समीक्षा बैठकले गर्यो आरआरआइको वार्षिकोत्सवको भव्य रुपमा सफल भएको ठहर

काठमाडौं । नेपालमा भएको राइट एण्ड रिसोर्स इनिसियटिभ अर्थात् आरआरआइको २० औं वार्षिकोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएको ठहर समीक्षा बैठकले गरेको छ । वन वातावरणसहित प्राकृतिक श्रोत र स्थानीय आदिवासी जनजाति समुदायको हकअधिकारका पक्षमा काम गर्ने विश्वव्यापी नेटवर्कमा आवद्द संस्थाहरुको नेतृत्व गर्दै आएको आरआरआइको नेपालमा वार्षिकोत्सव हुँदा स्थानीय आयोजक सामुदाायिक वन उपभोक्ता महासंघ थियो ।

३० जुनदेखि ३ जुलाइसम्म चलेको चार दिनको वार्षिकोत्सवमा विश्वका ६० भन्दा धेरै देशका सामुदायिक वन, स्थानीय समुदाय र आदिवासी जनजातिको हक अधिकारमा काम गर्ने संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । समीक्षा बैठकले वार्षिकोत्सव ऐतिहासिक बनेको र निकै सफल भएको ठहर गरेको फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।

समीक्षा बैठकमा स्थानीय आयोजक फेकोफनसहित सहजीकरणमा सघाएका सातवटै संस्थाहरुका प्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो । त्यस अवसरमा वार्षिकोत्सव सफल बनाउन खटिने सपोर्ट टिमका सदस्यहरुलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

आरआरआइको नेतृत्वले नेपालमा भएको वार्षिकोत्सव ऐतिहासिक भएको निष्कर्ष निकाल्दै फेकोफनसहितले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेको छ । प्रतिनिधिहरुको नेपाल आगमनका क्रममा भएको स्वागत तथा समापनपछिको विदाई निकै राम्रो भएको ठहर गरिएको छ । यस्तै उद्घाटन सत्रका क्रमममा विभिन्न कला संस्कृतिसहित नेपाली मौलिकता झल्कने झाँकीहरुको प्रस्तुतिको उच्च मुल्यांकन प्रतिनिधिहरुले गरेका छन् । उद्घाटन सत्र समारोहदेखि विषयगत छलफलमा सहभागिता र उठेका विषयवस्तुहरुको गहनताको पनि प्रसंशा आरआरआइ टिमले गरेको छ ।

फेकोफनका अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा भएको पार्टनर मिटिङ र त्यहाँ भएका छलफलले आगामी दिनमा गर्नुपर्ने कामको योजनावद्द रणनीति बनाउन सहयोग पुगेको निष्कर्ष निकालिएको छ । नेपाली उत्पादनका स्टलहरु, नेपाली आतिथ्यता, विषयवस्तुको सार्थकता लगायत सबै हिसावले आरआरआइले वार्षिकोत्सव निकै सफल भएको निष्कर्ष निकालेको फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।

वार्षिकोत्सव समारोह तथा छलफलमा सामुदायिक वन उपभोक्ता महासंघको अभियान र उपभोक्ता समूहहरुको गठन तथा कार्यप्रकृया विश्वकै लागि उदाहरणीय भएको भन्दै विश्वका प्रतिनिधिहरुले थप प्रभावकारी बनाउनेबारे पनि विभिन्न बहस र सुझावहरु दिनु नेपालको समग्र प्राकृतिक श्रोत क्षेत्र र फेकोफनका लागि पनि गौरवको विषय भएको सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव पार्वता गौतमले बताउनुभयो ।

प्रकाशित मिति : 9 जुलाई 2025, बुधवार
प्रतिक्रिया दिनुहोस