काठमाडौं । जलवायु परिवर्तनको असर बढ्दै जाँदा वन क्षेत्र र आसपासका सिमसारहरुमा पानीको सतह घट्न थालेको छ । जसका कारण मानव बस्तीमा मात्रै हैन, वन्यजन्तुलाई समेत पानीको अभाव देखिन थालेपछि सामुदायिक वनहरुमा पोखरी निर्माणदेखि सोलारबाट बोरिङ गाडेर पानी तान्ने जस्ता काम गरिरहेका छन् ।
त्यसको एउटा उदाहरण हो, पूर्वी नवलपरासीको नमूना मध्यवर्ती सामुदायिक वन । सिमसार क्षेत्रमा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई पिउने पानीको अभाव हटाउन नमूना मध्यवर्ती सामुदायिक वनले सोलार जडान गरेर पानी तानेको हो ।
पशुपंक्षी र वन्यजन्तुको आहालका लागि कावासोती नगरपालिका-१३, मा नमूना मध्यवर्ती सामुदायिक वनले बोरिङ्ग गाडेर पानीको व्यवस्थापन गरेको अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।
केही वर्ष अगाडिसम्म सुक्खा मौसममा पनि पानी प्रशस्त हुने आहालमा हिउँदमा पानी सुक्न थालेपछि वनभित्र सौर्य ऊर्जाबाट चल्ने बोरिङ्ग गाडेर वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । सौर्य ऊर्जाबाट स्वचालित रुपमा यहाँको बोरिङ्ग घाम लागेको समयमा आफैं सञ्चालन हुने गर्छ भने रातको समयमा बन्द हुने गर्दछ ।
अध्यक्ष गुरुङले भन्नुभयो- अहिले त घोलहरुमा पानी छ, तर गर्मीमा सुकेर कतै त कमिला हिड्ने हुन्छ । त्यसैले पानीको अभाव भएर वन्यजन्तुले बासस्थान फेर्ने, बस्ती तर्फका खोलाहरूमा निस्कने गर्न थालेपछि बोरिङ गाडेर पानीको व्यवस्था गरेका हौं । उहाँले पानी खोज्दै वन्यजन्तु बस्तीतर्फ जाँदा मानव र वन्यजन्तुबीच द्धन्द निम्तिने भएकाले यसलाई घटाउन समेत सामुदायिक वनले पानीको जोहो गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान घाम लागेपछि आफैँ बोरिङले पानी फाल्न सुरु गर्छ भने साँझ घाम डुबेपछि बिस्तारै आफै बन्द हुन्छ । सन्चुरी घोल क्षेत्रमा सौर्य ऊर्जाबाट पानीको प्रबन्ध गरिएको र पानी निकाल्नका लागि एक सय ४२ फिट गहिराइको बोरिङ गाडिएको उहाँले बताउनुभयो ।
गतवर्ष बुद्धढाप घोलमा पानी सुकेपछि भाडामा जेनरेटर ल्याएर करिब ८० हजार खर्च गरेर पानीको व्यवस्था गरेको बताउँदै उहाँले त्यो खर्चिलो भएकव र पानीको मात्रा नपुगेपछि यो वर्ष हिमालय नेचर संस्थाको सहयोगमा करिव ८ लाखको लागतमा सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
वन क्षेत्र भित्र रहेका सिमसार क्षेत्रहरूमा पानी कम हुँदै जान थालेपछि आगामी वर्षमा समेत अन्य स्थानमा समेत स्वचालित बोरिङ गाड्ने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
नमूना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको बासस्थान भएको वनका रुपमा समेत हो । वन क्षेत्र भित्र एक सय ७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ । वन क्षेत्र भित्र गैंडा, मृग,हरिण , बदेँल ,बाघ, भालु लगायतका वन्यजन्तु रहेका नमूना मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष यादव प्रसाद चौधरीले जानकारी दिनुभयो ।



