काठमाडौं । बाँदरले बालीनाली सखाप पार्दा किसानको उठिबास नै लाग्न थालेपछि स्थानीय तहले सार्वजनिक बिदा दिएरै बाँदर धपाउनुपर्ने अवस्था आउँदै गएको छ । वन बढ्दै जाँदा बाँदर, बँदेल र दुम्सीजस्ता वन्यजन्तुले किसानलाई खेती गर्नै सकस हुने अवस्थामा पुर्याउन थालेका छन् । अध्ययनअनुसार नेपालमा करिब पाँच लाख बाँदर रहेका छन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले त जेठ १ गते सार्वजनिक विदा दिएर स्थानीय बासिन्दालाई बाँदर धपाउने अभियानमा सामेल गरेको छ । बाँदर आतंकले किसानको उठीबास लगाएकोले बाँदर धपाउन धपाउन सार्वजनिक बिदा नै दिनुपर्ने बाध्यता आएको तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो ।
बाँदर आतंक बढ्दै गएपछि नियन्त्रणका विषयमा स्थानीय तहदेखि प्रदेश र संघीय संसदमा समेत बारम्बार आवाज उठिरहेको छ । सरकारले सामान्य नीतिगत व्यवस्था गर्दै बाँदर र बँदेललाई हानीकारक वन्यजन्तुको सूचीमा राखे पनि किसानलाई सहज हुने गरी बाँदर नियन्त्रणको योजना भने ल्याएको छैन । बरु सामुदायिक वनका उपभोक्ता र स्थानीयले बाँदरलाई वन क्षेत्रमै रोक्न सक्दो प्रयास स्वरुप वनमा फलफूल लगाउनेदेखि रोकथामका स्थानीय उपाय अबलम्वन गर्दै आएका छन् । खासगरी पहाडी जिल्लामा किसानहरू वन्यजन्तुको आतंकबाट अत्यन्त पीडित छन् ।
मकै, कोदो, गहुँ, आलुजस्ता बाली बाँदर र बँदेलले नष्ट गरिदिँदा किसानहरू रातदिन खेतबारीमै बसेर पहरा दिन बाध्य छन् । कतिपय स्थानमा खेती जोगाउन सामूहिक गस्तीसमेत गर्नुपर्ने अवस्था छ । केही स्थानीय तहले हेरालु राख्ने, काँडेतार लगाउने तथा बाँदर धपाउने उपकरण उपलब्ध गराउने प्रयास गरेका छन् । तर सरकारी तहबाट गम्भीरतापूर्वक ध्यान नदिँदा स्थानीय प्रयास प्रभावकारी हुन सकेका छैनन् । बरु लगातार बाली नष्ट हुन थालेपछि धेरै किसानले खेती नै गर्न छोडेका छन् । बाँदरकै आतंकका कारण बसाइँ सर्ने क्रमसमेत बढेको छ ।
धेरै किसानहरूले बाँदरबाट जोगिन खेतबारी नजिकका रूखसमेत काट्न बाध्य भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सरकारले वन्यजन्तु व्यवस्थापन, क्षतिपूर्ति र दीर्घकालीन समाधानका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुहुन्छ ।
किसान र उपभोक्तालाई दुख दिने र बाली नाली क्षति गर्ने वन्यजन्तु बेच्नेदेखि मार्न पाउनेसम्मको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । बाँदर अहिले आफ्नो आहाराका लागि ४५ प्रतिशत जंगल र ५५ प्रतिशत मान्छेले लगाएको खेतीबालीमा निर्भर रहेको एक अध्ययनले देखाएको छ ।


