समृद्धिका लागि सरकार र राजनीतिक नेतृत्व बाधक: अध्यक्ष भण्डारी

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले वन पैदावरको उपयोगबाट समृद्धिको हासिल गर्ने विषयमा सरकार र राजनीतिक नेतृत्व नै बाधक भएको बताएका छन ।

महासंघको लुम्बिनी प्रदेशको ब्यबस्थापन र समन्वयमा बिहीबार बुटवलमा भएको प्रदेशस्तरीय क्षमता अभिवृद्धि तथा रणनीतिक योजना गोष्ठीमा बोल्दै अध्यक्ष ठाकुरले वनबाट आर्थिक समृद्धि हासिल गर्न नदिन सरकार र राजनीति दलका नेतृत्व नै लागेको बताए ।

“हामीले एक सामुदायिक वन एक उद्यमका कुरा गरेका छौ । तर एक सामुदायिक वन एक उद्यम बनाउन नदिने को हो भन्दा सरकार हो । समृद्धिको कुरा गर्ने समृद्धिमा जान नदिने को हो ? सरकार हो ।,” अध्यक्ष भण्डारीले भने । उनले समृद्धिका कुरा गर्ने सरकार र राजनीतिक नेतृत्वले जनताले आफै हुर्काएका रुख पनि काट्न नदिएको गुनासो गरे ।

“दुना टपरी व्यवसाय गर्नका लागि सालको पात टिप्न नपाउने । डोरी बनाएर बेच्यो भने यो बाबियो कहाँ बाट ल्यायो? भनेर प्रश्न गर्ने काम भइरहेको छ । वन पैदावर बजारमा लिदा कसैलाई सनक चलेको भरमा पक्राउ गरिन्छ । केरकार गरिन्छ ।,” भण्डारीले भने ।

उनले सरकारी अवरोध अन्त्यका लागि अधिकार प्राप्तिलाई पहिलो प्राथामिकतामा राखेर देशव्यापी अभियानमा लागेको बताए ।

अध्यक्ष भण्डारीले समृद्धि हासिल गर्नका लागि त वनमा भएको वन पैदावरलाई निर्वाध उपयोग गर्न पाउनुपर्ने बताए । “वन पैदावरलाई प्रशोधन गर्न र बजारमा लैजान पाउनु प¥यो । त्यसो भयो भने न समृद्धि हुन्छ । त्यसका लागि सरकार र राजनीतिकि नेतृत्वले यसको जिम्मा लिनुपर्छ,” उनको भनाई थियो ।

गोष्ठीको केन्द्रिय अध्यक्ष भण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष एवम् वाग्मती प्रदेश सभा सदस्य भारती पाठक विशेष अतिथीको रुपमा सहभागी भएकी थिइन । त्यसैगरी, महासंघका केन्द्रिय उपाध्यक्ष महमद कर खाँ, सचिव डिल्ली गिरी, सदस्य कमल परियार, प्रदेश निवर्तमान महासचिव राम मल्ल ठकुरी, निवर्तमान कोषाध्यक्ष मिना पाण्डे लगायत सहभागी छन । गोष्ठीमा प्रदेश पदाधिकारी, सदस्य र १२ जिल्लाका अध्यक्ष गरी ५० जनाको सहभागिता रहेको महासंघले जनाएको छ ।

महासंघको प्रदेश अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता भएको उद्घाटन सत्रमा उपाध्यक्ष श्री हुमनाथ भट्टराईले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव मधुकला कुँवरले गर्नु भएको थियो ।

प्रकाशित मिति : 21 डिसेम्बर 2023, बिहिवार
प्रतिक्रिया दिनुहोस