स्थानीय वन ऐन कार्यान्वयन, संस्थागत सुदृढिकरण र सामुदायिक वनको तथ्यांक व्यवस्थापनबारे फेकोफन र पालिका प्रमुखहरुबीच छलफल

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वागमती प्रदेशका स्थानीय तहका प्रमुखहरुसँग स्थानीय वन ऐन र कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल गरेको छ ।

संविधानले दिएको अधिकार प्रयोग गरेर वन ऐन बनाएका पालिकाहरुले कार्यान्वयन कसरी गरेका छन् र कार्यविधि नबनेका पालिकाहरुले अब कसरी कार्यान्वयनको चरणमा जाँदैछन् भन्ने लगायतका विषयमा छलफल गरिएको हो ।

नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघ समेतको समन्वयमा भएको अन्तर्कृयामा बागमती प्रदेशका २५ वटा पालिकाका प्रमुख तथा अध्यक्षसहितका प्रतिनिधिहरको सहभागिता थियो ।

स्थानीय वन ऐन र कार्यविधिको प्रभावकारी कार्यान्वयन, संस्थागत सुदृढिकरण, सामुदायिक वनहरुको तथ्यांक व्यवस्थापन र आगामी कार्यक्रमको विषयमा छलफल भएको हो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले वन तथा प्राकृतिक श्रोतको दिगो व्यवस्थापन मार्फत समुदायको आर्थिक सम्वृद्दि हुनसक्ने बताउदै संविधानले दिएको साझा अधिकार सूचीभित्र रहेर स्थानीय तहले वन ऐन बनाउने र कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

हेटौडा उपमहानगरपालिका प्रमुख मिना लामाले प्राकृतिक श्रोत व्यवस्थापन तथा सामुदायिक वनको अधिकारका लागि स्थानीय तहहरु फेकोफनसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले संस्थागत सुशासन तथा समुदायको जीविकोपार्जनसहित प्राकृतिक श्रोतको व्यवस्थापनमा मिलेर काम गर्नुपर्नेमा जोडदिनुभो ।

त्यस अवसरमा फेकोफनका तर्फबाट स्थानीय तहसँग सहकार्य गर्दै डेटा पोर्टललाई अझ व्यवस्थित गर्दै जाने, संघ र स्थानीय तहबीचको अधिकार क्षेत्रमा कसरी सामञ्जयता कायम गर्ने, बागमती प्रदेशमा वन  ऐन बनाएका पालिकाहरुले कार्यान्वयनमा कसरी लैजाने, नयाँ बन्दै गर्न लागेको बजेटमा प्राकृतिक श्रोतबारे के कस्ता योजना समेट्ने, विपद व्यवस्थापन र पूर्व तयारीमा सहकार्य कसरी गर्ने तथा वन्यजन्तुको सास्ती कम गर्न के कस्ता कामहरु गर्न सकिन्छ लगायतका विषयमा सुझाव तथा सम्भावनाका विषयहरु उल्लेख गरिएको थियो ।

पालिका प्रमुख तथा प्रतिनिधिहरु तथा नगरपालिका संघका प्रशासकीय अधिकृत मधुसुदन रिजाल लगायतले साझा सवालहरुमा सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिवद्दता जनाउनुभएको थियो ।

त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव पार्वता गौतम, निर्देशक सिता अर्याल , कानुनविद् दिलराज खनाल, सविता हैजु, सन्देश चौधरी लगायतले विषयगत प्रस्तुति राख्नुभएको थियो ।

प्रकाशित मिति : 16 मे 2026, शनिवार
प्रतिक्रिया दिनुहोस