आरआरआइको वार्षिकोत्सवमा सामुदायिक वनको योगदान र उपभोक्ता अधिकारको प्रसंशा

काठमाडौं । नेपालको सामुदायिक वन आफूहरुका लागि लागि प्रेरणा र मार्गदर्शन भएको भारत, इन्डोनेसिया, केन्या, तान्जानिया तथा पेरु लगायत देशका प्राकृतिक श्रोत र स्थानीय समुदायको अधिकारका क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।

काठमाडौंमा जारी आरआरआइको २० औं वार्षिकोत्सवमा नेपालको सामुदायिक वन अभियान र फेकोफनले स्थानीय समुदायका पक्षमा गरेका कामहरुको प्रसंशा गर्दै भारतको उडिसाका सामुदायिक वन अभियन्ता तथा सेवा निकेतनका सचिव दशरथी बेहेराले आफूहरुका लागि नेपालका सामुदायिक वनहरु प्रेरणा र मार्गदर्शन भएको बताउनुभयो ।
केन्याको आदिवासी समुदायकी अभियन्ता मार्गारेट सेकियान्सीले स्थानीय समुदायको प्राकृतिक श्रोत र जमिनमाथिको अधिकारका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै नेपालमा सामुदायिक वनको भूमिकाको प्रसंशा गर्नुभयो । क्यामरुनका प्रतिनिधिले जमिन र जंगललाई विषाक्त हुनबाट जोगाएर स्थानीयको अधिकार रक्षा गर्नुपर्नेमा जोडदिनुभयो ।

सहभागीहरुले नेपालको सामुदायिक वन अभियानको प्रसंशा र चर्चा गरिरहँदा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले भने उपभोक्ता अधिकारका लागि अझै धेरै काम गर्न महासंघ लागि परेको बताउनुभयो । नेपालको सामुदायिक वन उपभोक्ता समूह र महासंघको सिकाइ विश्वका लागि उदाहरणीय बनेकोमा उहाँले खुसी पनि व्यक्त गर्नुभयो ।

ब्राजिलका प्रतिनिधि बेला सुकारीले स्थानीय समुदाय र आदिवासीहरुको अधिकारका लागि सामुहिक पहल चाहिने भन्दै जंगल र जमिनमा कसको स्वामित्व छ भन्नेकुरा अर्थपूर्ण हुने बताउनुभएको थियो ।

आरआरआइको वार्षिकोत्समा विश्वका ६० भन्दा धेरै देशका एक सयभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । स्थानीय समुदायको अधिकारका लागि जल, जमिन र जंगल क्षेत्रमा काम गर्ने विश्वका प्रमुख संस्थाहरुको नेतृत्व गर्दै आएको राइट एण्ड रिसोर्स इनिसियटिभ अर्थात् आरआरआइमा आवद्द संस्थाको २० औ वार्षिकोत्सव सोमबारदेखि काठमाडौंमा सुरु भएको हो । ३ जुलाइसम्म चल्ने वार्षिकोत्सवको समन्वय सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरेको छ ।

प्रकाशित मिति : 1 जुलाई 2025, मङ्गलवार
प्रतिक्रिया दिनुहोस