कोभिड नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिन फेकोफनको अपिल!!

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट आम नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसंग अपिल गरेको छ ।

कोभिड संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो तर्फबाट पनि विभिन्न गतिविधि गर्दै आएको महासंघले कोरोनाबाट नागरिकको संरक्षण र सुरक्षा प्रति संवेदनशील हुन र नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, वेड, एम्बुलेन्स, औषधी उपचारको आवश्यक प्रबन्ध मिलाउन तीनै तहका सरकारसंग आग्रह गरेको हो ।

महासंघकी अध्यक्ष भारती पाठकद्वारा जारी विज्ञप्तिमा संक्रमण फैलिन नदिन र रोकथाम गर्न साबधानी, सचेतना र जनस्वास्थ्यको मापदण्डहरुलाई जिम्मेवार भएर पालना गर्न पनि आम उपभोक्तालाई अपिल गरिएबो छ ।

देशभरि छरिएर रहेका सामुदायिक वन उपभोक्ता समूहहरु र महासंघका संरचनाहरुले संक्रमण फैलिन नदिनको लागि हाललाई संचालन तथा आयोजना गरिएका विभिन्न कार्यक्रम, भेला, बैठक आदी तत्काल स्थगित गर्नका साथै घर घरमा सचेतना अभिवृद्धिको लागि स्थानीय रेडियो, अनलाईन, माइकिङ्ग तथा सामाजिक संचार मार्फत गाउँ गाउँ र टोल टोलमा जनचेतना जगाउने काममा लाग्न पनि महासंघले अनुरोध गरेको छ।

साथै सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई अवलम्बन गरी प्रचार प्रसार, सचेतना र समस्यामा परेकाहरुलाई सहयोग गरी अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणको कोभिड १९ मा देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरु र महासंघको नेतृत्वले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गराउँदै महासंघले फेरी पनि संक्रमण हुनबाट बच्दै अरुलाई बचाउन सक्रिय रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सवैमा हार्दिक अपिल गरेको हो ।

महासंघले संघदेखि स्थानीय समुदायसम्म काम गर्ने महासंघ तथा नागरिक समाजसंग समन्वय गरी नागरिक समाज र समुदाय परिचालनमा बिशेष जोड दिई कार्य अगाडी बढाउनसमेत सरकारसंग अनुरोध गरेको छ ।

बिहान बेलुका श्रम गरेर खाने किसान, उपभोक्ताहरुले संरक्षण गरेको वन पैदावार उपभोगमा लगाइएको रोकावाट तत्काल खुल्ला गरी देशभरी रहेका सामुदायिक वन उपभोक्ता समूहहरुलाई कानुनमा व्यवस्था भएको स्वायत्त अधिकारको सम्मान गर्दै वन पैदावार उपभोगमा सहजता र वनमा आधारित साना उद्यम संचालन र रोजगारी सृजना गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।

कार्ययोजनाको अवधि सकिएर कामलाइ निरन्तरता दिन नसकिएको सामुदायिक वन उपभोक्ता समहलाइ यो कोभिड १९ महामारीको समयमा वन व्यवस्थापनदेखि गरीव विपन्नको जिविकोपार्जनसंग सम्वन्धित कायक्रम संचालन गरी कार्य अगाडि बढाउन र पुरानै कार्ययोजनाको आधारमा कार्य अगाडी बढाउन सरकारले ठोस निर्णय गरी वन व्यवस्थापनको काममा सहजता ल्याउन वातावरण बनाइयोस्(विज्ञप्तिमा उल्लेख छ ।

महासंघले देशभरीका सामुदायिक वन उपभोक्ता समुहहरु र महासंघका सबै संरचनाहरुको भूमिका प्रभावकारी कार्यान्वयनको लागि सरकारले गरेको आव्हानलाई पालना गर्दै, गाउँ गाउँमा सचेतना अभिवृद्धि गर्न मातहतका फेकोफन महासंघलाई निर्देशन दिएको छ। यस्तै वन पैदावार सहि तरिकाबाट व्यवस्थापन गर्न तथा गाउँ टोलमा मनोविमर्श कार्यक्रम संचालन गर्न भनेको छ ।

सामुदायिक वन उपभोक्ता समूहमा रहेका महत्वपूर्ण जडिबुटीहरु पहिचान, उपयोगीता र बजारिकरणमा जोड दिन तथा बिहान बेलुका श्रम गरेर खाने सामुदायिक वनका उपभोक्ता, गरिव विपन्न परिवारलाई घरमै बसी संचालन गर्न सक्ने तत्काल आम्दानी हुने उत्पादनमा जोड दिदै स्थानिय सरकारसंग समन्वय सहकार्य गरी आय आर्जनको कार्यक्रम संचालनमा सहयोग गर्न पनि प्रदेश, जिल्ला तथा पालिका महासंघलाई निर्देशन दिएको छ ।

संक्रमण बढ्दै गइ अप्ठ्यारो अवस्था सृजना हुने सम्भावना भएमा स्वास्थ्य सुरक्षाको सामाग्री खाद्यान्नहरु गरिब विपन्न समुदायलाई स्थानीय सरकारसंग समन्वय गरी उपलब्ध गराउन, सामुदायिक वन उपभोक्ता समुहले क्वारेन्टाइनको लागि व्यवस्था गरिएको १४०० सामुदायिक वनको भवनहरुमा सम्बन्धित निकायसंग परामर्श गरी स्थानीय फर्निचर लगायतका आवश्यक सामाग्री व्यवस्थापन गरी तयारी अवस्थामा राख्न र यसको जानकारी स्थानीय सरकार र प्रशासनलाई गराउन पनि सुझाव दिएको छ ।

स्थानीय स्तरमा आवश्यक पर्ने वन पैदावर, दाउरा लगायत अन्य कच्चा पदार्र्थ भैपरि आउने समस्या समाधानको लागि प्रशासन र सम्वन्धित निकायसंग परामर्श गरी विधान कार्ययोजना वमोजिम व्यवस्थापनमा सहयोग गर्न पनि महासंघले आहावान गरेको छ ।

यस्तै निषेधाज्ञाको समयमा लैंगिक तथा घरेलु हिंसा लगायत बाल हिंसा बढ्न सक्ने सम्भावना भएको हुँदा महासंघ, नेपाल र देशभरीको सामुदायिक वन उपभोक्ता समूहहरु हिंसा हुन नदिनको लागि घर घरबाट हिंसा बिरुद्धको अभियानमा जुट्न अनुरोध गरिएको छ।

कोभिड १९ महामारीको विषम परिस्थितिमा स्थानीयस्तरमा विभिन्न्न जटिलताहरु सृजना भएको र कुनै पनि जिल्ला वा पालिका भित्र शव व्यवस्थापनमा समस्या सृजना भएमा सामुदायिक वन उपभोक्ता समुहहरुले समस्यालाई मध्यनजर गर्दै वातावरणमा प्रतिकुल असर नपर्ने गरी स्थानीय सरकारसंग समन्वय गरी मानवीय हिसावले व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गर्दछौं – अध्यक्ष पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

महासंघले काभिड १९ को दोस्रो लहरमा त्रसित नभई सरकारले आव्हान गरेको नियम पालना गर्दै जिम्मेवार समुदायको प्रतिनिधिमुलक संगठन नागरिक संगठनको तर्फबाट देशभरीको संगठन परिचालनमा तीनै तहको सरकारसंग समन्वय र सहकार्य गर्ने प्रतिवद्दता पनि जनाएको छ ।

प्रकाशित मिति : 4 मे 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस