तिलकुमारी तामाङ, पूर्व अध्यक्ष, सिर्जना महिला सामुदायिक वन, मकवानपुर
‘आफूलाई ठूलाबडा ठान्नेहरुले वनको छेउमा बस्ने तामाङहरुले रुख काट्छन् । यिनीहरुलाई हटाउनुपर्छ भन्थे । तत्कालिन प्रधानपञ्चले त २०४४ सालमा हाम्रो बस्ती नै उठाउन खोजेका थिए । प्राय तामाङहरुको बस्ती, त्यसमाथि गरीब र पढ्न, लेख्न नजान्ने भएकोले हामीलाई धेरै नै हेप्थे । तर हामीहरुलाई भने वन जोगाउनुपर्छ, भोलिका पुस्तालाई पनि चाहिन्छ भन्ने लाग्थ्यो । अनि बहुदल आयो, हामीहरु समुदायले वन जोगाउने, विरुवा रोप्ने, रेखदेख गर्ने गर्न थाल्यौं । त्यो बेला म भर्खरकी थिएँ, अहिले त ६७ बर्ष भैसकें । वन जोगाउन थालेपछि सामुदायिक वनबारे तालिम पाईयो । यसरी अरुले हेप्दा समेत नडराएर वन संरक्षण गर्दा गर्दै सामुदायिक वन भयो, म पनि यसैको अभियन्ता बन्न पुगे ।
महिलाहरुलाई वन धेरै चाहिने, घाँस दाउरा गर्न पनि ज्ञद्ध उनीहरु नै बढी जाने भएकोले संरक्षणमा महिलाहरुलाई नै जिम्मेवार भएमा जंगल जोगाउन सजिलो हुन्छ भनेर हामीले सिर्जना महिला सामुदायिक वन बनाएका हौं । वन चाहिन्छ, त्यसैले संरक्षण गर्नुपर्छ भन्ने सोचले मलाई सामुदायिक वनको अगुवा बनायो । त्यसपछि २८ बर्षसम्म उपभोक्ता समुहको नेतृत्वमा बसेँ । घाँस दाउरा चाहिन्छ, अक्सिजनका लागि पनि वन नभै हुन्न, सबै जंगलमा जडिबुटी हुन्छन्, मान्छे जन्मेदेखि मर्दासम्म वनकै सामान उपयोग गर्नुपर्छ भन्ने बाहेक अरु थाहा थिएन् पहिला । तर जब समुह बनाएर काम गर्न थालियो, त्यसपछि वन धेरैथोक रहेछ भन्ने थाहा भयो । म सिर्जना महिला सामुदायिक वनको संस्थापक अध्यक्ष भएर काम गर्न पाएँ । त्यो बेला वन जोगाउनुपर्छ भन्दा मान्छेहरुले मलाई विरोध गर्थे । तर म डराईन । किनभने स्कूल पढ्न नपाएपनि मलाई संघर्ष गरेपछि त्यसको फल एकदिन आउँछ भन्ने लाग्थ्यो । त्यसैले अपजस आउला भन्ने डरले र अरुले चोरी तस्करी गर्लान कि भनेर पनि रातदिन नभनेर वन हेर्ने गर्दै आएको हो ।
मैले कडिकडाउ गरेपछि रिसाएका मान्छेहरुले मेरो विरोध गरे । गलत र नचाहिने आरोप लगाएर मलाई ज्यानमारा समेत भने । वन संरक्षणको काम गर्दा म तीन पटकसम्म जेल जानुपर्ने अवस्था आयो । रिस उठेका मानिसहरुले पोल लगाइदिँदा ज्यानमारा अभियोगमा थुनामा परेपछि मलाई डिएफओले समेत साक्षी बसेर छुटाउनुभएको छ । किनभने मैले गलत काम गर्दिन, वनमा चोरी कटानी गर्न दिन्न भन्दै आएकी थिएँ । शुरुमा त वनमा जथाभावी गर्न रोकेपछि दिदीबहिनीहरु पनि रिसाए । गाईवस्तु चराउन पाइएन, घाँस दाउरा ल्याउन पाइएन भनेर विरोध गरे । तर मैले सम्झाउँदै गएँ । समुहका अरुले समेत सम्झायौं । अनि दाउराको साटो सबै उपभोक्तालाई समुहबाट बायोग्यास बनाउन सहयोग गरियो । गाउँका धेरैलाई सजिलो होला कि भनेर १४ सय गोवरग्यास बनाउन काम े भयो । अनि महिलाहरुलाई बिक्रेट बनाउन सिकायौँ र उनीहरुलाई दुईचार पैसा कमाउन सक्ने बनायौं ।
यो काम राम्रो भयो । अहिले त सबैका घरमा ज्ञछ सिलिण्डर नै भैसकेको छन् । वनको रेखदेख र गाउँलेको हितका पक्षमा काम गर्न मलाई फेकोफनले धेरै सिकायो । तालिममा भाग लिएर पनि कैयौं कुरा जान्ने मौका मिल्यो । त्यो कुरा मैले अरुलाई पनि सिकाएँ । लेखपढ गर्न नजान्ने मैले गोठालो जाँदा सिकेको बाह्रखरीमा प्रौढ शिक्षाबाट अलिकति लेख्न सक्ने भएँ । मलाई अघिबढ्न सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले सघायो । कतिसम्म भने मैले घरमा खाने अन्न नहुँदा पनि सामुदायिक वन संरक्षणका काम गर्दै हिड्थेँ । बच्चालाई खानेकुरा नहुँदा समेत आफू वनका काममा जाने भएकोले छिमेकीहरुले सघाउँथे ।
त्यसैले त बुट्यान जस्तो वन अहिले हराभरा भएको छ । राजमार्गसँग जोडिएपनि चोरी निकासी धेरै मात्रामा रोकिएको छ । सबैको सहयोगले वन धेरै राम्रो भएको छ । उपभोक्ताहरुलाई समेत फाइदा पुगेको छ । अचेल मलाई धेरैले सामुदायिक वनकी अगुवा भनेर चिन्नुहुन्छ । सामुदायिक वनले पुरस्कार पायो । मैले पनि धेरै पटक सम्मान पाएकी छु । वन कार्यालयले पुरस्कार दिएको छ । यो सबै मैले राम्रो गरेर पाएकी त हुँ । त्यसैले नरिसाईकन निरन्तर संघर्ष गरेपछि फल मिल्छ भनेको हो । सामुदायिक वनमा काम गर्दा गर्दै म सामाजिक काम गर्ने अगुवा भएँ । अनि समाजसेवा गर्दै राजनीति गर्न पनि सक्ने भएँ ।
हिजोआज समेत मैले वन संरक्षणको काम गर्दै आएकी छु । सामुदायिक वनको नजिकै एउटा मन्दिर छ । त्यहाँ वरिपरि खाली क्षेत्रमा वृक्षरोपण गरेर धार्मिक वन बनाउने अभियानमा छु । वन र समुदायको पक्षमा काम गर्न मलाई फेकोफनले प्रेरणा दिएकोले आज तामाङ्गकी छोरी भएर यो बुढ् यौली उमेरमा पनि सक्दो काम गर्दैछु । यसरी नै सबै दिदीबहिनीहरुले वन जोगाउँदै त्यसबाट चाहिने सामान उपयोग गर्ने हो भने हाम्रो गर्जो पनि टर्छ, भोलिका पुस्तालाई पनि वनजंगल रहन्छ र वातावरण संरक्षण पनि हुन्छ ।