काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, ग्रीन फाउण्डेसन नेपाल र सिप्रेडको आयोजनामा “सामुदायिक वन डेटा पोर्टल तालिम” बाग्लुङमा सम्पन्न भएको छ ।
बाग्लुङको उपल्लाचौरमा आयोजना गरिएको प्रशिक्षणमा सामुदायिक वनका श्रोत र त्यससँग जोडिएका उपभोक्ताहरुको वास्तविक अवस्थासहितको यकिन तथ्यांक विवरणबारे छलफल पनि भएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सचिव डिल्ली गिरीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । सचिव गिरीले डाटा पोर्टलमार्फत डिजिटल वन व्यवस्थापन प्रणाली सम्बन्धी आवश्यक सीप तथा व्यवहारिक ज्ञान हासिल गर्दा वनको समग्र अवस्थालाई वैज्ञानिक रुपमा समेट्न सकिने बताउनुभयो ।
कार्यक्रममा वन समूहमा तथ्याङ्क संकलन र नक्साङ्कन कसरी गर्ने र सामुदायिक वन उपभोक्ता समुहहरुको डेटा पोर्टलमा के के समेट्ने गरिएको छ भन्ने लगायतका विषयमा जानकारी पनि गराइएको थियो ।
कार्यक्रममा बाग्लुङ जिल्लाको काठेखोला गाँउपालिका र म्याग्दीको मालिका गाँउपालिकाका आईटी अधिकृत, तथा वन तथा वातावरण अधिकृत र फेकोफन जिल्ला महासंघका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता थियो ।
प्रशिक्षण सत्रमा पोर्टल प्रयोग, वन डाटा व्यवस्थापन, तथा लाइभ डाटा एन्ट्री सम्बन्धी व्यवहारिक अभ्याससमेत समावेश गरिएको थियो।


