सामुदायिक वन र महासंघको कार्य संरचना अध्ययन गर्न भारतीय टोली नेपाल भ्रमणमा

काठमाडौं । नेपालको सामुदायिक वन र कार्यप्रणाली अध्ययन गर्न भारतको उडिसाबाट १४ सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।
उडिसाको कलाहान्दी जिल्लाबाट सामुदायिक वनका अभियन्ताहरु सेवा निकेतन संस्थाबाट नेपाल आएका हुन् । वीरगंज हुँदै नेपाल आएको भारतीय प्रतिनिधिमण्डलले मकवानपुर, चितवन, धादिङ, काठमाडौं र भक्तपुरका सामुदायिक वनहरुको स्थलगत अवलोकन गरेको छ । एकसाताको भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेको उक्त प्रतिनिधिमण्डललाई सामुदायिक वन उपभोक्ता महासंघका संघीय अध्यक्ष ठाकुर भण्डारीले भक्तपुरस्थित महासंघको कार्यालयमा रुद्राक्षको माला लगाइ स्वागत गर्नुभयो ।

स्वागतपछि आयोजित छलफल कार्यक्रममा महासंघका अध्यक्ष भण्डारीले नेपालको सामुदायिक वन अभियान र उपभोक्ता समूहहरुको गठन प्रकृया तथा कार्यप्रणालीबारे जानकारी गराउनुभएको थियो । फेकोफनको इतिहास र नेपालको वनको तत्कालीन अवस्थाबारे जानकारी गराउँदै अध्यक्ष भण्डारीले तीन दशकभन्दा लामो समयमा सामुदायिक वन उपभोक्ता महासंघले नेपालको वन क्षेत्र वृद्दिमा उल्लेख्य योगदान गरेको बताउनुभयो । नेपालको वन ४६ प्रतिशतभन्दा माथि पुग्नुमा सामुदायिक वनको योगदान महत्वपूर्ण भएको बताउँदै उहाँले नेपाल र भारतबीच उपभोक्तास्तरमा सहकार्य र समन्वय रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष भण्डारीले स्थानीय वन ऐन निर्माण, समुदायको हक अधिकार, नेपालको सिकाइ र फेकोफनको कार्य प्रणालीबारे जानकारी गराउँदै नेपालको सामुदायिक वन विश्वकै लागि नमुना भएको स्मरण गराउनुभएको थियो ।
त्यसअवसरमा फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जलवायु परिवर्तनको विश्वव्यापी असर, नेपालको सामुदायिक वन अभियान र आगामी दिनमा गर्नुपर्ने कामबारे उल्लेख गर्नुभएको थियो । यसैगरी महासचिव पार्वता गौतम, सचिव डिल्ली गिरी, सचिवालय सदस्य सरिता कुमाल लगायतले नेपालको सामुदायिक वन अभियान र उपभोक्ताहरुले गर्दै आएको काम तथा हकअधिकारबारे आआफ्ना धारणा तथा अनुभव राख्नुभएको थियो ।

भारतीय प्रतिनिधिमण्डलका तर्फबाट सेवा निकेतनका सचिव दशरथी बेहेराले नेपालका सामुदायिक वनहरुको अवलोकनमा आफूहरुले धेरै कुरा सिक्न पाएको बताउँदै फेकोफनको कामकारवाही आफूहरुका लागि अनुकरणीय भएको बताउनुभएको थियो ।

प्रकाशित मिति : 29 जुन 2025, आइतवार
प्रतिक्रिया दिनुहोस