जैविक विविधता संरक्षणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण- वरिष्ठ उपाध्यक्ष शाही

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जैविक विविधता संरक्षणमा नेपालका सामुदायिक वनको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

संघीय महासंघको आर्थिक सहयोग र जिल्ला महासंघ बर्दियाको आयोजनामा आइतबार भएको सामुदायिक वनको नितिगत ब्यवस्था, चुनौती, पैरवी तथा वित्तिय व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शाहीले सामुदायिक वनहरु जैविक विविधता संरक्षणका केन्द्र भएको बताउनुभयो ।

उहाँले सामुदायिक वन उपभोक्ता समूहका कार्ययोजना नविकरण नहुँदा समस्या परेको बताउँदै सरकारले सघाउनुपर्नेमा जोडदिनुभयो ।

उपाध्यक्ष मोहम्मद कर खाँले दिगो वन व्यवस्थापनमा महत्वपूर्ण काम गर्दै आएका सामुदायिक वनहरुको कार्ययोजना नविकरण नहुँदा उपभोक्ताले दैनन्दिन कामकाज र वन संरक्षणको अभियान चलाउन पनि अप्ठ्यारो परेको बताउनुभयो ।

महासंघका लेखा नियन्त्रक राम पौडेलले उपभोक्ता समूहहरुले आर्थिक प्रणाली र सुशासनमा आफूलाई अब्बल बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला महासंघ बर्दियाका पदाधिकारी, बर्दियाका ७ ओटै नगर महासंघका अध्यक्ष तथा सचिव र सामुदायिक वनका सदस्यहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति : 10 अगस्ट 2025, आइतवार
प्रतिक्रिया दिनुहोस