
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल राष्ट्रिय सचिवालयको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत वनमा आधारित उद्यमको बजार विश्लेषण तथा विकास तालिम नवलपुरमा सञ्चालन भएको छ ।
नवलपुर जिल्लाको अमलटारीमा असोज २७ गतेदेखि सुरु भएको तालिममा ३१ गतेसम्म विषयविज्ञ र उद्यमीहरुले आआफ्ना योजना तथा रणनीतिबारे छलफल गर्नुहुनेछ ।
संघीय महासंघका अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा सुरु भएको तालिममा विभिन्न जिल्लामा उद्यम गरिरहनुभएका उद्यमीहरु, संघीय महासंघका सचिवालय तथा संघीय कार्यसमिति सदस्यहरुको सहभागिता रहेको छ ।
३५ जना उद्यमी सहभागी तालिम कार्यक्रमको सहजीकरण प्रशिक्षकद्वय राजन के.सी. र गोकुल प्याकुरेलले गर्नुभएको छ ।
तालिम शुभारम्भका अवसरमा महासंघका अध्यक्ष ठाकुर भण्डारीले परम्परागत काष्ठ र गैर काष्ठ व्यवसायसँगै पर्यापर्टन, पानी, कृषि वन जस्ता नयाँ र सम्भावित उद्यमले समुदायको आर्थिक सम्वृद्दि र वनको दिगो व्यवस्थापनमा सहयोग पुगिरहेको बताउनुभयो ।
उहाँले जडीबुटी, गैरकाष्ठ, माछापालन, हस्तकला लगायतका उद्यम सञ्चालन गरेर उपभोक्ता समूह र स्थानीयले देशकै आर्थिक विकासमा टेवा पुर्याएको पनि बताउनुभयो । तालिमले उद्यम तथा व्यवसायिक योजना बनाउन थप सहयोग पुग्ने छ । आयआर्जन र बजारसँग कसरी जोडने भन्ने रणनीति बनाउनु तालिमको मुख्य उद्देश्य हो ।
देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन मार्फत समुदायमा आधारित विभिन्न वन उद्यमले रोजगार प्रवद्र्धन गरी गरिबी न्यूनिकरणमा सहयोग पुर्याएको छ ।
आर्थिक विकासको लागि सामुदायिक वनमा आधारित उद्यमको भूमिका प्रभावकारी पनि देखिएको छ । उद्यमीहरुले पनि कृषि र वनमा आधारित उद्यमले समुदायमा महत्वपूर्ण योगदान पुगेको भन्दै उद्यम सञ्चालन गर्ने क्षमताको विकास गरी प्रविधि र बजारको विकासमा सहयोगको अपेक्षा गरेका छन् ।
उत्पादित सामाग्रीको बजारीकरणको लागि प्रचारप्रसार र प्रविधिगत ब्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।
नेपालको वन क्षेत्रबाट जैविक इन्धन, पर्यापर्यटन, कृषि वन, पानी, काष्ठ तथा गैरकाष्ठ जस्ता क्षेत्रमा सञ्चालित उद्यमबाट लाखौं रोजगारी श्रृजना गर्न सकिने सम्भावना छ ।
उद्यम सञ्चालनका लागि भने नीतिगत र प्रशासनिक झञ्झट रहेको सामुदायिक वनका अगुवा र सरोकारवालाहरुको गुनासो छ ।
वनमा आधारित उद्यमलाई ब्यवस्थित बनाउन नीजि क्षेत्र र संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले समन्वय र सहकार्यसहित सहजीकरण गरिदिनुपर्ने आवश्यकता उद्यमीहरुले औल्याउने गरेका छन ।
वन क्षेत्रको ब्यवस्थापन र उद्यम सञ्चालनका लागि उपभोक्ता समुहहरुलाई वन ब्यवस्थापनको पूर्ण जिम्मेवारी दिनुपर्ने आवाज पनि उठ्दै आएको छ ।