वनमा खेर जाने पातपतिङ्गरको सदुपयोगमार्फत आर्थिक लाभ लिन सकिने कार्ययोजना लिएर आउन लुम्बिनी प्रदेशका वनमन्त्री चौधरीको आग्रह

दाङ, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिले प्रदेश राजधानी दाङको भालुवाङमा सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी छलफल आयोजना गरेको छ ।

कार्ययोजना छलफल कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले सामुदायिक वनको प्रभावकारी व्यवस्थापन र दिगो विकासका लागि सैद्धान्तिक तथा प्राविधिक विषयलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो।

सामुदायिक वनमा खेर गइरहेका पातपतिङ्गरलाई प्राङ्गारिक मलमा परिणत गरी आयआर्जनसँग जोड्नुपर्नेमा जोडदिँदै मन्त्री चौधरीले सामुदायिक वन व्यवस्थापनको विषय जटिल भएकाले नीतिगत ज्ञान र प्राविधिक पक्षबीच उचित तालमेल हुन आवश्यक रहेको बताउनुभयो ।

वनमा खेर जाने पातपतिङ्गरको सदुपयोगमार्फत आर्थिक लाभ लिन सकिने सम्भावनालाइ ख्याल गरी त्यससम्बन्धी ठोस योजना लिएर भने सरकारसमक्ष कोही नआएको उहाँले बताउनुभयो । त्यस्ताे कार्ययाेजना लिएर आउन पनि उहाँले आग्रह गर्नुभयाे ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनको कार्ययोजनालाई अब पर्यापर्यटन, उद्यमशीलता र उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै कार्ययोजना नै सामुदायिक वनको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो ।

वनबाट सम्वृद्धि सम्भव छ भन्ने कुरा मनन गर्न सरकार गम्भीर हुनुपर्ने भन्दै अध्यक्ष भण्डारीले वन समूहहरूले आफ्नै कार्ययोजना निर्माणका लागि अग्रसरता देखाउनुपर्ने र त्यसमा प्रदेश सरकारले आवश्यक सहजीकरण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव प्रमोद भट्टराईले सामुदायिक वनलाई उद्यम, पर्यटन, सीप विकास र उत्पादनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । सबै सामुदायिक वनलाई एउटै मापदण्डमा राख्न उपयुक्त नहुने उल्लेख गर्दै उहाँले वनको अवस्था, क्षेत्रफल, स्रोतसाधन र व्यवस्थापनको अवस्थाका आधारमा वर्गीकरण गर्नुपर्ने र प्रदेश सरकारले सामुदायिक वनको वर्गीकरण गर्ने दिशामा काम अघि बढाइरहेको बताउनुभयो ।

महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघकी परियोजना अधिकृत एन्जल कट्टेलले सामुदायिक वन समूहले कार्ययोजना निर्माण गर्दा ध्यान दिनुपर्ने विषय, कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तु तथा कार्ययोजनाबाट उपभोक्ताले प्राप्त गर्न सक्ने लाभबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश वन निर्देशनालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले साना सामुदायिक वन समूहको संरक्षण तथा संक्षिप्त कार्ययोजना निर्माणका विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो ।

महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागी वक्ताहरूले साना सामुदायिक वन समूहको संरक्षण गर्दै तिनका लागि संक्षिप्त कार्ययोजना निर्माण गर्न प्रदेश सरकारले थप भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवा, कपिलवस्तुका वरिष्ठ डिभिजनल वन अधिकृत प्रभात सापकोटा, डिभिजन वन कार्यालय घोराही, दाङका वरिष्ठ डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदी, डिभिजन वन कार्यालय चन्द्रौटा, कपिलवस्तुका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्का, डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख गणेशकुमार थारू, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल तथा स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ गढवाका अध्यक्ष नवराज शर्मालगायतले धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघ लुम्बिनी प्रदेशका सचिव मधुकला कँवरले गर्नुभएको थियो ।

प्रकाशित मिति : 30 अक्टोबर 2026, शुक्रबार
प्रतिक्रिया दिनुहोस