फुर्केटारी सामुदायिक वन- मिनरल वाटर उद्योगदेखि टनेल खेतीले ल्याउँदैछ उपभोक्तामा आर्थिक सम्वृद्दि

काठमाडौं । ʻफुर्केटारी सामुदायिक वनको लक्ष्य यहाँका सबै उपभोक्तालाई आर्थिक रुपमा सम्वृद् बनाउने हो । त्यसैले हामीहरु छिट्टै अर्को नयाँ योजनाको तयारी गर्दैछौंʼ कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वनका अध्यक्ष उमानाथ त्रिपाठीले मंसिर ६ गते मध्यान्ह हाम्रोवनडटकम सँग कुरा गरिरहँदा समूहले नयाँ उद्यमका लागि नयाँ सोंचसहित साधारणसभाको छलफल थालेको जानकारी दिनुभयो ।

मिनरल वाटर उद्योगको सफलताले चौतर्फी वाहवाही पाएको फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहका अरु पदाधिकारी र सदस्यसहितका उपभोक्ताहरु पनि आर्थिक उपलव्धि हात पार्ने नयाँ काम के गर्ने भन्ने योजनाको तयारीमा छन् यतिखेर ।

स्थानीय समुदायको सक्रियता, केही गर्ने अठोट र श्रोतको सदुपयोग गर्ने उपाय भयो भने सामुदायिक वनले आयआर्जन र उपभोक्ताहरुको सम्वृद्धिमा के कस्तो परिवर्तन गर्छ भन्ने उदाहरण बनेको फुर्केटारी सामुदायिक वन स्थानीयका लागि वरदान नै सावित भएको छ । 

२८ हेक्टर क्षेत्रफलमा फैलिएको फुर्केटारी सामुदायिक वन २०४८ सालमा समुदायलाई हस्तान्तरण गरिएको हो । वनमा ५९ घरधुरीका उपभोक्ता आवद्ध छन् । समुदायले वन संरक्षण र सम्वद्र्धनको जिम्मा लिएपछि उपभोक्ता समूहले निरन्तर रुपमा व्यवस्थापन र आयआर्जनका काम गरिरहेका छन् । त्यसैको परिणाम हो, मिनिरल वाटर उद्योग ।

सामुदायिक वनले आर्थिक वर्ष २०७५/७६ मा महभिरखोलाको पानी उपयोग गर्दै मिनरल वाटर उद्योग स्थापना गरेको हो । समूहमा आवद्ध १५ दलित, ५ जनजाति सहित सबै घरधुरी उपभोक्ता यसका शेयर सदस्य छन् । २ करोडको लगानीमा स्थापना गरिएको पानी प्रशोधन उद्योगमा आर्थिक क्षमता अनुसार २५ हजारदेखि ५ लाख रुपैंयासम्म उपभोक्ताले लगानी गरेका छन् ।

‘आआफ्नो क्षमता अनुसार हेरक उपभोक्ताको शेयर राखेर उनीहरुको आर्थिक सम्वृद्धिमा सघाउने लक्ष्यले उद्योग स्थापना गरिएको हो । धेरैजसोको लगानी उठिसकेको छ । राम्रो प्रतिफल प्राप्त भएको छ’–समूहका अध्यक्ष त्रिपाठीले भन्नुभयो । सामुदायिक वनको आफ्नै ब्राण्डको मिनरल वाटर उत्पादन हुन्छ । करिब ४ किलोमिटर टाढा वनको बीचभागमा रहेको महभीरखोलाको मुहानको पानीबाट उद्योग सञ्चालन गरिएको हो । प्रतिघण्टा ३ हजार लिटर उत्पादन क्षमता रहेको उद्योगमा २२ जनाले रोजगारी पाएका छन् । ती मध्ये आधा जनशक्ति सामुदायिक वनकै उपभोक्ता हुन् । उद्योगका आफ्नै २ वटा गाडीले दैनिक ३ सय जार पानी पोखरा बजारमा पु¥याउँछन् । त्यसबाहेक अरु गाडीहरु पनि पानी लिनकै लागि दैनिक रुपमा हेम्जा पुग्छन् । २० लिटर जार र एक लिटरको बोतलमा प्याकिङ गरेर पानी बजार पठाउँछ समूहले ।

मुहान शुद्ध, सफा र पानी स्वादिलो भएकोले यहाँको पानीको माग धेरै छ । गण्डकी प्रदेशका धेरैजसो मन्त्रालयमा यहीँकै पानी प्रयोग हुने गरेको छ । वैज्ञानिक रुपमा पनि पहराबाट रसाएर आएको र उत्तरतर्फ फर्केको मुलको पानी सबैभन्दा राम्रो मानिन्छ । ती दुबै गुण भएकोले प्रयोगशालाबाट गुणस्तर जाँच गरी यहाँको पानी एकदमै राम्रो पाईएको छ ।

अध्यक्ष त्रिपाठीका अनुसार यहाँको मिनरल वाटर युरोप पठाउने छलफल पनि भैरहेको छ । तर त्यसको टुङ्गो भने लागिसकेको छैन । मूहकी सचिव रमा त्रिपाठीका अनुसार ‘उच्च गुणस्तरको भएकोले पानी विदेश पठाउने गरी वन मन्त्रालयसँग पनि कुराकानी भएको हो ।’

पानी उद्योगबाट मनग्गे आम्दानी गर्ने लक्ष्यसहित समूहले बजारीकरणको काम पनि गरिरहेको छ । मुलको पानी शुद्ध भएको र पोखरा ठूलो बजार भएकोले उत्पादन गरेर पु¥याउन सके बिक्रीका लागि कुनै समस्या छैन् । दुईवटा गाडीलाई दिनभर मिनरल वाटर बिक्री गर्न भ्याईनभ्याई हुन्छ ।

यहाँ उत्पादित पानी बाग्लुङ र पर्वत तथा बेनीसहित आसपासका क्षेत्र र मुस्ताङसम्म पुर्‍याइएको छ। व्यापारीहरू मुस्ताङ जाने गाडी हेम्जामा रोकेर यहींको पानी किनेर लैजाने गरेका छन्

समूहले गर्मी महिनामा पानीको माग धान्न सक्दैन। उद्योगबाट प्रतिमहिना २० हजार बोतल मिनरल वाटर उत्पादन हुन्छ। क्षमता चाहीँ प्रति घण्टा तीन हजार लिटर उत्पादनको छ । उद्योगले लगानीकर्तालाई मुनाफा वितरण गरिरहेको छ।

सामुदायिक वनका पाँचवटा व्लक मध्ये पानीको मुहान भएको ब्लकको वन संरक्षण र मुहानको रेखदेख तथा तारबारमा विशेष ध्यान दिने गरिएको छ । त्यहाँको कुनै पनि काठ दाउरा काटिँदैन् । बरु पानी उद्योग स्थापना गर्नुअघि त्यहाँ एक महिनासम्म उपभोक्ताले श्रमदान गरेर बाटो लगेका थिए र त्यो पानी सिंचाईका लागि तथा घर–घरमा खान ल्याइएको थियो । एक घर एक धारा जडान गर्नाले हरेक घरधुरी उपभोक्तालाई अहिलेपनि खानेपानीको कुनै समस्या छैन् ।

त्यसबाहेक सामुदायिक वनको सहयोगमा आयआर्जन बढाउने गरि विपन्न ३१ घरधुरी उपभोक्तालाई निःशुल्क प्लाष्टिक टनेल वितरण गरिएको थियो । उनीहरुले मौसमी तथा बेमौसमी तरकारी खेती गरेर राम्रो आम्दानी गरका छन् । सचिव त्रिपाठीका अनुसार टनेल तथा प्लाष्टिक घरमा तरकारी खेती गरेर डेढमहिनामा एक घरले पचास हजार रुपैंयासम्म कमाए । त्यही कमाईबाट पछि पानी उद्योगमा शेयर लगानी गरेका हुन् । यो गरिबी न्यूनीकरणको नमुनायोग्य उदाहरण हो ।

त्यसबाहेक समुहले डेढलाख रुपैंयाको घुम्तीकोष पनि परिचालन गर्दै आएको छ । विपन्न परिवारलाई त्यो रकमले थप मद्धत पुगेको छ । कोषको रकमबाट बाख्रा, कुखुरा पालेर उपभोक्ताहरुले अतिरिक्त कमाई गर्दै आएका छन् । उपभोक्ता समुहका अध्यक्षका अनुसार सामुदायिक वनले गाउँको गरिबी हटाउन धेरै ठूलो मद्धत गरेको छ । वनश्रोतको सही परिचालनबाट उपभोक्ताहरुको जीविकामा कति धेरै परिर्वतन आउँछ भन्ने नमुना हो फुर्केटारी सामुदायिक वन ।

२०७७ वैशाखमा पानी उद्योग सञ्चालन भएपछि मुलको पानी जारमा प्रयोग गर्दा सिंचाईमा असर नपरोस् भनेर समूहले अलग्गै बोरिङ्ग समेत गाडेर पानी निकाल्दै उपयोग गर्दै आएको छ । प्रतिसेकेण्ड १३ लिटर पानी आउने चार इन्चको डिप बोरिङ्गबाट निकालिएको पानीले १६६ रोपनी जमिनलाई सिंचाई सुविधा पुगेको छ । यसले दोहोरो फाईदा भएको छ । एकातिर आफूले जोगाएको वनको मुहानको पानी विदेश जाँदैछ र त्यसबाट राम्रो आम्दानी हुनेछ भने अर्कोतिर तरकारी लगायतका अन्य नियमित खेतीपातीमा सिंचाईका लागि पानीको अभाव पनि हुन पाएको छैन् ।

सामुदायिक वन उपभोक्ता समूहले संरक्षणमा पनि उत्तिकै ध्यान दिएकोले यहाँको वन कास्कीकै अब्बल मध्येको एक मानिन्छ । समूहले नेतृत्व विकास, वक्तृत्वकला लगायतका क्षमता विकास र सामुदायिक वन अधिकारका बारेमा तालिमहरु पनि चलाउँदै आएको छ । हेम्जास्थित सुँईखेत खोलामा पुल स्तरोन्नती गर्ने, विद्यालयमा विपन्न विद्यार्थीलाई पोशाक तथा छात्रवृत्ति दिने जस्ता सामाजिक सेवा तथा सहयोगका कामहरुमा लगानीका कार्यहरु भैरहेका अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो । वन संरक्षण, व्यवस्थापन, आयआर्जन, उद्यमशिलता, रोजगारी लगायतका काममा नमुना बनेकै कारण फुर्केटारी सामुदायिक वनले गणेशमान सिंह राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ

सञ्चालनमा आएको फुर्केटारी एक्युफेयर पानी उद्योगको जापानको नागोया विश्वविद्यालयको एक टोलीले अवलोकन पनि गरेको थियो । वन उद्यममा लगानी गरेका उपभोक्ताको आर्थिक हैसियत पनि फेरिएको समूहका सल्लाहकार मित्रलाल त्रिपाठीले बताउनुभयो ।

त्यहाँको मिनरल वाटर उद्योग र उपभोक्ताहरुको प्रगति हेर्न अरु सामुदायिक वनहरु र उद्यम तथा स्थानीय पर्यटकहरु पनि जाने गरेका छन् । उपभोक्ताको आर्थिक सुधारमा काम गरिरहेको फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहलाई फेकोफन केन्द्रले पनि सहयोग गर्दै आएको छ । फुर्केटारीको काम र सक्रियता तथा प्रगति अरुका लागि पनि उदाहरणीय छ – सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव पार्वता गौतमले भन्नुभयो ।

 

 

 

प्रकाशित मिति : 22 नोभेम्बर 2025, शनिवार
प्रतिक्रिया दिनुहोस