सामुदायिक वन उपभोक्ता समूह र प्रथाजनित अभ्यास

जल, जंगल र जमिन संरक्षणका लागि सदियांैदेखि प्रथाजनित अभ्यास प्रचलनमा रहेका छन् । धार्मिक आस्था र व्यवहारका आधारमा प्रकृतिको संरक्षणमा सबै जातजाति, धर्म र संस्कृतिमा कुनै न कुनै रुपमा जोडिएको पाइन्छ । उद्देश्य र आस्था फरक फरक भए पनि प्रकृतिको संरक्षणमा भएका र व्यवहारिक पक्षलाई सम्मान गर्न आवश्यक छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले पनि ती प्रथाजनित वन संरक्षणको अभ्यास निरन्तरताका लागि सहयोग गरिरहेको छ ।

सामुदायिक वनभित्र समुदायले परम्परागतरुपमा प्रथाजजनित अभ्यास र पुजाआजा गर्ने क्षेत्रमा गरिने परम्परालाई सम्मान गर्दै सामुदायिक वनका कार्ययोजनामा समावेस गरी वन संरक्षण गर्दै आएको छ । वन संरक्षणमा सहयोग पु¥याउने यस्ता प्रथाजनित अभ्यासहरु हराउँदै गएका छन् । त्यसको संरक्षणका लागि समुदायस्तरमा केही प्रयास भएका पनि छन् । सामुदायिक वन तथा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले प्रथाजनित अभ्यासलाई सम्भव भएसम्म सहयोग गर्दै वन संरक्षणमा लागि परिरहेका छन् । यस्तै प्रथाजनित अभ्यासलाई जोगाउने कार्यको उदाहरण हो, संखुवासभाको राप्साली सामुदायिक वन उपभोक्ता समूहको वन ।

भोटखोला गाउँपालिका वडा नं. ५, तुमखालिङ्ग स्थित गोरुजुरे सामुदायिक वनको उपभोक्ता समूहले पनि प्रथाजनित अभ्यास मार्फत २.४४ हेक्टर क्षेत्रफलको वन क्षेत्र व्यवस्थापन गरिरहेको छ । त्यसलाई समुदायले सातकन्या जालपा देवी वनको नाम दिएका छन । प्रथाजनित अभ्यास अन्तर्गत संरक्षण भइरहेको पवित्र वन क्षेत्र गोरुजुरे सामुदायिक वन क्षेत्रभन्दा रहेको छ ।

राई समुदायको बहुल्याता रहेको यस तुमखालिङ्ग क्षेत्रमा दुई सय सतचालिस घरधुरीका रहेका छन् । सो गाउँमा झन्डै १२ सय जनसंख्या रहेको छ । त्यस क्षेत्रमा बस्न थालेदेखि राई समुदायले विशेष धार्मिक अनुष्ठान गर्दै जालपा देवी वनको संरक्षण गरिँदै आएको स्थानीयले बताए ।

एक सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस वनमा राई समुदायले विभिन्न प्रथाजनित अभ्यास मार्फत मौवा, फलाट, चिलाउने प्रजातिका रुखहरु संरक्षण गरिरहेका छन । समुद्र सतह देखि १६ सय मिटर उचाईमा रहेको यस वनको माथिल्लो क्षेत्रमा रहेको ठूलो ढुङगालाई देवीको प्रतिक मानेर ढुङगा र रुखलाई पुजा गरिने परम्परा रहेको पुजारी रामकुमार राईले बताए । राई समुदायकै पूजारी रहने जालपा देवी स्थलमा पुजाआजा गर्न भने सबै समुदायका लागि खुला गरिएको छ । पुजारी राईका अनुसार वनको डाँडामा सातकन्या देवीको बास रहेको र यस वन क्षेत्र भित्रका कुनैपनि रुखहरु काटेमा, फोहोर गरेमा देवी रिसाउने र समुदायमा प्राकृतिक प्रकोपले क्षति गर्ने विश्वास छ । त्यसैले उपभोक्ताले ती क्षेत्रमा घरायसी प्रयोजनका लागि प्रवेश पनि गर्दैनन ।

राई समुदायले मंसिर र वैशाख पूर्णिमामा मनाउने उधौली र उभौली पर्वका अवसरमा यस क्षेत्रमा विशेष पूजाआजा गर्छन् । उधौली र उभौली पर्वमा देवीलाई कालो बोका र कुखुराको बली दिईने चलन छ । हप्ताको दुई दिन मंगलबार र शनिबार पूजा गर्न मन्दिर परिसर खुला रहने भएकाले स्थानीय उपभोक्ता पूजाआजाका लागि पनि जान्छन । पुजारीले वन संरक्षणका लागि सबैलाई सचेत बनाउँछन् ।

सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय समुदायको परम्परागत ज्ञान, आदिवासी जनजातिको सहभागिता र परम्परागत अभ्यासलाई जोडेर वन संरक्षण गरिरहेको छ । सामुदायिक वनभित्र त्यस्ता अभ्यास भइरहेको भेटिएको खण्डमा त्यसालाई प्रथाजनित अभ्यासमार्फत नै वनको संरक्षण भइरहेकको छ । सामुदायिक वन उपभोक्ता महासंघकी कार्यकारी निर्देशक डा. सीता आर्यालका अनुसार प्राकृतिक साधनश्रोतको संरक्षण र दिगो व्यवस्थापनमा कयौं प्रथाजनित अभ्यासहरु भए पनि तिनको पूर्ण पहिचान हुन सकेको छैन । ‘ती अभ्यासबारे सामुदायिक वन उपभोक्ता समुहहरकोहरुको कार्ययोजनामा पनि उल्लेख भएको छैन ।,’ डा. अर्यालले भनिन, ‘वन ऐन र वन कार्ययोजना, स्थानीय वन ऐनमा प्रथाजनित अभ्यासको खोज, पहिचान र सम्मान गरी अधिकार सुनिश्चित गर्न नसकिएको अवस्था छ ।’

वन संरक्षणमा प्रथाजनित अभ्यासको खोजी, पहिचान र सम्मान हुन नसकिरहेको अवस्थामा सामुदायिक वन उभोक्ता महासंघले वन उपभोक्ता समूहलाई परिचालन गरेर रैथाने प्रथाको खोजी र सम्मान गर्न आग्रह गरिरहेको छ । सफलताको कथा

प्रकाशित मिति : 16 मार्च 2025, आइतवार
प्रतिक्रिया दिनुहोस