आगलागी नियन्त्रण र समुदायको अग्रसरताबारे अष्ट्रेलियाबाट धेरै सिक्न सकिन्छ

आगलागी नियन्त्रण र विदेशको अभ्यास अवलोकन गर्ने र केही सिक्ने उद्देश्यले गत महिना अष्ट्रेलिया जाने मौका मिल्यो । वन जंगलमा हुने आगलागी नियन्त्रण र व्यवस्थापन कसरी हुँदो रहेछ ? क्षतिको अवस्था के कस्तो रहेछ ? नेपालमा हामीले अपनाएको अभ्यास कस्तो छ ? लगायतका विषयमा अध्ययन र अवलोकन गर्न अवसर थियो त्यो । त्यो एक महिने अध्ययनका क्रममा धेरै कुरा सिक्न पाइयो । निकै उपलव्धिमुलक भयो अष्ट्रेलियाको अवलोकन तथा अध्ययन भ्रमण ।

त्यहाँको सबैभन्दा राम्रो पक्ष भनेको आगलागी हुन नदिन अपनाइने सचेतना र भैहालेमा नियन्त्रण कसरी गर्ने भन्ने तयारी निकै राम्रो हुँदो रहेछ । अष्ट्रेलियामा काउन्टी तहमै आगो निभाउन सक्ने गरी प्रविधि र जनशक्तिको व्यवस्था गरिएको रहेछ । त्यो पनि निकै व्यवस्थित रुपमा । स्थानीयहरु धेरैजसोले स्वयंसेवी भावनाबाट काम गर्दा रहेछन् । जागिरबाट सेवानिवृत भएकाहरु, विदामा बसेकाहरु लगायतले स्वतस्फूर्त रुपमा स्वयंसेवा गर्न तयार हुने सोचले सामुहिक भावनाको विकास गरेको देखियो । युवा, विद्यार्थी, महिला, वृद्दवृद्दाहरुले पनि सामाजिक सचेतना जगाउने गर्दा रहेछन् ।

आगोबाट कसरी बच्ने, निभाउन जाँदा के कस्ता सावधानी अपनाउने, अरुलाई कसरी सिकाउने जस्ता विषयमा ध्यान दिइने रहेछ । त्यसका लागि लिडर तोकिँदो रहेछ । अचम्म त के लाग्यो भने, आगलागीको कारक मानिएकोले अष्ट्रेलियामा चुरोट किन्न सजिलो रहेनछ । लुकेर किन्नुपर्ने रहेछ । वन क्षेत्रमा आगो लाग्दा सरकारी निकायको मुख ताकेर बस्ने चलन रहेनछ । स्वतस्फूर्त जाने चलन रहेछ । अष्ट्रेलियामा बुस फायर व्यवस्थापनबारे स्कूलमा पनि पढाइ हुने रहेछ । आगो निभाउने सामानहरुको गाडीहरु तथा हेलोकोप्टर र प्लेन पनि उपकरणसहित तम्यार पारेर राखिने रहेछ ।

नेपालमा भौगोलिक अवस्थाले वन जंगलमा आगलागी हुँदा निभाउन निकै गाह्रो हुन्छ । अरु क्षेत्र र निकायले सरकारी निकायको मुख ताक्ने र माथिको आदेश पर्खने चलन छ । सामुदायिक वनका उपभोक्ताहरुले भने आफूहरुसँग उपकरण र श्रोतसाधन नहुँदा पनि दिलोज्यान लगाएर नियन्त्रणको प्रयास गर्छन् । परम्परागत अभ्यासबाटै आगो निभाउने अग्रसरता लिन्छन् । अष्ट्रेलियामा चाहीँ आगो निभाउन जानुअघि निकै सावधानी अपनाइन्छ । मानवीय क्षति हुनै नदिने त्यहाँको पहिलो काम हो । युवाहरुको सक्रियता पनि उस्तै राम्रो । सरकारले मेरो देश, मेरा नागरिक भन्ने मान्यताले काम गर्ने रहेछ । जे काम तत्काल गर्नुपर्छ त्यो गरिहाल्ने । विपद् भैहाल्यो भने बजेट छैन् । यो मिल्दैन, त्यो मिल्दैन भनेर रोक्ने र अलमलिने काम गरिँदैन त्यहाँ ।

यो त आगलागी नियन्त्रणका लागि भएका प्रयास र तयारी तथा सावधानीको विषय भयो । त्यसबाहेक अरु धेरै कुरा पनि अष्ट्रेलिया भ्रमणका बेला जान्न र बुझ्न पाइयो । लैङ्गिक समानता उदाहरणीय छ त्यहाँ । महिला र पुरुषबीच भेदभाव छैन । काम र पारिश्रमिकमा कुनै विभेद देखिएन । आफूले सम्पत्ति कमाएर अरुलाई पनि बाँच्ने वातावरणका लागि सघाउनुपर्छ भन्ने सोच व्यक्ति र सरकार दुवैमा रहेछ । हरेक नागरिकले देशको कानुनलाई सहज रुपमा मान्ने रहेछन् । राज्यले हाम्रो लागि काम गरेको छ भने हामीले पनि देश र समाजका लागि सक्दो योगदान दिनुपर्छ भन्ने सोच अष्ट्रेलियाका नागरिकहरुमा छ । मेलवर्न र सिड्नीमा १५-१५ दिन बस्दा सामान्य अवस्थामा सडकमा ट्राफिक प्रहरी देखिएनन् । सार्वजनिक यातायातमा सहचालक पनि देखिएनन् ।

राज्य अभिभावक अनि नागरिक अनुशासित । हामीले हाम्रो नेपाल र अष्ट्रेलिया दाँज्यौ । कानुन र अनुशासनले समाजलाई मर्यादित बनाउने रहेछ । सरकारलाई पनि जिम्मेवार बनाउने रहेछ । काममा लगाव र मेहनतले त्यहाँको जीवनस्तर निकै राम्रो छ । अरु आप्रवासीहरु भन्दा नेपालबाट गएकाहरुलाई राम्रो मान्ने रहेछन् । नेपालीहरु मेहनती छन् भन्ने परेको रहेछ । तर सिप नसिकेका व्यक्तिलाई भने अष्ट्रेलियामा टिक्न निकै गाह्रो देखियो । नेपालबाट जाने युवा पुस्तालाई मेरो सुझाव के छ भने- केही न केही सिप सिकेर अष्ट्रेलिया जाने हो भने धेरै दुख पाउन पर्दैन ।

लेखक- सामुदायिक वन उपभोक्ता महासंघ नेपालका कोषाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : 9 डिसेम्बर 2025, मङ्गलवार
प्रतिक्रिया दिनुहोस