काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीले जनधनको निकै ठूलो क्षति भएको छ । नेपाल–चीन सीमनाको लेन्डे खोला हुँदै एक्कासी आएको बाढी भोटेकोशीमा मिसिँदा नेपालमा जनधनको धेरै क्षति भएको हो ।
अहिलेसम्मको जानकारी अनुसार ६ चिनियाँ नागरिक, ३ नेपाल प्रहरीसहित कम्तीमा १८ जना बेपत्ता भएका छन् भने मृतकको यकिन संख्या खुलेको छैन । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ ।
यसैगरी सुक्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी र चीनबाट सामान ल्याएका कन्टेनरहरुसहित करिव एक सय गाडी बगाएको अनुमान गरिएको छ । करिव २ सय मेघावाटको विद्युत उत्पादनमा पनि बाढीले क्षति पुगेको छ ।
बर्खाका लागि खाना पकाउने दाउरा खोज्न खोला क्षेत्रमा गएका नुवाकोटको विदर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीय पत्नी मंगलीमाया तामाङलाई सेनाले उद्दार गरेको छ । यसैगरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीको सक्रितामा अरु ५० भन्दाबढीलाई पनि उद्दार गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्च अधिकारीहरुले आजै रसुवा बाढीको अवस्था र प्रभावितहरूको उद्धार र राहत कार्यबारे स्थलगत जानकारी लिएर फर्केको छ । प्रधानमन्त्री ओलीले सरकारले युद्दस्तरमा उद्दारको काम गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेर चिनियाँ दूतावासका कर्मचारी, सुरक्षा निकायका प्रमुख, केही मन्त्रीसहित रसुवाको बाढी प्रभावित क्षेत्रमा जानुभएको थियो ।
यसैबीच सामुदायिक वन उपभोक्ता महासंघले रसुवामा आएको बाढीले भएको क्षतिप्रति दुख व्यक्त गर्दै उद्दार र पुनर्स्थापनालाई तिव्रता दिनुपर्नेमा जोडदिएको छ । महासंघका अध्यक्ष ठाकुर भण्डारीले प्राकृतिक विपत्तिले निकै ठूलो क्षति पुगेको भन्दै बाढी पहिरो र सम्भावित जोखिमप्रति सावधानी अपनाउन सामुदायिक वनका उपभोक्तासहित सबै स्थानीयलाई आग्रह पनि गर्नुभएको छ ।


