फरेष्ट कार्वनसम्वन्धी विश्वकै प्रभावशाली बैठकमा दक्षिण एशियाली नागरिक संगठनको प्रतिनिधिका रुपमा फेकोफन अध्यक्ष ठाकुर भण्डारी सहभागी

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले भियतनाममा आयोजित कार्वन फण्ड मिटिङमा दक्षिण एशियाली नागरिक संगठनको प्रतिनिधिका रुपमा सहभागिता जनाउनुभएको छ ।

फरेष्ट कार्वनसम्वन्धी विश्वकै प्रभावशाली उक्त मिटिङमा दक्षिण एशियाली मुलुकबाट प्रतिनिधित्व गर्ने फेकोफन अध्यक्ष भण्डारी एक मात्र प्रतिनिधि हुनुहुन्छ । त्यस बैठकमा उहाँले दक्षिण एशियाली मुलुक र ती देशका समुदायले वन जोगाएको र त्यसले ठूलो उपलव्धि प्राप्त भएकोबारेमा जानकारी गराउनुभएको थियो ।

नेपालको तर्फबाट समुदाय र सामुदायिक वनका मुद्दाहरुबारे पनि धारणा राख्दै अध्यक्ष भण्डारीले कार्वन उत्सर्जन न्युनीकरणमा सामुदायिक वन र समुदायले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।  रेडप्लसबाट लाभ प्राप्त हुने भएपछि स्थानीय समुदाय उत्साही भएको बताउँदै उहाँले नेपालका सामुदायिक वनका उपभोक्ताहरुको अथक मेहनतले प्राप्त उपलब्धि गौरवको विषय भएको बताउनुभयो ।

नेपालमा सरकारले लाभको बाँडफाँट योजना कार्यान्वयनका लागि कार्यविधि बनाइरहेको भन्दै अध्यक्ष भण्डारीले त्यसको लाभ देशभरका २३ हजारभन्दा धेरै सामुदायिक वनका उपभोक्ताले पाउनुपर्ने गरी फेकोफनले सरकारलाई सुझाव दिएको पनि जानकारी गराउनुभयो ।

उच्चस्तरको उक्त बैठकमा अध्यक्ष भण्डारीले भन्नुभयो- ‘अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने रकमबाट लाभको बाँडफाँटको कार्यान्वयनका लागि सरकारले योजना बनाइरहेको छ। त्यसमा हामीहरुले पनि सरकारलाई सुझाव दिइरहेका छौ र सहकार्य गरेका छौं।’

समुदायको अधिकार र रेडप्लसबाट प्राप्त हुने लाभको बाँडफाँटका लागि सही र प्रभावकारी योजना बनाउन समुदायको क्षमता विकास गर्नुपर्ने खाँचो देखिएको बताउँदै उहाँले त्यसका लागि थप सहयोग चाहिएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष भण्डारीले सामुदायिक वन अभियान निरन्तर चल्ने प्रकृया भएको र समुदायको हितकै लागि काम गरिरहेकोले कार्वन उत्सर्जन कम गर्न सामुदायिक वनले भविश्यमा पनि निरन्तर काम गरिरहने बताउनुभयो ।

उहाँले रेड प्लस कार्यान्वयनबाट हुने लाभ समुदायले पाउनुपर्नेमा फेकोफनले निरन्तर पहल गरिरहने र त्यसको लागि सरकारसँग निरन्तर संवाद गरिरहेको पनि उहाँले बताउनुभयो।

विश्वका विशिष्ट वन तथा वातावरण क्षेत्रमा काम गरिरहेका विज्ञहरु सम्मिलित बैठकमा फेकोफन अध्यक्ष भण्डारीले भन्नुभयो- नेपालका २३ हजारभन्दा धेरै सामुदायिक वन र ३२ लाखभन्दा बढी घरधुरी उपभोक्ताले वन व्यवस्थापनमा जीवनको महत्वपूर्ण समय खर्चेका छन् । त्यसैले कार्वन उत्सर्जन कम गर्न उनीहरुले निर्वाह गरेको भूमिका र योगदानको मूल्यांकन गरेर उनीहरुको आर्थिक अवस्था सुधारका लागि रेडप्लसबाट प्राप्त हुने रकमको सदुपयोग गर्नुपर्छ ।

बैठकमा स्थानीय समुदाय र आदिवासी जनजातिले दिगो वन व्यवस्थापन गरेको विषयमा मुक्त कण्ठले प्रशंसा गरेका थिए । विज्ञहरुले नेपालमा समुदायले गरेको वन व्यवस्थापनको पनि प्रशंसा गरेका थिए ।

 

प्रकाशित मिति : 29 जनवरी 2026, बिहिवार
प्रतिक्रिया दिनुहोस