महिला नेतृत्वले सुधारियो वन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ६ घर्तीकाँडामा रहेको गर्वे सामुदायिक वन महिलाहरुले नेतृत्व गरेको वन हो । अहिलेको कार्यसमिति आउनुअघि उपभोक्ता समुहको नेतृत्वमा पुरुषहरु थिए । तर वनको अवस्था सोचेजस्तो सुधार भएन, आर्थिक रुपमा पनि पुरुषहरुले समुहलाई अब्बल बनाउन सकेनन् भनेर सामुदायिक वनको नेतृत्व नै महिलाको जिम्मामा आएको हो ।

वनको अवस्था सुधार्ने जिम्मा आफूलाई आएपछि महिलाहरु पनि के कम, उनीहरुले दिनरात गरेर संरक्षण गर्ने र समुहको आयआर्जन बढाउन सकेसम्मको काम गरिरहेका छन् । त्यसैले त महिला नेतृत्वमा सामुदायिक वन र उपभोक्ताहरुको आर्थिक अवस्थामा पनि सुधार हुँदै गएको छ । महिलाहरुले वनको जिम्मा लिएपछि उपभोक्ताहरुले पनि उनीहरुलाई सघाइरहेका छन् । सिता शाहीको अध्यक्षतामा गठन भएको गर्वे सामुदायिक वन उपभोक्ता समुहले संरक्षणसँगै आयआर्जनका काममा जोडदिएर गाउँलेहरुको आर्थिक अवस्था सुधार गर्ने अभियानलाई तिव्र पारेको छ ।

समुहले उपभोक्तालाई घुम्तीकोषबाट सर्वसुलभ दरमा रकम दिएर आय बढाउन बाख्रापालन, कुखुरापालन, भैसीपालन, पसल व्यवसाय गर्ने जस्ता काममा सघाएको छ । समुहले पाँचदेखि ३० हजारसम्म उपभोक्तालाई सहुलियतदरमा ऋण दिएको छ आफ्नै काम गर्न । त्यसले उपभोक्तालाई ठूलो राहत भएको छ । पशुपालन मार्फत आम्दानी बढाएका छन् । समुहले सघाएका मध्येका एक कुमबहादुर रोकायलले समुहबाट पाएको १० हजार सहुलियत ऋणमा आफूले थपथाप पारेर बाख्रापालन गरेर आम्दानी बढाउनु भएको छ ।

उहाँसँग हाल १५ भन्दा धेरै बाख्रा छन् । व्यवसायिक रुप लिँदै गएको बाख्रापालनले उहाँको जीविका मात्रै चलेको छैन्, बचत पनि हुँदै गएको छ । द्दठड अर्का उपभोक्ता भक्तबहादुर बोहोराललाई समुहले भैसीपालनका लागि ३० हजार लगानी गरेको छ । एउटा समुहका लागि यो ठूलो रकम हो । त्यो रकमबाट आफूले थपेर भैसी पालेका बोहोराले दुध बेचेर राम्रो आम्दानी लिन थाल्नुभएको छ । समुहको उत्प्रेरणा र स्वरोजगार बन्नुपर्छ भन्ने सोचले गाउँमा आर्थिक परिवर्तन देखिन थालेको छ ।

अध्यक्ष शाही भन्नुहुन्छ–हामीले पसल व्यवसाय गर्न र पशुपालन गर्न समुहका सदस्यहरुलाई सस्तोमा ऋण दिएका छन् । त्यसबाट उनीहरुले आम्दानी पनि गरेका छन् । यसले गाउँमै बसेर केही गर्नुपर्छ भन्ने सोच बढ्दै गएको छ । तर अघिल्लो कार्यसमितिका बेलाका कतिपय कमजोरीलाई सुर्धान समय लाग्छ । त्यसमा हामीले निरन्तर प्रयास गरिराखेका छौ । किनभने महिलाहरुलाई जिम्मा दिएर पनि वन बिगारे भन्ने दोष आउन नदिन हामीहरु सबै समुहका सदस्यहरु एकजुट भएर काम गरिरहेका छौं ।’

तीन सयभन्दा धेरै घरधुरी रहेको गर्वे सामुदायिक वन संरक्षणमा महिलाहरुको सक्रियता लोभलाग्दो छ । उनीहरुले स्वीकृति बेगर कसैलाई वनमा पस्न दिँदैनन् । महिलाहरुले नेतृत्व लिएपछि मनपरि वन पस्न खोज्नेहरु डराउँदै गएका छन् । अचेल त उपभोक्ता समुहले खुलाउँदा बाहेक वनमा घाँसपात र गाईवस्तु लिएर कोही जाँदैनन् । त्यसैले चोरी गरेर वा जथाभावी घाँसदाउरा वा रुख काट्ने कुरै भएन् । समुहकी सदस्य निर्मला बुढाले भन्नुभयो–पहिला त हामीलाई पनि धेरै थाहा थिएन् ।

उपभोक्ता भएर जोगाउने र आफूलाई चाहिँदा जब समुहले खुला गर्छ, त्यसबेला घाँसदाउरा गर्ने मात्रै गथ्र्यौ । तर पुरुषहरुले ल अब वनको जिम्मा तिमीहरुले लिनुपर्छ भनेर महिलाहरुलाई भन्नुभयो, त्यसपछि आँट गरेर लिएका हौं । जिम्मा नै लिएपछि हामीले पनि कडाई गरेर जोगाउन थालेका छौं । यो वनलाई राम्रो र नमुना बनाउँदै छौं ।

अहिले महिला नेतृत्वको मुख्य जिम्मेवारी वनको संरक्षण नै हो । कहीँकतैबाट अपजस नआओस् भनेर उनीहरुले वनमा गस्तीलाई बढाएका छन् । किनभने कतै पछि दोष देखाउन पाइएला भनेर पुरुषहरुले हामीलाई अघि सारेका त हैनन, भन्ने आशंका पनि उनीहरुको मनबाट अझै मेटिएको छैन् । त्यसैले पनि जतिसक्यो राम्रो बनाउँदै प्रशंसा थाप्ने रहर महिला नेतृत्वमा छ ।

प्रकाशित मिति : 23 मे 2022, सोमवार
प्रतिक्रिया दिनुहोस