वन हरियाली, गाउँ झिलिमिली

पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका –२ मा अवस्थित बिजुली भञ्ज्याङ सामुदायिक वन २०५३ सालमा स्थापना भएको हो । २६५ घरधुरी रहेको यो सामुदायिक वनको उपभोक्ता समुहले वन संरक्षणसंगै विकास निर्माण र गरिबी न्यूनीकरणमा सहयोग गर्दै आएको छ । गाउँको विद्युतीकरणमा योगदान गरेको सामुदायिक वनकै लगानीले गाउँ झिलिमिली भएको छ । सामुदायिक वन हुँदै काबेली हाईड्रोपावरले पावर हाउससम्म पु¥याउने र अन्य पूर्वाधार समेत काम गर्दा स्थानीयलाई आर्थिक सहयोग गरेको थियो ।

त्यसक्रममा सामुदायिक वनले पनि केही रकम पाएको थियो । त्यसलाई गाउँपालिका र उपभोक्ता समुहले गाउँको विकासमा लगाउने निधो गरेपछि सामुदायिक वनले पनि विद्युतीकरणमा सघाएको समुहका अध्यक्ष हरिकेशर न्यौपानेले जानकारी दिनुभयो । समुहको सहयोगमा विद्युतीकरण र वडा नम्वर १ र २ का करिब ६० घरधुरीलाई मिटरबक्स खरिदमा अनुदान दिएपछि गाउँ झिलिमिली बनाउन सघाएको भन्दै सामुदायिक वनलाई उपभोक्ताले धन्यवाद दिएका छन् ।

उपभोक्ता समुहको समेत पहलमा गाउँमा बिजुली बलेको र आफूहरु द्दछज्ञ अन्धकारमा बस्नु नपरेको तथा उज्यालोको पहुँचले धेरै फाईदा भएको उपभोक्ताहरुको भनाई छ । गाउँमा बिजुली बाल्नमात्रै हैन, सामुदायिक वनले विकास निर्माण र उपभोक्ताको हितमा धेरे काम गरेको छ घर बनाउन नसक्ने एकल महिलालाई काठ निशुल्क दिनेदेखि ५० हजार रुपैंया आर्थिक अनुदान समेत दिएको छ ।

प्राकृतिक वन अर्थात पुरानो रानीवनलाई संरक्षण गरेर उपयोग समेत गर्दै आएकोले यहाँ अग्निरेखा निर्माणलाई पनि विशेष ध्यानमा राखिएको छ । वनमा हुनसक्ने आगलागी नियन्त्रण र वनसम्मको पहुँचमा सहजताका लागि अग्निरेखा निर्माण गरिएको समुहले जनाएको छ । यसैगरी समुहले शिक्षा, स्वास्थ्यसहित सामाजिक विकासमा समेत लगानी गरेको छ । स्थानीय पशुपति माविमा शिक्षकलाई पारिश्रमिक दिन सामुदायिक वनको पनि योगदान छ ।

अमरपुरमा एम्वुलेन्स खरिद गर्न समुहले आफ्नो कोषबाट ३ लाख रुपैंया सघाएको थियो । जसले गर्दा उपभोक्तालाई अत्यावश्यक अवस्थामा अस्पताल पुग्न र स्वास्थ्यको पहुँचमा धेरै सुविधा भएको छ । एम्बुलेन्स नहुँदा साविक अमरपुर गाविस वडा नम्वर १ र २ का स्थानीयले सारै सास्ती खेप्नुपरेको थियो । त्यो अवस्था अहिले अन्त्य भएको छ । उनीहरुले सुलभ दरमा एम्बुलेन्स उपयोग गर्न पाएका छन् । सामुदायिक वनले स्वास्थ्य चौकी भवन बनाउन पनि सघाएको थियो ।

स्वास्थ्यमा गरेको लगानीले गाउँमा धेरैलाई समयमै उपचार पाउन र अकालमा ज्यान जानबाट जोगाएको छ । यस्तै अमरपुरकै पुरानो ९ नम्वर वडासम्म पुग्ने कृषि सडक निर्माणमा पनि सामुदायिक वनले आर्थिक सहयोग गरेको छ । यसबाहेक तामाङ समुदायले आफन्तजनको निधनपछि दाहसंस्कार कर्म गर्दा सञ्चालन गर्दै आएको सतिघाटमा सामुदायिक वनले दाउरा संकलन केन्द्र स्थापना गरेर निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

यसले दोहोरो काम भएको छ । एकातिर अन्त्येष्ठी कर्ममा निःशुल्क दाउरा दिइएको छ भने अर्कोतिर द्दछद्द जथाभावी रुख काट्ने काम रोकिएको छ । ‘दाहसंस्कारका बेला सिंगै रुख ढाल्ने प्रचलन थियो । त्यसैले वन विनास रोक्न हामीले दाउरा संकलन गरेर हाँगाबिगाबाटै चाहिने जति दाउरा दिन निःशुल्क दिन थालेका हौं–अध्यक्ष न्यौपानेले भन्नुभयो । विद्युत, स्वास्थ्य, शिक्षा र विकास निर्माण तथा सामाजिक काममा आफ् नो आम्दानी परिचालन गरेर सामुदायिक वनले उपभोक्ताहरुको विश्वास जित्दै गएको छ ।

गाउँको विकास र उपभोक्ताहरुको हितका काममा सामुदायिक वनले कसरी सघाउन सक्छन् भन्ने एउटा राम्रो उदाहरण पनि हो यो । २०५३ सालमा दर्ता भएको बिजुली भञ्ज्याङ सामुदायिक वनले संरक्षणमा पनि उत्तिकै चासोपूर्वक काम गरेको छ । वन विकासका लागि खाली ठाउँमा वृक्षरोपण गर्ने, चरिचरन जथाभावी हुन नदिने, वन हेरचाहमा विशेष ध्यान दिने गर्दै आएको उपभोक्ता समुहले आयआर्जन मार्फत गरिबी घटाउँदै उपभोक्तालाई सर्वसुलभ वन पैदावार उपलब्ध गराउँदै आएको छ ।

समुहले आफ्नै भवन बनाएको छ । सिंहपुर पशुपति मावि र अमरपुर माविका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने, विद्यालयलाई आर्थिक सहयोग गर्ने काम भएका छन् । यसैगरी खेलकुद क्षेत्रमा आर्थिक सहयोग प्रदान गर्दै आएको समुहले त्रिवेणी मन्दिर निर्माणमा पनि सघाएको छ । यस्तै नर्सरी व्यवस्थापन, खानेपानी सेवा विस्तार, दैवीप्रकोप नियन्त्रणमा सहयोग, शौचालय निर्माणमा अनुदान जस्ता सामाजिक काममा पनि सामुदायिक वनले लगानी गरेको छ ।

यसैगरी समुहले आफ्नै लगानीमा कुटानी पिसानी मिल स्थापना गरेर उपभोक्तालाई टाढासम्म धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ । उपभोक्ता विपत् कोष स्थापना र सञ्चालन गरेर अति विपन्न र आर्थिक अभाव झेल्नुपरेका उपभोक्तालाई राहत सहयोग दिँदै आएको छ ।

प्रकाशित मिति : 27 अप्रिल 2022, बुधवार
प्रतिक्रिया दिनुहोस