सामुदायिक वनहरुलाई गाभ्न खोज्नु संस्कृति, प्रकृति र समुदायको हित विपरित हो- अध्यक्ष भण्डारी

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघका संघीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनहरुलाई गाभ्न खोज्नु भनेको संस्कृति, प्रकृति र समुदायको हित विपरितको कदम भएको बताउनुभएको छ ।

दाङको गढवा गाउँपालिका वडा नं. १ स्थित गोबरडिया समिल तथा फर्निचर उद्योगको १३ औं साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा फेकोफनका संघीय अध्यक्ष भण्डारीले हरेक सामुदायिक वनसँग स्थानीय समुदायका आफ्नै संस्कृति र परम्परा समेत जोडिएको बताउनुभयो ।

स्थानीय आदिवासी जनजाति तथा महिला र विपन्न समुदायको हितका लागि सामुदायिक वनले पुर्याएको योगदान अमूल्य रहेको भन्दै अध्यक्ष भण्डारीले वातावरण संरक्षणमा पनि हरेक सामुदायिक वनको आफ्नै महत्व भएको उल्लेख गर्नुभयो ।

सरकारले समुदाय र सामुदायिक वनको महत्व र योगदान नबुझिकनै सामुदायिक वन उपभोक्ता समूहहरु गाभ्ने अर्थात मर्ज गर्ने भन्न थालेको बताउँदै अध्यक्ष भण्डारीले वातावरण, विकास, परम्परा, धर्म संस्कृति र समुदायको चाहना विपरितका कुरा नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

सामुदायिक वनहरुले उद्यमविकासका योजना सञ्चालन गरेर समुदायको तथा स्थानीय स्तरका अन्य विकासका काममा योगदानमा मात्रै हैन, रोजगारी र स्वरोजगारमार्फत देशको आर्थिक संम्वृद्दिमै टेवा पुर्याएको बताउँदै उहाँले सरकारले नीतिगत सहयोग नगर्दा समूहहरुले उद्यमका काम गर्न अप्ठ्यारो भैरहेको बताउनुभयो ।

उद्यम विकासका योजनाहरुले समुदायलाई लाभ पुर्याउने कामहरु समूहरुले अझै गर्नुपर्ने खाँचो औल्याउँदै अध्यक्ष भण्डारीले गोबरडिया समिलले गरेका कामको प्रसंसा गर्दै सामुदायिक वन उपभोक्ता महासंघले सक्दो सहयोग जारी राख्ने पनि बताउनुभयो ।

उद्योग सञ्चालक समितिका अध्यक्ष नवराज शर्माको अध्यक्षमा भएको साधारण सभामा उपाध्यक्ष हरि सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन उद्योगका सचिव चित्र एमसीले गर्नुभएको थियो । कोषाध्यक्ष चन्द्र पुरीले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, वडा नम्वर १ का अध्यक्ष बाबुराम अधिकारी, सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शिव यादव, विष्णुमाया बस्याल, पदम गिरी, खुमबहादुर गाहा, खगेश्वर शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

गढवा र राप्ती गाउँपालिकाका सामुदायिक वन मिलेर २०७८ सालमा स्थापना भएको गोवरडिहा काष्ठ तथा फर्निचर उद्योग प्रा. लि. गढवा गाउँपालिका–१, बडहरामा छ । यो उद्योग स्थानीय १३ वटा सामुदायिक वन उपभोक्ता समूह मिलेर स्थापना गरिएको हो । वन पैदावार उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन मिलेर यो उद्योग स्थापना गरिएको हो ।

उद्योगले वन स्रोतको दिगो व्यवस्थापन, वन पैदावारको सहि सदुपयोग, तथा ग्रामीण क्षेत्रमा रोजगारी सृजनामा योगदान पुर्याउने उद्देश्य राखेको छ । ‘वनको दिगो व्यवस्थापन गरौं, वन पैदावारको सही सदुपयोग गरौं’ भन्ने नारालाई आत्मसात गर्दै सञ्चालनमा आएको उद्योगस सामुदायिक वन उपभोक्ता महासंघको सहकार्यमा स्थापना गरिएको हो ।

चार लाख बिऊँ पूँजीबाट सुरु गरिएको यो उद्योगले उपभोक्तालाई सहुलियत दरमा चिरान काठ उपलब्ध गराउँदै आएको छ । तर, कानूनी अड्चन देखाउँदै डिभिजन वन कार्यालय र पालिकामा सूचीकृत हुन नसक्दा कम्पनीले चिरान बाहेकका अन्य कामकाज गर्न सकेको छैन । उद्योगमा कुलपानी, वनशक्ति, जनप्रिय, बाग्दुला, महदेवा, लखपति, दूर्गा, जनशक्ति, सूर्या, जनसेवा, लक्ष्मी, हरियाली, गोबरडिहा सामुदायिक वन उपभोक्ता समूहको लगानी रहेको छ ।

प्रकाशित मिति : 8 जनवरी 2026, बिहिवार
प्रतिक्रिया दिनुहोस