बुटवल । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन उपभोक्ता समूहहरु गाभ्ने बहस असान्दर्भिक र अनुपयुक्त भएको बताउनुभएको छ । फेकोफन अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको सवालगत छलफल कार्यक्रममा अध्यक्ष भण्डारीले सामुदायिक वन मर्ज गर्ने भनेर चलाइएका हल्लाहरु स्वीकार्य नभएको प्रष्ट पार्नुभएको हो ।
सामुदायिक वनहरु साना ठूला भन्ने नहुने र त्यो समुदायको पहिचानसँग जोडिएको विषय भएको बताउँदै उहाँले समुदायको अस्तित्व जोगाउन पनि सामुदायिक वन मर्ज गर्ने कुरा अस्वीकार्य भएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा स्थानीय उपभोक्ता तथा समूहका अगुवाहरुले सामुदायिक वन हस्तान्तरणमा ढिलाइ भएकोले छिटो गर्नुपर्ने, कार्ययोजना परिमार्जनमा देखिएका समस्या समाधान हुनुपर्ने, बाँदर र बँदेल तथा दुम्सीले खेतिपाती गर्नै नदिने गरी दुख दिएको तथा मानिसहरुमाथि नै आक्रमण गर्न थालेको भन्दै समाधान खोज्नुपर्ने माग गरेका थिए । कि आक्रमणकारी र खेती नास गर्ने जनावार सरकारले जिम्मा लिनुपर्ने कि त बालीनाली र मानवमाथि आक्रमण भए मार्न पाउनुपर्ने उनीहरुको माग छ । 
त्यसबारे अध्यक्ष भण्डारीले वन्यजन्तुले बालीनाली नष्ट गर्ने र मानवमाथि आक्रमण बढ्दै जाँदा किसानले खेती नै गर्न छाडेको भन्दै त्यसले सम्वृदिमै असर परिरहेको बताउनुभयो । मानिसहरुले गाउँ छाड्ने र खेती नगर्ने कारण नै वन्यजन्तुले दिने सास्ती भएको भन्दै अध्यक्ष भण्डारीले बाँदर र बँदेल जस्ता मानवमाथि समस्या पार्ने जंगली जनावार सरकारले बेच्नेदेखि मार्नेसम्मका योजना बनाउनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा फेकोफन न्यायिक समिति संयोजक रिता घिमिरे, केन्द्रीय सदस्य दिनानाथ आचार्य, बालिका बुढाथोकी, प्रदेश सदस्य जगत भुसाल लगायतले स्थानीय वन ऐन बनाउनुपर्ने, समूहहरुलाइ प्रभावकारी बनाउनुपर्ने, उत्तरी क्षेत्रका समूहहरुको आर्थिक अभावबारे पालिकाहरुसँग पनि समन्वय गर्नुपर्ने लगायतका विषयमा धारणा राख्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष मधु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


