने गरेका छन् ।

चिप्लेटी सामुदायिक वनका अध्यक्ष दिपेन्द्र सुवेदीले भने, ‘यो गाउँमा तरकारी खेती नै जिविकोार्जनको मुख्य स्रोत बनेको छ । तरकारी खेती नगर्ने गाउँले नै कोही छैन यहाँ । सबै जनाले तरकारी खेती गरिरहेका नै छन् ।’ तरकारी खेती गर्नका लागि नै भनेर हरियो वन कार्यक्रमको सहयोगमा स्थानीय उपभोक्ताहरुले सिंचाइ ट्यांकी पनि निर्माण गरेका छन् । वर्षाको समयमा ट्यांकीमा पानी संञ्चित गर्ने र आवश्यकता उनुसार त्यसको उपयोग गर्ने पनि उनीहरुको योजना रहेको छ ।

प्रकाशित मिति : 23 फेब्रुअरी 2020, आइतवार
प्रतिक्रिया दिनुहोस