किसान मर्ने कि बाँदर, बँदेल र दुम्सी मार्ने ?

काठमाडौं । पहाडी क्षेत्रका गाउँबस्तीमा अचेल धेरै खेतबारी बाँझै हुन थालेका छन् । चौबिसै घण्टा पानी लाग्ने, घरबस्ती नजिकैका, मलिलो जमिन र गरिखाने एक मात्रै कृषिभूमि बाँझै हुनुको कारण सोध्यो भने अधिकांशबाट आउने जवाफ एउटै हुन्छ- वन्यजन्तुले गरिखानै दिएन । एकातिर मानिसले धमाधम गाउँ छाड्दै गएका छन् अर्कोतिर भएकै बस्तीमा पनि खेतिपाती गर्न छाड्ने क्रम बढ्दो छ । बाँदर दिने दुख अहिले खेतबारी बाँझै हुनुको मुख्य कारण मध्येको एक हो ।

खासगरी मध्यपहाडी क्षेत्रका अधिकांश गाउँ बस्तीमा बाँदर, बँदेल र दुम्सीले खेती नास गरेर निकै दुख दिने गरेको छ । निकै दुख गरेर बल्लतल्ल मकै रोपेको फल्न थालेपछि बाँदर र बँदेलले सखाप पारिदिन्छ, के का लागि खेति गर्नु भन्ने भैसक्यो । त्यसैले धेरै खेतबारी बाँझिँदै गएका छन्- पाल्पा ख्याहाका शालिकराम न्यौपानेले भन्नु्भयो । धेरैजसो किसान सामुदायिक वनका उपभोक्ता हुन्छन् । आफूले हुर्काएको वन बढेर हर्लक्क हुँदा उनीहरु खुसी त छन् । तर वन बढ्दै जाँदा वन्यजन्तुले दिने दुखले उनीहरुलाई चिन्ता भने थप्दै गएको छ ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ भन्नुहुन्छ- किसानले खेती नगरे हुने भैसक्यो । वन्यजन्तुले सबै खेती सखाप पार्दा किसानको बिचल्ली नै भएको छ । उहाँको माग छ- कि किसान भोकै मर्नुपर्यो । कि त खेती मास्ने वन्यजन्तु मार्न पाउनुपर्यो । बालीनाली वन्यजन्तुले नष्ट गर्दा उचित राहत र क्षतिपूर्ति नपाउँदा पनि किसानले खेती गर्न छाड्दै गएका हुन् । त्यसको असर समग्र अर्थतन्त्र र उत्पादन प्रणालीमै पर्न थालेको छ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी भन्नुहुन्छ- वन्यजन्तुले खेतीपाती नष्ट गर्दा खेतबारी बाँझै हुने अवस्था आउनु भनेको सम्वृद्दिमै असर पर्नु हो । किसानले उत्पादन नै नगरेपछि कृषिमा आत्मनिर्भर बन्ने र आर्थिक सम्वृद्दिमा जाने लक्ष्य कसरी पुरा हुन सक्छ ?- अध्यक्ष भण्डारीको प्रश्न छ। किसानको बालीनाली नष्ट गर्ने वन्यजन्तु कि सरकारले जिम्मा लिनुपर्ने कि त किसानले मार्न पाउनुपर्ने उहाँको माग छ ।

वन्यजन्तुको सास्ती बढ्दै जाँदा सरकारले खेत बारीमा आउने जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर बाँदरलाई धपाउन, लखेट्न र पक्रन कानुनी रूपमा नै बाटो खुलेको त छ । तर त्यसबारे धेरै किसान अनविज्ञ छन् भने स्थानीय स्तरमा सजिलै मार्न पनि सहज छैन । वन मन्त्रालयले गत माघदेखि रातो बाँदर र बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।

तर पक्रिएको बाँदर वा बँदेललाई सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय वा सो कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने, सम्बन्धित स्थानीय तहको वडा कार्यालयलाई जानकारी दिनुपर्ने, बाँदर वा बँदेल धपाउने, लेखेट्ने वा पक्रने क्रममा मरे सम्बन्धित वडाका एक प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का खडा गरी गाड्नुपर्ने, सम्बन्धित कार्यालयमा जानकारी दिनुपर्ने व्यवस्था छ ।

यस्तै मरेका बाँदर र बँदेलको तथ्यांक सम्बन्धित कार्यालयले प्रत्येक दुई महिनामा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सम्बन्धित प्रदेश मन्त्रालय र प्रदेश वन निर्देशनालयमा दिनुपर्ने, मरेको बादेल तौलका आधारमा पञ्चकीर्ति मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गरेर सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाभित्र व्यापारिक प्रयोजनबाहेकमा उपयोग गर्न सकिने, राष्ट्रिय वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र पक्रन नपाइने जस्ता सर्त पालना गर्न सजिलो भने छन् । यति हुँदा हुँदै पनि राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवमा नरेश सुवेदी भने बाँदर र बँदेल खेतबारीमा आएर बालीनाली नष्ट गरे ठाउँका ठाउँ मार्न सुझाव दिनुहुन्छ । वन्यजन्तुले खेतीबाली नष्ट गर्दा सास्ती भोग्नुपरेको किसानको गुनासोबारे उहाँ भन्नुहुन्छ- खेतबारीमा बाँदर र बँदेल जस्ता वन्यजन्तुले बाली नष्ट गरेर दुख दिए भने ठाउँको ठाउँ मार्नुस् ।

प्रकाशित मिति : 16 जुलाई 2025, बुधवार
प्रतिक्रिया दिनुहोस