बर्दियामा अहिले बाघ र हात्तीले मानिस माथि आक्रमण गरिरहेका छन । हामीले यसलाई आक्रमण होइन, आतंक भनेका छौ । यस्तो आतंक बर्दियामा मात्र नभएर अहिले देशभर देखिएको छ । यो आतंक घट्ने संकेत छैन । सबैले नेपाल जलवायु परिवर्तनको जोखिममा परेको भनिरहेका छन तर म त्यो भन्दा पनि बढी जोखिम वन्यजन्तुबाट भएको देख्छु । वन्यजन्तुको जोखिम देशभर छ । सर्वसाधारण नागरिकले ज्यान गुमाएका छन ।
वन्यजन्तु आतंक संरक्षित वन क्षेत्रका कारण बढिरहेको छ । यसअघि पनि राष्ट्रिय निकुञ्ज र वन्यजन्तुको स्थापना भइसकेको छ । सरकारले बढिरहेका वन्यजन्तुको व्यवस्थापन गर्न सकेन । बर्दियाको कुरा गर्ने हो भने खाता करिडोर बनाइएको छ । यो खाता जैविक मार्ग अवैज्ञानिक छ । एकदमै सानो करिडोर भएर भारतबाट हुलका हुल हात्ती, बाघ र अन्य जनावर आउने गरेका छन । वन्यजन्तुको आवातजावत भएकाले यो क्षेत्रमा वन्यजन्तु आक्रमणको जोखिम बढिरहेको छ ।
दोश्रो, हाम्रो देशको जंगलको क्षमताले धान्न सक्ने भन्दा बढी जंगली जनावर भए । वन्यजन्तु बढी भएपछि निकुञ्ज भन्दा बाहिर गएर आतंक फैलाइरहेको अबस्था छ । जंगल वरपर बस्ने, करिडोर आसपास भएर हिड्ने यात्रु, जंगलको छेउमा खेती किसान गर्नेहरु माथि जंगली जनावरको आक्रमण निकै छ । तर पनि वन्यजन्तुपीडित नागरिकको पीडा सरकारले सुनिरहेको छैन । न त सम्बन्धित निकायले सुनिरहेको छ । सबैले बाघको संख्या तेब्बर बनाउने कुरा गरिरहेका छन । त्यहाँ बस्ने मानिसको चिन्ता कसैलाई छैन ।
पछिल्लो तीन आर्थिक वर्ष मा २३ जना मान्छेको ज्यान गइसकेको छ । यो संख्या अझ धेरै हुनसक्छ । आक्रमणमा कति मान्छे घाइते भए त्यसको हिसाब छैन । बर्दियामा हरेक महिना वन्यजन्तुको आक्रमणमा परेर एक जनाको ज्यान गइरहेको छ । घाइतेको संख्या अझ धेरै छ । वन्यजन्तु गाउँ पसेर स्थानीय बासिन्दाको घर, गोठ भत्काइदिने, बालीनाली नष्ट गरिदिने, गाइबस्तु मार्ने जस्ता घटना त सामान्य भइसकेका छन । हामी वन्यजन्तुका कारण एकदमै त्रासपूर्ण अबस्थामा छौ ।
सरकारले जंगलमा नजानु भनेर भनिरहेको छ । तर स्थानीय बासिन्दालाई जंगलमा नगएर निर्वाह चल्दैन । त्यहाँ प्रहरी प्रशासनले होइन वन्यजन्तुको कफ्र्यु छ । यसले गर्दा वन जंगलमा जाने त नसोचौ, किसानले लगाएको बालीनाली स्याहार्न र खेती किसानी गरेर खान पनि डराइरहेका छन । अब ती मानिस कहाँ जाने ?
अहिले प्रहरीले केही भन्न पर्दैन । बाघ र हात्तीको कारण मानिस त्रासमा छन । राष्ट्रिय निकुञ्ज, आरक्ष र जैविक मार्ग वरिपरि भन्दा पनि बर्दिया जिल्लाभर वन्यजन्तु आतंक फैलिएकोे छ । अस्तिमात्र बर्दियाको बरैयामा १२ वर्षको विद्यार्थीको ज्यान गयो । कक्षामा सधै प्रथम हुने जेहेन्दार विद्यार्थी वन्यजन्तु आक्रमणमा ज्यान गुमाउनु प¥यो । यस्तो दुखद घटना होला भनेर कसैले पनि सोचेको थिएन ।
केही समय पहिले मेरो गाउँ नजिकै आठ जना मानिस चितुवाको आक्रमणमा घाइते भए । वन कार्यालयको कर्मचारीले चितुवा नियन्त्रणमा लिन सकेनन । भाग्यो । यसले गर्दा चितुवा फेरि कति बेला आउने त्रासमा बसे । त्रास अहिले पनि छ ।
मेरो भनाई के छ भने एउटा बाघ पाल्नका लागि भनेर सरकारले अर्बौ रुपैयाँ खर्च गर्छ । अरु गैरसरकारी संघ संस्थाले पनि पैसा खन्याइरहेका छन । तर उनीहरुले मानिसलाई पनि संरक्षण गर्नुपर्ने कुरा कसैले सोचेका छैनन । धेरै कुरा उठ्यो भने तारबार गरिदिने भन्छन तर काम केही हुदैन । जति आन्दोलन गरेपनि त्यसको सुनुवाई हुदैन ।
त्यही खाता करिडोरमा स्थानीय बासिन्दाले आन्दोलन गरिरहेको बेला प्रहरीले गोली लागेर क्याम्पसबाट फर्किदै गरेकी विद्यार्थी नवीना चौधरीको मृत्यु भयो । त्यस अघि उनकै आफन्तले खेतमा काम गर्न गएको बेला बाघको आक्रमणमा ज्यान गुमाउनु परेको थियो ।
अब कसरी बाघको व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा बाघको त आफ्नो क्षेत्र हुन्छ । त्यस अनुसार वन जंगलले धान्न सक्ने मात्रै राख्नुपर्छ । सरकारले कति बाघ भएको छ भनेर एकिन तथ्यांक पनि देखाउदैन । संख्या धेरै भयो भने पनि हामीलाई केही भन्दैनन । यहाँको जंगलले धान्न सकेन भने अरु ठाउँमा लिएर पनि व्यवस्थापन गर्न सकिन्छ ।
दोश्रो कुरा अब बाघ, हात्ती जस्ता वन्यजन्तुको पनि व्यवसायिक पालन सुरु गर्नुपर्छ । बँदेल जस्ता केही जनावर व्यवसायिक हिसाबले पाल्ने भनेको छ तर व्यवहारमा अझै लागु भइसकेको छैन । तेश्रो महत्वपूर्ण कुरा प्रविधी हो । मान्छेलाई केही असर भयो भने ती जनावरलाई त पक्रेर राख्नुप¥यो । कर्मचारीले नरभक्षी बाघ समात्न सक्दैनन । समाते पनि संरक्षणमा दख्खल भयो भनेर त्यसै छाडिन्छ । यस्तो अवस्थामा मानिस कहाँ जाने त ?
वन पैदावरको सदुपयोग गरेर बस्नुपर्ने वातावरण त सरकारले बनाइदिनु पर्छ । खाली बाघ पालेर मात्र त समस्या सामाधान हुदैन । सरकारले बाघ मात्र बढाइरहने, मानिसले अनाहकमा ज्यान गुमाइरहने अबस्था आएको छ । यस्तो अबस्थामा अब कहाँ जाने ? बाटोमा नहिड्ने ? खेतबारीमा नजाने ? वनमा आश्रित आदिवासी जनजाति समुदायले वन पैदावर संकलन गर्न पाएका छैनन । हाम्रो अरु केही श्रोत छैन । वनमा नगए कहाँ जान्छ त ?
स्थानीलाई प्राकतिक श्रोतको मोह छ । त्यो जीविकाको श्रोत पनि हो । वन्यजन्तु संग मानिस पनि रमाउने र बाँच्ने वातावरण हुनुपर्छ । खोइ त त्यस्तो व्यवस्था ? परापूर्वक काल देखि नै बाघ, भालु, हात्ती त थिए । तर हामीले यस्तो सुनेको थिएन ।
अहिले यो अवस्था किन आयो ? अहिले बाटोमा हिडिरहेको मान्छलाई बाघले टिपेर लिएको छ ।
गत वर्ष आमा छोरा राष्ट्रिय निकुञ्ज भएर राजमार्गमा आमा छोरा हिडिरहेको बेला बाघले आमालाई टिपेर लिइदियो । भन्नलाई सरकारले बाघ हाम्रो अस्तित्व, हात्ती, हाम्रो साथी भन्छ । व्यवहारमा त साथी भएको छैन ।
बाघ व्यवस्थापन त सरकारले गर्ने हो । हामी उपभोक्ताले त वन जोगाएर हराभरा बनाएका छौ । राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि काम गरिरहेको भन्छ । तर वास्तविक काम केही भएको छैन । बाघले मानिस मारिरहेको छ । स्थानीय बासिन्दा भएका नाताले हामीले जनतालाई कसरी जोखिमबाट बचाउने भनेर सम्बन्धित निकायमा भनेका छौ । अति भयो भने आन्दोलन गर्ने काम गरिरहेका छौ । स्थानीय सरकारसं समन्वय गरिरहेका छौ । तर सुधार केही भएको छैन ।
जंगल छेउमा खेती गर्न छाडिएको छ । कति ठाउँमा मानिस घरबाट डरले निस्कन पनि सकेका छैनन । जोखिम मोलेर जानेहरु पनि डराइ डराइ गइरहेका छन । सरकारको गलत नीति र व्यवहारका कारण यो सबै आतंक फैलिएकोे छ । जहाँ मानिस बाघको कारण मरिरहेका छन, त्यही देशमा किन बाघको संख्या तेब्बर बनाउनु पर्ने हो ? मान्छेको भन्दा बढी प्राथामिकता जंगली जनावर र बाघलाई दिएर हुदैन । मान्छे ठूलो कि बाघ ? बाघ पाल्ने ठेक्का नेपालको मात्र हो र ? नेपालले वन, वातावरण त जोगाइ राखेकै छ । बाघको संख्या धेरै भएपछि त जंगल बाहिर आक्रमण गर्छ । बाघको संखया बढाउने यो नीति नै अब गलत भयो । न मान्छेको व्यवस्थापन न बाघको । अझैपनि देशमा थप संरक्षण क्षेत्र घोषणा भइरहेको छ ।
बाघ जंगल बाहिर गएर आक्रमण गर्न थालेका छन । अबस्था निकै जर्जर बनिरसकेको छ । जंगलले धान्न सक्ने जनि मात्रै वन्यजन्तु राख्नुपर्छ । अहिले धान्न सक्ने भन्दा धेरै वन्यजन्तुको संख्या भइसकेको छ । त्यही कारण जंगल बाहिर र गाउँमा प्रवेश गर्न थालेको छ ।
सामुदायिक वनले वनको व्यवस्थापन गरेर हराभरा बनायो । वन क्षेत्र बढिरहेको छ । यो विश्वभर नेपालले गरेको गौरवयोग्य प्रगति हो । अब सामुदायिक वनको माध्यायमबाट त्यहाँका गरिब, आदिवासी जनजाति, दलित र महिलाको समृद्धि गर्ने हो । वनको व्यवस्थापन पछि अब कसरी समुदायको आर्थिक हैसियत वृद्धि गर्न काम गरिरहेका छौ । तर वन्यजन्तु व्यवस्थापन चुनौति भयो ।
सरकारले निकै जोडबल गरेपछि बँदेललाई हानिकारक वन्यजन्तु घोषणा गरेको छ । स्थानीयले बँदेललाई मार्न पाउँछन । तर प्रक्रिया निकै झन्झटिलो छ । विगतमा त्यहाँको आदिवासीले बँदेल शिकार गरेर पनि आय आर्जन गरिरहेका थिए । अबछ उनीहरुलाई नै बँदेलको संख्या घटाउने जिम्मा दिनुपर्छ । त्यस्तो व्यवसाय गर्न दियो भने गरिबहरुले पनि जीविका चलाउन पाउँछ । हामीले वन पैदावरको सदुपयोग गरे जस्तै वन्यजन्तुको पनि इन्भेन्ट्रि गरेर व्यवस्थापन गर्नुपर्छ । अहिले बँदेल मात्रै खुला गरेको छ ।
सबै जनावरको व्यवसाय सुरु हुनुपर्छ । हाम्रोमा विश्व वन्यजन्तुको सूचीमा रहेको बाघ धेरै भयो भने अरु देशबाट हाम्रो सरकारले पैसा लिएर व्यवस्थापन गर्नुपर्छ । यसको बिक्री हुनुपर्छ । नगरेर के गर्ने त ? बाघले मानिस मारेको हेरेर बसिरहने?