काठमाडौं । वन वातावरणसहित प्राकृतिक श्रोत र स्थानीय आदिवासी जनजाति समुदायको हकअधिकारका पक्षमा काम गर्ने विश्वव्यापी नेटवर्कमा आवद्द संस्थाहरुको नेतृत्व गर्दै आएको राइट एण्ड रिसोर्स इनिसियटिभ अर्थात् आरआरआइको २० औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ ।
३० जुनदेखि ३ जुलाइसम्म चलेको चार दिनको वार्षिकोत्सवमा सामुदायिक वन, स्थानीय समुदायका मुद्दामा समूहगत रुपमा विज्ञ तथा प्रतिनिधिहरुले गहन छलफल र आगामी रणनीतिबारे छलफल गरेका थिए । नेपालमा सामुदायिक वन उपभोक्ता महासंघको अभियान र उपभोक्ता समूहहरुको गठन तथा कार्यप्रकृया विश्वकै लागि उदाहरणीय भएकोले थप प्रभावकारी बनाउनेबारे पनि विभिन्न बहस र सुझावहरु आएका छन् ।
यसैगरी आदिवासी समुदायको जमिनमाथिको स्वामित्व र विश्वव्यापी रुपमा भैरहेका प्रयासहरुबारे पनि विभिन्न देशका प्रतिनिधिसहितको प्यानलगत बहस गरिएको थियो । नेपालमा भौगोलिक रुपमा हिमाल, पहाड र तराइका सामुदायिक वन स्थानीय समुदायको अधिकारको बहस भैरहँदा वार्षिकोत्सवमा अफ्रिकी मुलुकसहित विश्वका विभिन्न आदिवासी र जनजाती समूहहरुले अधिकारका लागि गरेका संघर्ष र उपलव्धिहरुमाथि पनि छलफल भएको छ । वार्षिकोत्वस समारोहको समन्वय तथा सहजीकरण सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरेको हो । वार्षिकोत्सवमा भाग लिन युरोप र अमेरिकासहित भारत, इन्डोनेसिया, केन्या, ब्राजिल, तान्जानिया तथा पेरु लगायतका अन्य देशका झण्डै एक सय जना प्रतिनिधिहरु नेपाल आएका हुन् ।
साझेदारहरुको बैठक पनि सम्पन्न
आरआरआइको वार्षिकोत्सव सकिए लगत्तै साझेदार संस्थाहरुको बैठक पनि आयोजना गरियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा भएको बैठकमा आरआरआइ र साझेदार संस्थाहरुको आगामी कार्ययोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर र गहन छलफल भएको छ । साझेदार संस्थाहरु धेरै भएका र बढ्दै गएकाले प्राकृतिक श्रोत तथा स्थानीय समुदायको अधिकारका लागि काम गर्न थप बल पुगेको भन्दै सरोकारवालाहरुले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा नेपालको सामुदायिक वन विश्वकै लागि नमुना भएकोले यसको सिकाइ र कार्यप्रकृयालाई विश्वव्यापी रुपमा अघि बढाउँदै जानुपर्ने धारणा पनि अन्य मुलुकका प्रतिनिधिहरुले राखेका थिए । वन श्रोतमा स्थानीय समुदायलाई बढीभन्दा बढी लाभ दिने र उनीहरुको भूमिमाथिको स्वामित्व स्थापित गर्न आगामी दिनमा थप काम गर्नुपर्ने सवालमा विज्ञ प्रतिनिधिहरुले जोडदिएका थिए ।
बैठकमा सामुदायिक वन र नेपालमा महासंघले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको र वन श्रोतबाट लाभ लिनेबारे सहकार्यलाई अझै प्रभावकारी बनाएर अघि बढ्नुपर्ने विषयमा पनि छलफल भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
आरआरआइको वार्षिकोत्सवमा सहभागी हुन आएका विश्वका ६० भन्दा धेरै देशका प्रतिनिधिहरुलाई सामुदायिक वन उपभोक्ता महासंघले भव्य स्वागत र वार्षिकोत्सव सकिएपछि उच्च सम्मानका साथ विदाइ पनि गरेको छ । सामुदायिक वन उपभोक्ता समूहहरुले गरेका काम, सामुदायिक वन भ्रमण र प्राकृतिक श्रोतमा आधारित उत्पादनहरु उपहारमा पनि दिइएको थियो । अतिथिहरु पनि नेपाली मौलिक संस्कृतिसहित पञ्चेवाजाको नाचगानमा रमाएका थिए ।


