सामुदायिक वन डेटा पोर्टल तालिम सम्पन्न

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, ग्रीन फाउण्डेसन नेपाल र सिप्रेडको आयोजनामा “समुदायिक वन डेटा पोर्टल तालिम” दाङमा सम्पन्न भएको छ ।

फेकोफनले सामुदायिक वनका श्रोत र तीसँग जोडिएका उपभोक्ताहरुको यथार्थ अवस्थासहितको यकिन तथ्यांक विवरण प्रस्तुत गर्ने लक्ष्यसहित डेटा पोर्टल तयार गरिरहेको छ । वन समूहसँग कसरी तथ्याङ्क संकलन र नक्साङ्कन भयो र सामुदायिक वन उपभोक्ता समुहहरुको डेटा पोर्टलमा के के समेटिएको छ भन्ने बारेमा तालिममा जानकारी लिने दिने गरिएको थियो ।

सामुदायिक वनका उपभोक्ताहरुको जनसांख्यिक विवरण, वनको मौज्दात काठ र गैर काष्ठजन्य साधनश्रोतको उपलब्धता, वन विकासका लागि सञ्चालित कार्यक्रम, ती कार्यक्रमले रोजगारी श्रृजनामा पारेको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव, वनमा आधारित उद्योगको संख्या, वन्यजन्तु र वनस्पतिको उपलब्धताका लगायतका विषयका तथ्याङ्क संकलन गरिएको छ ।

त्यस्तै, मानव–वन्यजन्तु द्वन्द्व, लैङ्गिक हिंसा विरुद्धका उपसमिति, लैङ्गिक समानता र समाजिक समावेशीकरण, अधिकार, सुशासान, सहभागितामुलक नक्सा, स्थानीय कानून र प्रथाजन्य अभ्यासका बारेमा जानकारी समेटिएका छन् ।

साउन २६ गतेदेखि २७ गतेसम्म दाङको तुलसीपुरमा भएको दुई दिने तालिममा क्लस्टर परियोजनाका संयोजकहरू सहभागी थिए । उद्घाटन सत्रमा ग्रीन फाउण्डेन नेपालका अध्यक्ष घनश्याम पाण्डेले तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तालिममा सिप्रेडकी प्रलेखन अधिकृत राजकुमारी दूराले “Traditional Knowledge and Customary Practices” विषयमा प्रस्तुति दिनुभएको थियो ।

यस्तै सामुदायिक वन उपभोक्ता महासंघका डेटा तथा अनुगमन प्रबन्धक सुजन खनालले CF Portal’s Data Management विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

फेकोफनका प्रशासक तथा आईटी संयोजक सन्देश चौधरीले Community Forest Data Portal Management सम्बन्धी सत्र सञ्चालन गर्नुभयो । कार्यक्रमको सञ्चालन अर्बिन पौडेलले गर्नुभएको थियो भने समग्र तालिम व्यवस्थापन सुरेश कुमार रावतले सम्हाल्नुभएको थियो ।

प्रकाशित मिति : 13 अगस्ट 2025, बुधवार
प्रतिक्रिया दिनुहोस