सामुदायिक वनको प्रभावकारिताका लागि तीन तहका सरकारको सहभागिता खोज्दै महासंघ

दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदायलाई वन हस्तान्तरण गर्न शुरुआत गरिएको दिनको स्मरणमा सामुदायिक वन उपभोक्ता महासंघले आइतबार देखि साताव्यापी कार्यक्रम गरेर सामुदायिक वन दिवस मनाइरहेको छ ।

“सामुदायिक वनको प्रभावकारीताः तिनै तहका सरकार र समूहको सहभागीता” भन्ने नाराका साथ श्रावण २० देखि २६ गतेसम्म सप्ताहव्यापी रुपमा सामुदायिक वन दिवस मनाइरहेकोे महासंघकी महासचिव पार्वता गौतमले बताइन । साताव्यापी सामुदायिक वन दिवस मनाउने कार्यक्रमको सुरुवात स्वरुप आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघले साताभर हुने कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।

साताव्यापी कार्यक्रमको क्रममा सामुदायिक वनको क्षेत्रमा काम गरिरहँदा सांसद निर्वाचित भएका संघ र प्रदेशका सांसदहरुसंग अन्तरक्रिया, हिमाली वनको संरक्षणको लागि स्थानीयहरुसंग छलफल र सामुदायिक वनले आर्थिक क्षेत्रमा पारेका प्रभावबारे विज्ञहरुको कार्यपत्र र वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ ।

प्त्रकार सम्मेलनमा विश्वभर नेपालको पहिचान बनेको सामुदायिक वनले भोगिरहेका समस्या बारे जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष ठाकुर भण्डारीले विगतका केही दशकमा नेपालका सामुदायिक वनले वातावरण संरक्षण र सामाजिक न्यायका विषयमा उल्लेख्य सफलता हासिल गरेको भएपनि सरकारी असहयोगका कारण आशातित विकास गर्न नसकिएको बताए ।

“सामुदायिक वन कार्यक्रम सुरु नभएको भए अहिले नेपाल मरुभूमी भइसक्थ्यो । सामाजिक लोकतन्त्रको अबस्था निकै कमजोर हुन्थ्यो । नेपालको सांसद र कर्मचारीतन्त्रमा ३३ प्रतिशत महिला सहभागितको सुरुवात वन महासंघको सांगठानिक संरचनाबाट सुरु भएको हो,” भण्डारीले भने, “तर अहिले सामुदायिक वनमा आधारित वन उद्योग स्थापनामा अवरोध भइरहेको छ । तेहरो करले वन संरक्षणमा लागेकालाई हतोत्साहित बनाइरहेकोे छ ।”


भण्डारीले सामुदायिक वनले गर्दा वन क्षेत्रको विस्तार भएर काठ र जडिबुटी उत्पादनको संभावना भएको, महिला सशक्तिकरण, सामाजिक न्याय र गरिवी निवारणमा उल्लेख्य प्रगति भएको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीले सामुदायिक वनले हरियाली प्रवद्र्धन गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघलाई पुरस्कृत गरिएको जानकारी गराए । त्यसैगरी मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा उल्लेख्य योगदान पुरयाएकोमा युरोपियन युनियन सामुदायिक वन उपभोक्ता महासंघ सम्मिलित समूहलाई मानवअधिकार पुरस्कार दिने घोषणा गरेको छ ।

“हाम्रा लागि यो एक गौरवको क्षण हो,” शाहीले भने ।

महासंघले सामुदायिक वन दिवसमा सामुदायिक वनका माध्यमबाट भए गरिएका उल्लेखनीय योगदानको परिचर्चा गर्ने, राम्रा कामहरुको स्मरण, मूल्यांकन तथा सम्मान गर्ने र सामुदायिक वनका चुनौतिहरुको समीक्षा गर्ने जस्ता कार्यहरु गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सफलता
महासंघले देशभर करिव २२७६० सामुदायिक वन उपभोक्ता समूहले ३१ लाखभन्दा बढी घरधुरीहरुकोसंलग्नतामा लगभग २३ लाख हेक्टर वन क्षेत्र सामुदायिक वनको रुपमा व्यवस्थापन गर्दै आएको छ ।

सामुदायिक वन कार्यक्रम सुरु भए यता वन विनास र क्षयीकरण नियन्त्रण भई देशको कूल भूभागको ४५ प्रतिशत भन्दा बढी क्षेत्रफलमा वन क्षेत्र भएको छ भने महिला नेतृत्व ५० प्रतिशत वृद्धि भई महिला शशक्त हुदै आएका छन ।

सामुदायिक वनले काठ लगायत जडीुबटी र गैरकाष्ठ वन पैदावारको आपूर्तिमा वृद्धि र निरन्तर योगदान दिइरहेका छन ।

वन तथा वातावरणको संरक्षणका साथै वनको दिगो व्यवस्थापन र जैविक विविधताको संरक्षण भएको छ । सामुदायिक वनका कारण जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै प्रकोप जेखिम न्यूनीकरणमा योगदान भएको छ ।
वन पैदावारमा आधारित लघु उद्यम, सामुदायिक पर्यापर्यटन र कृषि वनका माध्यमबाट खाद्य सुरक्षामा वृद्धि, रोजगारी सृजना, आय आर्जन र जीविकोपार्जनमा योगदान एवं परम्परागत ज्ञानको प्रवद्र्धन भइरहेको छ ।

सामुदायिक वनको कोष परिचालनका माध्यमबाट २५ प्रतिशत वन संरक्षणमा वाकी रकम ५० प्रतिशत महिला, पछाडी पारीएको वर्ग विपन्न आदिको क्ष्मताविकास र बाँकी रकम सामाजिक विकास जस्तैखानेपानी, शिक्षा नवीकरणीय उर्जा, स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका आधारभूत सेवाका क्षेत्रमा योगदान गर्दै सामुदायिक विकास र स्थानीय सामुदायिक अर्थतन्त्रको विकास भएको छ ।


वनले गरिवीको रेखामुनीका समुदायका लागि पशुपालन, चरीचरन व्यवस्थापन, घाँस खेति, फलफूल खेति र नगदेवाली लगायतका कार्यहरु गर्न वन क्षेत्र उपलब्ध गराई गरिवी र भोकमरी अन्त्य सम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्नमा
योगदान हुँदै दिइरहेको छ । आगलागी तथा बाढी पहिरो नियन्त्रण लगायतका विभिन्न प्रकोप तथा महामारीसँग जुझ्नका लागि समूहको कोष र वन
स्रोत परिचालन भएको छ ।

समुदायस्तरमा सामुहिक भावना सहितको नेतृत्व र संस्थागत क्षमता विकास भएको छ भने मानव अधिकार स्थापनाका लागी सवै वर्ग, क्षेत्र र समूदायमा शशक्तिकरण भएको छ ।

चुनौति र अवरोध
यसरी सामुदायिक वनका माध्यमबाट वन तथा वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको अवस्थामा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न चुनौतिहरुको सामाना गरीरहेका छन् । वन नियमावली २०७९ मा सामुदायिक वनको ५० प्रतिशत काठ सरकारी आपूर्ति समितिलाई दिनु पर्ने व्यवस्था गरिएको छ । उक्त वन नियमावलीमा समुदायको स्वायत्तता खोसिने अन्य व्यवस्थाहरु भएका कारण वन संरक्षणमा लागेकाहरु हतोत्साहित भएका छन । वन पैदावार संकलन गर्न पटके अनुमति लगायतका झञ्झटिला व्यवस्था गरिनु र वन पैदावार परिचालनमा सामुदायिक स्वायत्ततामा अवरोध भइरहेको छ ।

सेवा दिनेक्षेत्रमा महिला नेतृत्व र सहभागिता विकास हुन सकेको छैन भने
सामुदायिक वन उपभोक्ता समूहमा तीन तहका सरकारलाई तेहेरो कर तिर्नुपर्ने व्यवस्था गरिएकोले वन क्षेत्र प्रभावित भएको छ । दिगो वन व्यवस्थापन मापदण्ड लागु नहुँदा वन व्यवस्थापनका कार्यहरुमा अन्यौलता भईरहनु र सरकारी निकायबाट समयमा प्राविधिक सहयोगको कमीका कारण ५० प्रतिशत भन्दा बढी सामुदायिक वनका कार्ययोजना परिमार्जनमा निरन्तर कठिनाई भईरहेको छ ।

वन क्षेत्रको ठूलो हिस्सा निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र, चुरे वातावरण संरक्षण क्षेत्र, वन संरक्षण क्षेत्र लगायतका विभिन्न नाममा संरक्षितमा परिणत गरी मानव अधिकार हननका घटना भइरहेका छन । निश्चित वर्गले पर्यटन व्यवसाय र केवलकारका नाममा सामुदायिक वनहरु कब्जा गर्ने,
खानी तथा खनिज पदार्थ, नदीजन्य पदार्थ र निर्माणजन्य सामग्री संकलन र निर्माणजन्य सामग्री प्रशोधन गर्ने क्रसर र सिमेन्ट उद्योग लगायतका उद्योगले गैरकानूनी रुपमा सामुदायिक वन क्षेत्रहरु कब्जा भइरहेको छ । पर्यापर्यटनमा आधारित सामुदायिक वनहरुमा स्थानीय सरकारले गैरकानूनी रुपमा हस्तक्षेप गरिरहेको छ । सामुदायिक वनमा आधारित लघु उद्यम र पर्यापर्यटाको स्थापना र विकासमा कानूनी अवरोध सृजना भएको महासंघको भनाई छ ।

मुनापmारहित र सामुदायिक संस्थाको रुपमा रहेका सामुदायिक वन उपभोक्ता समूहमा नापmमूलक र व्यवसायिक क्षेत्रका कर कानूनहरु लादिएको छ । वन क्षेत्रमा स्थानीय समूदायको मानव अधिकार हनन भइरहेका छन ।

“सामुदायिक वनका उपलब्धिहरुबाट असल कुराहरु सिक्दै र चुनौतिहरुको समाना गर्दै आगामी दिनको मार्गचित्र तय गर्न सकेमा सामुदायिक वन अभियानका माध्यमबाट थप उपलब्धीहरु हासिल गर्न र स्थानीय
समुदायका साथै समग्र देशलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिनेछ भन्ने हाम्रो विश्वसा हो,” अध्यक्ष भण्डारीले भने, “यस अभियानमा समन्वय, सहकार्य र सहयात्राको आवश्यकता छ ।”

प्रकाशित मिति : 4 अगस्ट 2024, आइतवार
प्रतिक्रिया दिनुहोस