काठमाडौं । सरकारले नेपाली काठलाई कुहिन दिएर विदेशबाट अर्बौको काठ तथा बनिबनाउ फर्निचर भित्र्याइरहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले आपत्ति जनाएका छन् ।
संसद बैठकमा रास्वपा सांसद निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर प्रश्न गर्नुभयो । सांसद डाँगीले भन्नुभयो ‘म सभामुखमार्फत् सरकारलाई आग्रह गर्छु, यो परनिर्भरता बन्द गर्नैपर्छ, सुरुवात यही संसद भवन र सिंहदरबारबाट सुरु गरौं । त्यसपछि देशभित्र नेपाली काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्ने नियम लागू गरौं ।’
नेपालका काठको सदुपयोग नभएको तर विदेशबाट काठ आयात भइरहेको बताउँदै उहाँले काठमाथिको परनिर्भरता बन्द हुनुपर्नेमा जोड दिनुभयो । ‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्र्याउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’ सरकारको नीतिमाथि उहाँको प्रश्न छ ।
नेपाली काठबाट बनेका फर्निचर प्रयोगको सुरुवात संसद भवन र सिंहदरबारबाटै गर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले नेपालको काठको सदुपयोग नहुँदा वर्षेनी अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको बताउनुभयो । उनले जोड दिँदै भनिन्, ‘मैले सबै वन फँडानी गर्नुपर्छ भन्न नखोजेको होइन तर हामीसँग भएको धनको सही सदुपयोग पक्कै पनि गर्नैपर्छ ।’


