
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले संवैधानिक सर्वोच्चतालाई स्वीकार गर्दै जनताको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै फेकोफनले लोकतान्त्रिक पद्दती अनुसार संविधानको सर्वोच्चतालाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष ठाकुर भण्डारीले लोकतन्त्र र संविधान बमोजिम अघि बढ्न र प्राकृतिक श्रोतको दिगो व्यवस्थापनका लागि समुदायको अधिकारलाई सुनिश्चित गर्न पनि आग्रह गर्नुभएको छ।
संविधान दिवसको अवसरमा फेकोफनले देशको विषम परिस्थितिको मौका छोपेर प्राकृतिक श्रोत वन क्षेत्रमा विभिन्न खाले वन फडानी र चोरी निकासी तथा वन क्षेत्र अतिक्रमण जस्ता घटनाहरु हुन थालेका समाचारहरु आइरहेकोमा चिन्ता व्यक्त गर्दै वन पैदावार फडानी, चोरी निकासी तथा अतिक्रमण गर्नेहरुबाट जोगाउन देशभर रहेका सामुदायिक वन उपभोक्ता समुहरुलाई अपिल गरेको छ ।
फेकोफनले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रका माध्यमद्वारा सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुने प्रेरणा मिलोस् भनेको छ ।
संविधानले सामाजिक न्याय र समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख स्मरण गर्दै फेकोफनले प्रकृति र संस्कृतिलाई समुन्नत राष्ट्र निर्माणको आधार बनाउन सकिने पनि जनाएको छ ।