प्राकृतिक श्रोतमा काम गर्ने ६० भन्दा धेरै देशका प्रतिनिधिको वार्षिकोत्सव काठमाडौंमा

काठमाडौं । प्राकृतिक श्रोत र स्थानीय समुदायको अधिकारका क्षेत्रमा काम गर्ने विश्वका ६० भन्दा धेरै देशका एक सयभन्दा बढी प्रतिनिधिहरुको बैठक नेपालमा सुरु भएको छ ।
स्थानिय समुदायको अधिकारका लागि जल, जमिन र जंगल क्षेत्रमा काम गर्ने विश्वका प्रमुख संस्थाहरुको नेतृत्व गर्दै आएको राइट एण्ड रिसोर्स इनिसियटिभ अर्थात् आरआरआइमा आवद्द संस्थाको २० औ वार्षिकोत्सव सोमबार काठमाडौंमा सुरु भएको हो ।

प्राकृतिक श्रोतका क्षेत्रमा नेपालमा धेरै काम भएको र संस्थाले पनि नेपालमा महत्वपूर्ण सहयोग गरेकोले आरआरआइले २० औं वार्षिकोत्सव नेपालमा मनाएको हो । वार्षिकोत्सवमा विश्वका ६० भन्दा धेरै देशका एक सयभन्दा बढी प्रतिनिधिले प्राकृतिक श्रोत र आरआरआइको काम तथा आगामी योजनाबारे छलफल गर्नेछन् ।

वार्षिकोत्सव आयोजनाको समन्वय सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरेको छ ।

वार्षिकोत्सव उद्घाटन समारोहमा शुभकामना पठाउंदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामुदायिक वन आन्दोलन एउटा सफल आन्दोलन भएको बताउंदै आरआरआइले नेपालमा गरेको योगदानको प्रशंसा गर्नुभयो।

असार १९ गतेसम्म चल्ने वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आरआरआइले स्थानीय समुदायको अधिकारलाई स्थापित गर्दै नेपालमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।

नेपालमा विश्वका प्राकृतिक अधिकारकर्मीको जमघट महत्पूर्ण भएको बताउंदै उहाँले सामुदायिक वनले नेपालको वन बढाउन र समुदायको अधिकार स्थापना गर्न धेरै राम्रो काम गरेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नेतर्फ साझेदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा आरआरआइ अध्यक्ष सोलाङ बान्डाकी बाड्गीले जलवायु परिवर्तनको असरलाई बेवास्ता गर्ने समय नभएको भन्दै संगठन गठन गर्दा ५ संस्था भएको र अहिले २०० भन्दा धेरै संस्था पुगेको बताउनुभयो ।

उहाँले नेपालमा सामुदायिक वनले स्थानीय समुदायको अधिकार स्थापना गर्न महत्वपूर्ण काम गरेको पनि बताउनुभयो। प्राकृतिक श्रोतको पहुँच आदिवासी जनजाति, युवा र महिलालाई बढि नै हुनुपर्ने बताउँदै उहाँले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

वार्षिकोत्सव समारोहको समन्वय गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले फेकोफनले समुदायको अधिकार स्थापना गर्न महासंघले निरन्तर रुपमा अभियान चलाएको बताउनुभयो।

निकुञ्ज, मध्यवर्ती क्षेत्र र चुरे क्षेत्रका जनताको अधिकार स्थापना गर्न महासंघले गरेको पैरवी निरन्तर रहने पनि अध्यक्ष भण्डारीले स्पष्ट पार्नुभयो।

दिगो वन व्यवस्थापन तथा महिला, आदिवासी जनजातिको हक र सहभागितालाई सुनिश्चित गराउनु महत्पूर्ण उपलब्धि भएको बताउंदै उहाँले वन व्यवस्थापनमा युवा सहभागीता बढाउनुपर्ने धारणा राख्नुभयो। आरआरआइले स्थानीय समुदायको अधिकारलाई अघि बढाउने गरेको सहयोगको लागि अध्यक्ष भण्डारीले धन्यवाद पनि दिनुभयो।

कार्यक्रममा ग्रीन फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डे, आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जी लामा शेर्पा, आरआरआइकी पेगी स्मिथ, यमी कटेरेरी, अरविन्द गरे, एण्डी लाइट लगायतले प्राकृतिक स्रोत र स्थानीयको अधिकारबारे बोल्नु भएको थियोे।

प्रकाशित मिति : 30 जुन 2025, सोमवार
प्रतिक्रिया दिनुहोस