
काठमाडौं। सामुदायिक वनले गरेको योगदानलाई जैविक विविधताबारे अब बन्ने रणनीतिमा अवधारणाकै रुपमा अघि बढाउने गरी मान्यता दिनुपर्ने सुझाव सरोकारवाहरुले दिएका छन् ।
मधेश प्रदेशको बर्दिवासमा आयोजित जैविक विविधता रणनीतिबारेको छलफलमा सरोकारवालाहरुले जैविक विविधता संरक्षणमा सामुदायिक वन र उपभोक्ताहरुले गरेको योगदानको उच्च मुल्यांकन हुनुपर्ने बताएका हुन् ।
अन्तर्कर्यामा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले जैविक विविधता संरक्षणमा सामुदायिक वनले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो ।
देशभरका सामुदायिक वनहरु जैविक विविधता संरक्षणका केन्द्र भएको बताउँदै उहाँले वन क्षेत्रको संरक्षणसँगै सरसफाइदेखि आगलागी नियन्त्रण र पोखरी निर्माण जस्ता कामले जैविक विविधता संरक्षणमा निकै ठूलो सहयोग पुगेको पनि बताउनुभयो ।
समुदाय, वन र प्राकृतिक श्रोतका क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले जैविक विविधता संरक्षणमा राज्य गम्भीर भएर लाग्नुपर्ने भन्दै सामुदायिक वनहरु प्रकृति, संस्कृति, परम्परा र सहअस्तित्वका केन्द्र भएको बताउनुभएको थियो ।
सामुदायिक वनले गरेको वृक्षरोपण, आगलागी नियन्त्रण, पानीका मुहान संरक्षणदेखि जनावारको वासस्थान संरक्षण लगायतका काममा भएको योगदानले जैविक विविधता संरक्षणमा निकै ठूलो भूमिका खेलेको वक्ताहरुको भनाइ थियो । कार्यक्रममा युएनडीपीका विजेन्द्र बस्नेतले सहजीकरण गर्नुभएको थियो ।
त्यस अवसरमा फेकोफनका महासचिव पार्वता गौतम, उपमहासचिव भरत बहादुर घले, सचिवालय सदस्यहरु विष्णुलाल साह, असरादेवी चौधरी तथा संघीय कार्यसमिति सदस्यहरु मधेश प्रदेश अध्यक्ष सोम शर्मा लगायत र कोशी, बागमती तथा मधेश प्रदेशका १५ जिल्ला अध्यक्षहरु तथा अन्य संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुले पनि बोल्नुभएको थियो । यसैगरी युएनडीपी अन्तर्गतको वायोफिन कार्यक्रमले गरेको अध्ययन प्रतिवेदनबारे पनि छलफल गरिएको थियो ।