बगरमा अदुवा र बेसार फलाउदै मकवानपुरगढीका महिला

बाढीले क्षतविक्षित बनाएको मकवानपुरगढी गाउँपालिका–५ बुङदलमा सामुदायिक वन उपभोक्ता समूहका महिलाहरु मिलेर लोभलाग्दो बेसार खेती गरिरहेका छन् । बेसार खेतीबाट बेरोजगार माहिलाहरुकोे आर्थिक अवस्थामा परिवर्तन आएको छ भने समग्र यपभोक्ता महिलाहरुका लागि प्रेरणा भएको छ ।

२०६१ सालमा आएको बाढी र पहिरोले मकवानपुरगढी गाउँपालिका–५ बुङदलमा रहेको जग्गा खण्डहर बनाइदियो । ऐलानी खेत र बुङदल सामुदायिक वनको जग्गा पहिरोले पुरिदियो । खेतमा ढुङ्गा थुप्रिएर बगर बनाइदिएको थियो । त्यही ठाउँमा खेती गरेर गरेर जीविकोपार्जन गर्दै आएका तीन घर परिवारको दुःख गरेर जीविका चलाउने खेत पनि बगाइदियो । खेती गरिरहेको ऐलानी जग्गामा माथिको बुङदल डाँडा खसेर खण्डहर बनाइदिएपछि ती परिवारको जीविकोपार्जनमा नै संकट आइलाग्यो ।
बाढीभन्दा पहिले उनीहरुको परिवारले ऐलानी जग्गामा कम्तिमा पनि ६० मुरी धान उब्जाउँथे । तर आधा खेत खोलाले बगाएर लियो, अनि आधा पहिरोमा पुरियो । बाढीपीडित अठ्यारोमा परेका थिए । सोही ठाउँमा सामुदायिक वनको सहयोग र स्थानीय महिलाको सक्रियताका कारण अहिले लोभलाग्दो बेसार खेती भइरहेको छ ।

‘सुरुमा बेसार खेती गर्दा हामीले नौ क्वीन्टल बेसार रोपेका थियांै, ६० क्वीन्टल फल्यो । अहिलेसम्म गरेर तीन पटक बेसार लगाइसक्यौ । यो वर्षदेखि हामीले अदुवा पनि रोपेका छौं । पहिलेको ०.५ हेक्टरको जग्गालाई बढाएर ०.७ बनाएका छौ,’ बेसार र अदुवा खेतीमा लागेकी बुङदलकी संगीताले घिमिरेले खुसी हँुदै भनिन्, ‘सबैको सहयोगले अहिले धेरै राम्रो भएको छ । अब हाम्रो देखेर अरु गाउँलेहरुले पनि लगाउनु भएको छ । बेसार खेती बिस्तार हुँदैछ ।’

७७ सालदेखि बेसार खेती सुरु गरेका उनीहरुले सुरुवातको वर्ष ६० क्वीन्टल बेसार उत्पादन गरेका थिए । माटोको उर्वरता शक्ति कमजोर भएका कारण दोश्रो वर्ष ३५ क्वीन्टल बेसार फलाए । बीचमा केही वर्ष रोकिएर उनीहरुले फेरि यसपाली बेसार रोपेका छन् । अब खन्ने बेला भएको छ । यस वर्ष एक क्वीन्टल अदुवा रोपेकोमा तीन क्वीन्टल अदुवा संकलन गरिसकिएको छ भने आधाभन्दा बढी अदुवा खन्न बाँकी नै छ ।

बाढी आएपछि मकवानपुरको बुङदल सामुदायिक वनले विपद् पीडितको जीविकोपार्जनमा सहयोग गर्न बुङदल लघुवित्त महिला समूह गठन गरेको थियो । सोही समूहले बेसार खेती गर्ने प्रस्ताव लिएर आयो । अहिले सोही समूहले लोभलाग्दो प्रगति गरिरहेको छ । बाढी पीडित घरपरिवार र अन्य विपन्न समुदायका ४० जना महिला लघुवित्तमा समूहमा आवद्ध भएर सामूहिक रुपमा आयमूलक खेती गर्दै आएका छन् । यसले गाउँका महिलाहरुलाई काम गर्ने अवसर दिएकको छ भने बेसार खेतीबाट आयआर्जन गर्न थालेका छन् ।

ती मध्येकी एक हुन्, संगीता । बुङदल सामुदायिक वन उपभोक्ता समूहकी सदस्य समेत रहेकी संगीता यसअघि विभिन्न गैरसरकारी संस्थामा कार्यालय सहयोगीको रुपमा काम गर्थिन् । बाढी पहिरोको क्षतिपछि उनको घरपरिवारमा थप समस्यामा प¥यो । उनका चार दाजुभाईसहित अन्य ६ घर परिवारको खेतमा क्षति भएकाले उनीहरुको अवस्था पनि त्यस्तै थियो ।

बाढीपीडितको समस्या देखेर ७८ हेक्टर क्षेत्रफलमा फैलिएको स्थानीय बुङदल सामुदायिक वन उपभोक्ता समूहले बाढी पीडित र अन्य विपन्न महिलाहरुलाई खेती गर्नका लागि सामुदायिक वनको १९ कठ्ठा जग्गा दियो । उनीहरुले सोही जग्गामा अहिले बेसार खेती गरिरहेका छन् । गत वर्षदेखि सुरु गरेको बेसार खेतीले महिलाहरुलाई उत्साहित त बनाएको छ नै, उनीहरु जस्तै अरु महिलालाई पनि केही गर्न हुटहुटी जगाइदिएको छ ।

स्थानीय सामुदायिक वन उपभोक्ता समूहले जग्गा छुट्टयाइदिएपछि महिलाहरुले ट्याक्टर र स्काभेटरको सहायताले ढुङ्गा पन्छ्याए । जग्गा सम्याए । बाहिरबाट माटो बोकेर ल्याए । अहिले खाली ठाउँमा माटो भरेर खेतीयोग्य जमिन बनाएका छन् । स्थानीयको श्रमका साथै मेसिन लगाएर यो सबै गर्न उनीहरुलाई २५ दिन लाग्यो । उपभोक्ताले न्यूनतम ज्याला लिएर बेसार खेती गर्न थाले । कोरोना महामारी चलिरहेको बेला पनि बेसार खेतीका लागि माटो बोकेर जग्गा बनाएका थिए ।

‘लगातार तीन ट्याक्टर र दुई स्काभेटर लगाएर समूहका सबैले काम गर्दा पनि २५ दिन लाग्यो जग्गा बनाउने काम सक्न,’ संगीताले भनिन, ‘मेसिन लगाउँदा भएकोे आठ लाख खर्च सामुदायिक वन उपभोक्ता महासंघले बेहोरिदयो ।’
त्यसबाहेक उनीहरुको बेसार खेतीको सपनालाई साकार पार्न बेसार भण्डारण स्थल बनाउन स्थानीय सरकारले पनि सहयोग गरिदियो । सामुदायिक वन उपभोक्ता महासंघले बेसार पिस्ने मेसिन पनि दिएको छ । ०७७ सालको हिउँदमा काम गरेका उनीहरुले ०७८ सालको बैशाखमा बेसार खेतीका लागि बीउ रोपेका थिए ।

बेसार खेतीलाई व्यवस्थित ढंगले अघि बढाउन २५ सदस्यीय महिला समूह गठन गरिएको छ । ती मध्ये १८ जना महिला सधै सक्रिय भएर बेसार खेतीमा लागेका छन भने बाँकी सदस्य आवश्यक परेको बेला आउँछन् । बेसार खेतीका लागि उनीहरुले छुट्टै कोष स्थापना गरेका छन् । काममा आएको बेला उनीहरुले पनि न्यूनतम ज्याला लिन्छन् । बेसार खेतीबाट भएको आम्दानी लघुबीत्त कोषमा जम्मा गर्छन् ।

खेती गरेको पहिलो वर्षमा नै उनीहरुले उत्पादन गरेको बेसार स्थानीय बजारमा बिक्री हँुदै आएको छ । महिला समुहका सदस्यहरु आफैले बेसार पिसेर बिक्री गर्ने गरेका छन् । बेसारको चानाको लागि प्रति किलो २५० रुपैयाँ मूल्य तोकेका छन् भने उसिनेको सुठो ५०० रुपैयाँ र धुलो ४०० रुपैयाँमा बिक्री गर्दै आएका छन् । ‘उत्पादन गरेको बेसार बिक्रीमा समस्या छैन । बेसारको माग राम्रो नै छ । स्थानीयले भने अलि मूल्य घटाउन खोज्छन,’ संगीताले भनिन् ।

महिला समूहले गतवर्ष बेसार खेतीको प्रवद्र्धनका साथै निम्न आयस्तर भएका उपभोक्ताले पनि यसबाट केही फाइदा लिन सकुन् भन्ने उद्देश्यले उनीहरुलाई आवश्यकता अनुसार पाँचदेखि बीस किलोसम्म बेसारको बीउ निःशुल्क वितरण गरिएको थियो ।

खेतीको निरन्तरता
अघिल्लो वर्षको उत्पादन पुरै बिक्री गरी नसकेको हुनाले नाफाको हिसाब निक्र्यौल गरिसकेका छैनन् । यस वर्ष पनि उनीहरुले बेसार खेतीलाई निरन्तरता दिएका छन् । यसपाली फागुनसम्म सबै बेसार खनेर अर्को वर्षको लागि रोप्न प्लट तयार गर्ने क्रममा छन् । जेठको महिनाभर पानी परेर बेसार रोप्ने बेलामा हिलो भएकाले अघिल्लो वर्षको भन्दा कम अर्थात १६ कठ्ठामा मात्र बेसार रोपेका छन् । रोप्ने बेलामा रासायनिक मलको अभावले पनि केही समस्या भएको थियो । तर पनि उनीहरुले बेसार खेती गरे । अर्को वर्षको लागि राम्रो तयारी गरेर बेसार र अकबरे खुर्सानी लगाउने योजना बनाएका छन् ।

खण्डहर बनेको बगरमा बेसार खेती गरेर उदाहरणीय काम गरेकाले मकवानपुरका महिलाले चौतर्फी प्रशंसा बटुलेका छन् । बेसारको मगमग बासना बस्तीसम्म आइपुग्दा सबैले महिलाहरुले राम्रो काम गरेको भनेर मुक्तकण्ठले सुनाउँछन् । प्राविधिकहरुले गरेको परीक्षणमा महिलाहरुले उत्पादन गरेको बेसार फाइभरमुक्त र गुणस्तरीय रहेको प्रतिवेदन दिएका छन् ।

‘हाम्रो बेसार विदेश निर्यातको लागि पनि कुनै समस्या छैन । कृषि सहकारी हेटौडामा आएका विदेशीले हामीसँग एउटा समझदारी पत्रमा हस्ताक्षर गरेर जानु भएको छ । चाहेको खण्डमा बेसार अमेरिका निर्यात हुन सक्छ । उहाँहरु घरमै आएर बेसारको चना चाखेर पनि जानु भएको छ,’ संगीताले भनिन् ।

महिलाहरुले अहिले बेसार खेती गरिरहेको ठाउँमा खुर्सानी, बेसार, अदुवा, लसुन र प्याज बाहेकको खेती गरेमा वन्यजन्तुले सखाप पार्ने भएकाले अन्य खेती गर्न नसक्ने बताउँछन् । मकै, धान लगाउँदा बाली कुरेरै बस्नुपर्ने बाध्यता छ । नजिकैको सामुदायिक वनबाट निस्किएर बाँदर, मृग, दुम्सी लगायतका जंगली जनावर पसेर नष्ट गरिदिने भएकाले महिलाहरुले वन्यजन्तुबाट कम क्षति हुने खेतीलाई प्राथामिकतामा राखेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघको सहयोगमा बेसार खेतीबाट आम्दानी भइरहेको र यसले विपन्न महिलाहरुलाई सहयोग हुने उनीहरुकोे अपेक्षा छ । समूहका महिलाहरुले दिउँसो १२ बजे देखि ४ बजेसम्म काम गर्छन् । काममा आएकाले दिनको पाँच सय रुपैयाँको दरले उनीहरुले नै स्थापना गरेको लघुवित्त कोषबाट दैनिक ज्याला लिन्छन् । खेतीबाट भएको आम्दानी र सहयोगी निकायबाट आएको रकम कोषमा जम्मा गरेर कोषलाई दिगो रुपमा सञ्चालन गर्ने थीति बसालेका छन् । यसले गर्दा काम नपाएका महिलाहरुका लागि छोटो समयका लागि भए पनि रोजगारी मिलेको छ भने समूहको कोष पनि मजबुद भइरहेको छ ।

कोषमा जम्मा भएको रकम समुदायमा अठ्यारोमा परेका दलित, न्यून आयश्रोत भएका महिला, जनजाति र अल्पसंख्यकको आर्थिक समस्या सामाधानको लागि प्रयोग गरिन्छ । बाढी, पहिरो, डढेलो जस्ता विपद्को समयमा पीडितलाई क्षतिपूर्ति र सहयोगको रुपमा वितरण गरिदै आएको छ । सामुदायिक वनले समूहका सदस्यहरुलाई उनीहरुको आर्थिक अवस्था हेरेर निःशुल्क रुपमा काठ वितरण पनि गर्दै आएको छ । दुःख पर्दा समुदायका सदस्यहरुलाई साथ, सहयोग र समर्थन गर्दै आएकाले वन समूहप्रति सबै गाउँलेको अपनत्व बढ्दै गएको छ ।

वैशाख–जेठमा रोपेको बेसार फागुनमा तयार हुन्छ । बेसार खनेर, सुकाउने, चाना बनाउने अनि पिसेर धुलो बनाएर प्याकिङ गरेर बिक्री गर्ने सबै प्रक्रिया सक्दा फेरि रोप्ने बेला भइसक्छ । यसले गर्दा बेसार खेतीमा लागेका महिलाहरुलाई सधैजसो सामुदायिक खेतीको काममा लागिरहनुपर्ने बाध्यता भएको छ । कामको व्यस्तता र दुइ–चार पैसा भए पनि आम्दानी हुने भएकाले उनीहरु पनि खुसी नै छन् ।

अगामी योजना
बेसार खेतीमा लागेका सामुदायिक वनका महिलाहरुका लागि अहिले खेतीलाई सफल बनाउने र आफुहरु सामूहिक खेतीमा स्थापित हुनेभन्दा अर्को योजना छैन । फागुनसम्म सबै बेसार खनेर सक्ने, ग्रेडिङ गर्ने, चाना बनाउने, पिस्ने र धुलो बेसार बिक्री वितरणको लागि तयार राख्ने र अर्को सिजनको लागि बेसार र अरु तरकारी खेतीकोे कामलाई प्राथामिकतामा राखिएको छ ।

सामुदायिक वनले दिएको जग्गामा बेसार खेतीबाट हौसिएका मकवानपुरका महिलाहरुले अब खाली र बाँझो रहेको जग्गा पनि खनजोत गरेर बेसार रोप्ने योजना बनाएका छन् । उनीहरुको गाउँबाट बसाइँसराई गरेर गएकाले धेरै जग्गा बाँझो अवस्थामा छ । कति घरपरिवार सुविधाको खोजीमा हेटौडा, चितवन र तराईमा बसाइँसराई गरेका छन् । खेतीयोग्य जमिनको सदुपयोग भएको छैन । ‘माथि गाउँतिरको मान्छे जग्गा बाँझो राखेर गएकाले हामी त्यसको सदुपयोग गर्ने योजनामा छौं । बेसार खेतीलाई निरन्तरता दिनुका साथै अकबरे खुर्सानी, तेजपत्ता, चिराइतो र जिम्बु लगाउने कि भनेर प्राविधिज्ञसँग छलफल गरिरहेका छौ ।’ उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : 18 मार्च 2025, मङ्गलवार
प्रतिक्रिया दिनुहोस