
काठमाडौं। स्थानीय वन ऐन बनाएर समुदायको हकहित तथा आयआर्जनका गतिविधि बढाउने विषयमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सामुदायिक वन उपभोक्ता महासंघ नेपालबीच छलफल भएको छ ।
पर्यापर्यटन, कृषि वन, उद्यम, आयआर्जन लगायतका गतिविधि गर्न सकिने प्रसस्तै सम्भावना भएको एकडारा गाउँपालिकामा वन शाखा समेत रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारी र गाउँपालिका उपाध्यक्ष महजवी खातुनसहितको टोलीबीच भएको छलफलमा पालिकाले स्थानीय वन ऐन बनाएर अघि बढ्न तयार रहेको बताएको हो ।
त्यस अवसरमा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले एकडारा गाउँपालिका उर्भर भूमि भएकोले कृषि र वनलाई जोडेर अघि बढ्न सकिने तथा पर्यापर्यटनमार्फत आयआर्जन बढाउँदा समुदाय र उपभोक्तालाई आर्थिक लाभ हुने बताउनुभएको थियो ।
सामुदायिक वनसँग समन्वय गरेर माछापालन तथा फलफूल खेती गर्न सकिने भएकोले पालिकाले समग्र रुपमा स्थानीय वन ऐन नै बनाएर अघि बढ्नु उपयुक्त हुने सुझाव पनि उहाँले दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष महजवी खातुनले स्थानीयको आयआर्जन र जिविकोपार्जनमा सहयोग गर्ने गरी स्थानीय वन ऐन बनाउन पालिका तयार रहेको बताउँदै समन्वय र सहजीकरणका लागि फेकोफनलाई आग्रह गर्नुभयो । जलेश्वरधाम र जनकपुरका पर्यटकलाई कृषि वन तथा पर्यापर्यटनका माध्यमबाट एकडारामा पुर्याउन सकिने पनि उहाँले बताउनुभयो ।
फेकोफनका अध्यक्ष भण्डारीले वन ऐन बनाउने पालिकाको अग्रसरतामा सघाउन महासंघ तयार रहेको बताउनुभएको थियो । त्यस अवसरमा फेकोपनका मधेश प्रदेश अध्यक्ष सोम शर्मा स्थानीय उपभोक्ता र समुदायको हितका लागि सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गर्ने बताउनुभयो ।
यस्तै फेकोफन बागमती प्रदेश अध्यक्ष विनोद विनोद सापकोटाले सामुदायिक वन र उपभोक्ता हितका लागि महासंघ र पालिकाहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।