संरक्षणको अभियानमा निरन्तर जुट्ने कमै भेटिन्छन् । पेशाको रुपमा काम गरिरहेका बाहेक यो अभियानमा जुट्ने र खट्नेहरु भेट्टाउन मुस्किलै पर्छ । यस्तै मुस्किलै भेट्टिने मध्येका एक हुन्–राजेश श्रेष्ठ । पाल्पा जिल्लाको दोभान गाविसका राजेश दुई दशकदेखि निरन्तर संरक्षणको अभियानमा छन् ।
दोभानमा वन, वातावरणको कुरा आउँदा राजेशको नाम नलिने कमै छन् । स्थानीय कुसुमडाँडा सामुदायिक वन उपभोक्ता समूहबाट उनको संरक्षण अभियान सुरु भएको हो । २०५४ सालमा उनी त्यस वन समूहको अध्यक्ष बने । उनले २०६२ सालसम्म निरन्तर वनको अध्यक्षको रुपमा काम गरे ।
दोभान गाविसमा रहेका सामुदायिक वन समूहको सञ्जालको रुपमा २०५८ सालमा सामुदायिक वन समन्वय समिति गठन हुदा राजेश त्यसको संस्थापक सदस्य थिए । त्यसपछि सचिव, कार्यवाहक अध्यक्ष हुँदै उनी समन्वय समितिको अध्यक्ष बने । राजेश पछिल्लो तीन कार्यकाल अर्थात् ६ वर्षयता समन्वय समितिको अध्यक्षको रुपमा संरक्षणको अभियानमा जुटिरहेका छन् ।
२०५८ सालमा समन्वय समिति गठन हुँदा दोभानमा १८ वटा मात्र सामुदायिक वन उपभोक्ता समूह थिए । अहिले त्यो संख्या ३६ पुगेको छ । सम्भवतः एकै गाविसमा यति धेरै सामुदायिक वन हुने दोभान मुलुककै एक मात्र गाविस हो । दोभान रुपन्देहीको बुटवल उप–महानगरपालिकासंग जोडिएको चुरे पहाडमा रहेको गाविस हो । भू–बनोटका हिसाबले यो अत्यन्त कमजोर अवस्थामा छ । यसैले यहाँको वन–वातावरणको संरक्षण नहुने हो भने दोभानको भविष्य नै खतरामा पर्न सक्छ । यही कुरालाई बुझेर नै म संरक्षणको अभियानमा जुटेको हँु ।’ श्रेष्ठले भने,तर मेरो एक्लो प्रयास मात्र यसका लागि काफी हुन सक्दैन, यो अभियानमा मैले सबैको प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पाइरहेको छु ।’
उनी सामुदायिक वन समन्वय समितिको नेतृत्वमा रहेपछि विभिन्न संघ–संस्थाको सहयोगमा दोभानमा संरक्षणका विभिन्न कार्यक्रम हुँदै आएका छन् । मूलतः समन्वय समिति संगको सहकार्यमा तराई भू–परिधि कार्यक्रमले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । वनप्रतिको निर्भरता कम नगरेसम्म यसको संरक्षण र प्रवद्र्धन हुन सक्दैन भन्नेमा उनी प्रष्ट छन् । यसैले समन्वय समितिले वनप्रतिको निर्भरता घटाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सुकेतालमा होमस्टेको सुरुवात्, दालचिनी मिनीमहोत्सव, सुकेताल महोत्सव, वडा नं. ३ लाई कागतीको पकेट क्षेत्र घोषणा, तिनाउ नदी बचाउन वातावरणीय सेवा भुक्तानीको विषय उठान, समन्वय समितिको संस्थागत विकास, कृषि बहुउद्देश्यीय सहरकारी सञ्चालनलगायतका कयौं काम उनी नेतृत्वको समन्वय समितिले गरेको छ । हाम्रा सबै कार्यक्रम वनप्रतिको निर्भरता घटाउनमा केन्द्रित छन् ।’ उनी भन्छन,‘हामीले गर्ने कामप्रति सबैको सहयोग पनि छ ।’
निरन्तर संरक्षणको अभियानमा जुट्दा उनले कयौं समस्या र चुनौतीलाई सामना गर्नु परेको छ । वन मास्नु हुँदैन, खोलामा विष हालेर माछा मार्नु हुँदैन, जंगली जनावारको चोरी शिकारी गर्नु हुँदैन भनेर सम्झउँदा÷बुझाउँदा उनले कयौंको हप्कीधप्की सहनु परेको छ । कतिले उनलाई संरक्षणको अभियान छाड्न चेतावनी पनि दिए । तर उनमा कत्ति विचलन आएन । यति सम्मकी गाउँमा एक जना व्यक्तिले राखेको भरुवा बन्दुक प्रहरीले समेत खोस्न नसकेको अवस्थामा आफूले खोसेको श्रेष्ठ बताउँछन् ।
समन्वय समितिको क्रियाशीलताले धेरै परिवर्तनको रेखा कोरिएको छ – दोभानमा । गाविस समेत वातावरण संरक्षणका लागि बजेट छुट्याउन बाध्य भएको छ । तिनाउ नदीका प्रयोगकर्ताहरु वातावरणीय सेवा भुक्तानीको विषयमा सकारात्मक बन्दै गएका छन् । श्रेष्ठ नेतृत्वको यस्तै प्रभावकारी कामको मूल्याङ्कन गरेर पछिल्लो पटक नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले समन्वय समितिलाई आफ्ना कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिएको छ । यो कार्यक्रम सञ्चालनका लागि पाल्पाका अरु कयौं संस्थाहरुले आवेदन दिएका थिए तर समन्वय समिति यसमा छनौट भएको छ । अहिले यही कार्यक्रममार्फत् चुरे संरक्षणका विभिन्न कार्यक्रम पनि सञ्चालन भैरहेका छन् ।
संरक्षणको क्षेत्रमा लागेर श्रेष्ठले धेरै दुःख, सुखको अनुभव गरेका छन् । धेरै ठाउँको भ्रमण पनि गरेका छन् । त्यो भन्दा बढी उनले संरक्षणको सवालमै रहेर कविता संग्रह नै प्रकाशित गरेका छन् । उनको दाबी छ–संरक्षणमा केन्द्रित रहेको मेरो नै पहिलो कविता संग्रह हो । ‘संरक्षणका अनुभूतिहरु’ कविता संग्रह उनले २०६७ सालमा प्रकाशित गरेका हुन् । यो संग्रहमा २१ वटा कविता अटेका छन् ।
उनले वन, वातावरणका क्षेत्रमा पु¥याएको योगदान तथा उनले प्रकाशन गरेको कविता संग्रह ‘संरक्षणका अनुभूतिहरु’ को मूल्याङ्कन गर्दै भैरहवामा क्रियाशील साहित्यकारहरुको संस्था सिद्धार्थ साहित्य परिषद्ले उनलाई “वन कवि” उपाधि दिँदै सम्मान गरेको छ । २०२ औं भानू जयन्तीको अवसरमा श्रेष्ठलाई उपाधि सहित सम्मान गरिएको हो । यो सम्मानले आफूलाई थप काममा हौसला मिलेको उनले बताए ।
कविता संग्रहको भूमिकामा साहित्यकार तथा समीक्षक डा. मुरारी पराजुलीले लेखेका छन्,‘प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने लागेर आत्माले स्वीकार गर्न सक्यो भने जो कोहीले यस क्षेत्रमा योगदान गर्न सक्छ । तर यसैलाई विषय बनाएर कविता लेख्ने, छपाउने आ“ट गर्नु चानचुन कुरा होइन । कविता लेख्नलाई कवि हृदय चाहिन्छ । कवि हृदय भनेको अनुभूतिजन्य भावुकता हो जसले शब्दमा अनुभवलाई उतार्छ । राजेशले जे अनुभव गरे त्यसलाई इमान्दारिताकापूर्वक शब्दचित्रमा उतारे । यसर्थ उनी साधुवादका पात्र छन् ।’
दोभानलाई वनसम्पदाको खानी मानिन्छ । त्यसतो ठाउ“मा जन्मे, हुर्केका राजेशले आफ्नो वरिपरि हरियाली देख्नु स्वभाविक हो । तर वन मासिन थाल्यो । वनलाई बचाउन उनले पहल थाले । यसैक्रममा उनले कविता प्रकाशनसम्मको आ“ट गरे । वन विनाश रोक्न, वनको महत्व बुझाउन उनले साहित्यको पनि सहयोग लिएका छन् । उनका सबै कविताले वनको महत्वलाई उजागर गरेको छ । वनपाले, हाम्रो देश, हामा जडीबुटी, सर्पगन्धा, बसन्त, सामुदायिक वन, संरक्षणका निम्ति, उजाड, राष्ट्र निर्माणमा जुटौं, संरक्षणमा नारीहरु, पर्यटन वर्ष २०११, रुख रोपौं, जोगाऔं वन, संरक्षण अनुभूतिहरु, प्राकृतिक सुन्दरता, नटिपिदेउ फूलहरु, वन जोगाउन लागौं, मेरो आह्वान, देशले तिमीलँई सम्झिरहेको छ, हरित सलाम, फन्को मार्दा कविता संग्रहमा रहेका कविताका शीर्षकहरु हुन् । प्रस्तुति : बीपी गौतम
प्रकाशित मिति : 5 सेप्टेम्बर 2015, शनिवार