काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातारको वर्षासँगै बाढी र पहिरो आउँदा जनधनको नोक्सानी बढ्न थालेको छ । राजमार्गहरु बन्द भएका छन् । ठाउँठाउँमा बस्तीहरु जोखिममा परेका छन् । सर्वसाधारण स्थानीयलाई ज्यान जोगाउने चिन्ता बढ्न थालेको छ । सामुदायिक वन उपभोक्ता तथा स्थानीय प्रशासनबाट प्राप्त सूचना अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक भासिएपछि यातायात प्रभावित भएको छ ।

सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । पाल्पा आसपासका क्षेत्रमा लगातार वर्षा भएपछि तिनाउ नदीमा पनि बाढी आएको छ । सिद्दार्थ राजमार्गको बुटवलदेखि दोभान खण्डमा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्द हुँदा यातायात प्रभावित भएको छ । सिद्दबाबा र दोभान क्षेत्रमा सामुदायिक वनका उपभोक्ताहरुले पनि यात्रा गर्दा सावधानी अपनाउन भन्दै सर्वसाधारण र सवारी चालक तथा यात्रुलाई सावधान गराउँदै आएका छन् ।
गुल्मीमा पनि कालिगण्डकी करिडोर वर्षाका कारण अवरुद्द बनेको छ ।
यस्तै रसुवाको ठूलोभार्खुमा पहिरो जाँदा धुन्चे–स्याफ्रुबेसी खण्ड अवरुद्ध भएको छ । रसुवामा मंगलबारको बाढीको क्षति यकिन गर्न पहल थालिएको छ । यसैगरी बझाङको दुर्गाथली गाउँपालिकाको मोरीबगरमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । खहरे खोलाहरुमा लेदोसहितको पानी बग्दा बिपी राजमार्गमा पनि आवागमन प्रभावित भएको छ । बाढीले उपल्लो मुस्ताङमा जनजीवन प्रभावित भएको छ । बाढीले २ वटा पुल बगाएको छ ।


