
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले २३ हजारभन्दा बढी सामुदायिक वनका डेढ करोडभन्दा धेरै उपभोक्ताको श्रम र पसिनाकै कारण नेपाल विश्वमा सामुदायिक वनको देश भनेर चिनिन सफल भएको बताउनुभएको छ ।
उदयपुर सदरमुकाम गाईघाटमा आयोजित वन पुनःस्थापनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सामुदायिक वन उपभोक्ताहरुको योगदानकै कारण देशमा वन विनाश रोकिएको बताउनुभयो ।
महासंघको निरन्तरको प्रयासपछि वन ऐन २०७६ मा सामुदायिक वनमा पर्यापर्यटन र उद्यम विकास तथा कृषि वनको विकास भएको बताउँदै उहाँले महिला, दलित र विपन्न वर्गको नेतृत्व विकासमा समेत सामुदायिक वन समूहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
अध्यक्ष भण्डारीले वन समूहमा पदाधिकारीमध्ये एक जना महिला अनिवार्य गरिएको कारण संघदेखि प्रदेश र स्थानीय तहमा महिलाहरू नेतृत्वमा आउन सफल भएको समेत उल्लेख गर्नुभयो ।
नेपालको सामुदायिक वन कार्यक्रम कुनै विज्ञले ल्याएको नभई यहाँको धर्म, संस्कृति र परम्पराको उपज भएको अध्यक्ष भण्डारीको भनाइ छ ।
सामुदायिक वन समूहको प्रयासले वन क्षेत्रफल विस्तार भएको बताउँदै उहाँले सरकारले वन समूहलाई धन्यवाद दिनुको साटो उल्टै कर लगाउने कार्य गरेकोमा भने आपत्ति जनाउनुभयो ।
जिल्ला महासंघका अध्यक्ष कुशलबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त डिभिजन वन अधिकृत रामभगत यादवले सामुदायिक वन महासंघसँग सहकार्यमा हालसम्म कार्य भएको र आगामी दिनमा पनि यो सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता समूह महासंघ, फोरेष्ट एक्सन नेपाल र फोरेष्टरर्स एसोसिएसन नेपालको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरको व्यवस्थापनमा कार्यक्रम भएको हो । उदयपुरमा ४०० भन्दा बढी सामुदायिक वन समूह दर्ता रहेका छन् ।