
काठमाडौं । सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वन व्यवस्थापन र वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै काठमाडौंको थानकोटमा रहेको लगलगेपाखा सामुदायिक वन उपभोक्ता समूहलाई नगदसहित सम्मान गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष ठाकुर भण्डारीले वन व्यवस्थापन र वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै सम्मान स्वरुप एक लाख नगद आर्थिक सहयोग पनि प्रदान गरिएको जानकारी दिनुभयो ।
महासंघका संस्थापक अध्यक्ष हरि न्यौपानेले उपभोक्ता समूहलाई प्रदान गरिएको सहयोग रकमको भौचर केन्द्रीय सदस्य तथा लगलगेपाखा उपभोक्ता समूहका अध्यक्ष रामशरण आले हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा महासंघका महासचिव पार्वता गौतम, सचिव डिल्ली गिरी लगायतको उपस्थिति थियो । केन्द्रले दिएको रकम प्राप्त गरेपछि समूहका अध्यक्ष आलेले केन्द्रको सहयोग प्रति धन्यवादसहित आभार व्यक्त गर्दै वन व्यवस्थापन र उपभोक्ताको हितमा उपयोग गर्ने बताउनुभयो ।
महासंघले वन दिवसको अवसरमा लगलगेपाखा सामुदायिक वनमा वृक्षरोपण समेत गरेको छ । त्यस अवसरमा महासंघका अध्यक्ष भण्डारीले वन ऐन २०७६ आएपछि वन र कृषिलाई उत्पादन तथा उद्यमसँग जोड्ने गरी वृक्षरोपणको शैली पनि फेरिएको बताउनुभयो । फलफुल र घाँस प्रजातिकासहित काठ उत्पादनलाई लक्षित गर्दै स्थानीय स्तरमै उत्पादित विरुवालाई रोप्ने गरिएको उहाँले बताउनुभयो ।