काठमाडौँ, असोज ९ । प्रदेश नं ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले सामुदायिक वन उपभोक्ता महासंघको हरेक कामको जानकार रहेको बताउनुभएको छ ।
सामाजिक सेवा दिवसका उपलक्ष्यमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं पाँचले सामाजिक विकासमा सामुदायिक वनको भूमिका भन्ने विषयमा जुममार्फत आयोजना गरेको कार्यक्रममा उहाँले समुदायको विकासबाट नै देश विकास सम्भव भएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “मन्त्रालयले सामुदायिक क्षेत्रको विकासमा सामाजिक संस्थालाई परिचालन गर्दै आएको छ ।” सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्र केशीले मन्त्रालयले २० वर्षे योजनामा वनलाई विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले महासंघ मन्त्रालयसँग सहकार्य गरेर जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
तुलसीपुर नगरपालिकाका घनश्याम पाण्डेले महासंघको कामलाई थप क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । त्यस्तै पत्रकार डी.आर घिमिरेले वन र कृषि फरक हुन नसक्ने भन्दै कृषि मन्त्रालय र वन मन्त्रालयले नै यी दुई क्षेत्रबीच विवाद सिर्जना गरेको तर्क राख्नुभयो ।
महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले महासंघले वनजंगलको संरक्षण लगायत उद्यम र पर्यापर्यटनलाई पनि सँगै लिएर अघि बढ्ने योजना बनाएको बताउनुभयो । महासंघका महासचिव बिर्ख शाहीले सीपलाई प्रविधिमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको प्रष्ट्याउनुभयो ।
महासंघका अध्यक्ष भारती पाठकले दिगो विकासका १५ वटा लक्ष्यलाई महासंघले पुरा गर्दै आएको जानकारी दिँदै देशका हरेक संगठनमा महासंघको भूमिका रहेको बताउनुभयो ।
महासंघका ५ नं प्रदेशका अध्यक्ष बसन्ती अधिकारीले महासंघले देशको विकासमा पुर्याएको योगदानको सरकारी तथ्यांक नभएको बताउनुभयो ।


