
काठमाडौं । मुलुकका आधाभन्दा बढी जनताको जीविकोपार्जनसँग जोडिएर वन, वातावरण र मौलिकता जोगाउने कुनै अभियान नेपालमा छ भने त्यसमध्येको सबैभन्दा प्रभावशाली बनेको छ, सामुदायिक वन अभियान ।
चार दशकभन्दा अघिदेखि समुदायको सक्रियतामा संस्थागत हुँदै अघि बढेको सामुदायिक वन अभियानका बहुआयामिक सवालहरु रहेको र ती सबै संरक्षण, दिगो व्यवस्थापन, आर्थिक सम्वृद्दि, सांस्कृतिक मूल्य मान्यता, परम्परा र सामाजिक विकासका हिसाबले अविछिन्न रुपमा अघि बढेको ठहर गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आयोजना गरेको वार्षिक समीक्षा तथा योजना तर्जुमा छलफल कार्यक्रममा सामुदायिक वनको दिगो व्यवस्थापन र उपभोक्ताको अधिकारसहितको क्षमता विकासको विषयमा गहन छलफल समेत भएको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
दुई दिनसम्म भएको छलफलमा रित्ता पाखा पखेरामा विरुवा रोपेर घना वन बनाएका स्थानीय उपभोक्ताको एकतावद्द स्वयंसेवी कार्यले वनको दिगो व्यवस्थापनमा अतुलनीय योगदान पुगेको, लैङ्गिक समानता र समावेशीकरणसहित नेतृत्व विकासमा अग्रणी भूमिका निर्वाह गरेको तथा देशको आधाभन्दा बढी जनसंख्या आवद्द भएको सामुदायिक वन अभियान सामुदायिक संस्था मात्रै नभएर सामाजिक शक्ति भएको निष्कर्ष निकालिएको छ ।
महासंघका अध्यक्ष भण्डारीले देशको २४ लाखभन्दा धेरै हेक्टर वन क्षेत्रको दिगो व्यवस्थापन हुनु, ३२ लाख घरधुरीका एक करोड ६२ लाख उपभोक्ता सक्रिय रुपमा आवद्द हुनु, विश्वमा सामुदायिक वनको देश भनेर चिनिनु र हजारौं महिलालाई नेतृत्व विकासको मूलधारमा ल्याउनु नेपालको सामुदायिक वनको सबैभन्दा ठूलो सफलता रहेको बताउनुभयो ।
जनसहभागितामा प्राकृतिक श्रोत व्यवस्थापन हुँदा त्यसले वातावरणीय र आर्थिक विकासलाई पनि टेवा पुगेको निष्कर्ष सहभागीहरुले निकालेका छन् । कानुनी रुपमा संगठित संस्थामा देशभरका उपभोक्ता जोडिएर वन श्रोतको व्यवस्थापन गर्दै जानु, आर्थिम सम्वृद्दिको सरकारको लक्ष्यमा सहयोग पुग्नु, समानतामा आधारित वितरण प्रणाली अंगिकार गर्नु, जैविक विविधता संरक्षणमा योगदान दिनु, जस्ता सवल पक्षकै कारण नेपालको सामुदायिक वन सफल र सबल बनेको सहभागीहरुको धारणा थियो ।
फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले भन्नुभयो- सामुदायिक वन अभियान निरन्तर चल्ने प्रकृया भएकोले यो समुदायकै हित र अधिकारका लागि अविछिन्न छ । जैविक विविधता जस्तो निकै अर्थपूर्ण र अनिवार्य पक्षको संरक्षणमा समुदाय र उपभोक्ताले स्वंयसेवाकै रुपमा योगदान दिएका छन् ।
वन श्रोत आर्थिक सम्वृद्दिको आधार बन्दै गएको छ । त्यसैले पनि सामुदायिक वन अभियान सामाजिक संस्था मात्रै होइन, मुलुकको विकास अभियानको साझेदार संरचना नै हो । देशभरका हरेक स्थानीय समुदायले व्यवस्थापन गर्ने भएकोले सामुदायिक वन अभियानका गतिविधिले सिंगो देशको प्रतिनिधित्व गर्ने गर्छ ।
वनको दिगो व्यवस्थापनमा सामुदायिक वनले जति योगदान दिएको छ, त्यति नै महत्वपूर्ण सामुदायिक वनले जन्माएका अभियन्ता र नेतृत्व विकास हो । फेकोफनकी महासचिव पार्वता गौतमले मुलुकको महिला नेतृत्व विकासमा सामुदायिक वनको भूमिका कहिल्यै कसैले भुल्न नसक्ने बताउनुभयो । प्राकृतिक श्रोतको व्यवस्थापन र समावेशी अभ्यास सामुदायिक वनको महत्वपूर्ण र सर्वस्वीकार्य सबल पक्ष हो- महासचिव गौतमले भन्नुभयो ।
३३ प्रतिशत वन क्षेत्र व्यवस्थापन गर्दा एक करोड ६२ लाख उपभोक्ता लाभान्वित हुनुले आर्थिक क्षेत्रमा पनि सामुदायिक वनबाट निकै ठूलो उपलब्धि भएको देखिन्छ । महासंघकी कोषाध्यक्ष शान्ता न्यौपाने भन्नुहुन्छ- देख्दा काठ मुख्य देखिए पनि सामुदायिक वनले स्थानीय समुदायको जीवनयापनमा हातेमालोकै काम गरेको छ । घाँसपात, दाउँरादेखि पानीको श्रोतका रुपमा पनि सामुदायिक वन समुदायका लागि जीवन वरदान बनेको छ ।
त्यसो त सामुदायिक वन जलवायु परिवर्तनको असर कम गर्दै हरित अर्थतन्त्र निर्माणको सहयोगी पनि बन्दै गएको छ । सामुदायिक वनका उपभोक्ताले संरक्षण गरेको हराभरा वनले कार्वन व्यापार मार्फत मुलुकमा डलर भित्र्याउँदै छन् । त्यसको श्रेय तिनै समुदायलाई जान्छ ।
अवसरका रुपमा सामुदायिक वन
आर्थिक सम्वृद्दि र जीविकोपार्जनको अवसरलाई अघि बढाउँदै सामुदायिक वनबाट पर्यापर्यटन विकास, उद्यमसँगै रोजगारी, क्षमता विकासमा युवा सहभागिता, अन्तर्राष्ट्रिय चिनारी, विकासमा साझेदारी जस्ता कैयौं गतिविधिलाई सामुदायिक वनको अवसरका रुपमा लिन सकिने सरोकारवालाहरुको ठम्याइ छ । कानुनविद् तथा फेकोफनका कानुनी सल्लाहकार दिलराज खनालका अनुसार- सामुदायिक वनका उपभोक्ता र पदाधिकारीहरुको एकतावद्द प्रयास र सामाजिक सेवा भावकै कारण नेपालमा सामुदायिक वन अभियान निकै सफल बनेको छ ।
त्यसमा सहमत हुनुहुन्छ वन विज्ञ डाक्टर सिता अर्याल पनि । उहाँ भन्नुहुन्छ- परम्परागत रुपमा वन श्रोतको उपयोग गर्ने उपभोक्ताले आफ्नै अग्रसरतामा वनको दिगो व्यवस्थापनलाई अघि बढाएका मात्रै छैनन्, आगलागी र चोरी तस्करी जस्ता गतिविधिका कारण वन विनास हुनबाट पनि जोगाएका छन् । त्यसैले सामुदायिक वन अभियान नेपालको विविधतामा एकताको अभियान पनि बनेको छ ।
चुनौति र अब गर्नुपर्ने काम
विश्वव्यापी रुपमा वाहवाही पाएको नेपालको सामुदायिक वन अभियान चुनौतिरहित भने छैन । त्यसो त एउटा जीवन्त अभियान कुनै पनि चुनौति विनाको हुँदैन । सुरुमा नाङ्गा पाखा पखेरा संरक्षण गर्न थाल्दा सघाएको सरकारले अहिले घना वन बनेपछि उपभोक्तालाई आवश्यकताका आधारमा उपयोग गर्न र दिगो वन व्यवस्थापनमा सहज काम गर्न दिन कन्जुस्याईँ गर्न थालेको छ । जसका कारण श्रोत परिचालनमा समस्या देखिने गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिकास्थित चापाको वन सामुदायिक वनका अध्यक्ष भुवन गिरी भन्नुहुन्छ- जीवनको अधिकांश समय दिएर व्यवस्थापन गरेको वनको श्रोत सही परिचालन गर्न पनि उपभोक्तालाई सहज छैन । यो विषयमा अब गम्भीर छलफल र समाधानको उपाय खोजीको बहस हुनुपर्छ ।