हरियो वन कार्यक्रम समीक्षा तथा क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न

काठमाण्डौ – सामुदायिक वन उपभाेक्ता महासंघ नेपाल (फेकोफन)ले हरियो वन कार्यक्रम परियोजना अन्तर्गत स्थानीय सहजकर्ता क्षमता विकास तालिम तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । देशभरका सामुदायिक वनबाट छनोट भएका १२ ओटा सामुदायिक नमुना वनका अध्यक्ष तथा सहजकर्ताको उपस्थितिमा कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो ।

कार्यक्रम यही पुस २४ र २५ गते बिहीबार र शुक्रबार भएको थियो । कार्यक्रमको औपचारिक सुरुवात गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की अध्यक्ष भारती पाठकले देशभरका सामुदायिक वनलाई कसरी नमुना बनाउने भन्नेबारे प्रश्न उठाएकी थिइन् । उनले भनिन् ‘सामुदायिक वनलाई कसरी दीगो बनाउने ? के भयो भने सामुदायिक वन नमुना बन्न सक्छ ? र अन्य देशभरका सामुदायिक वनले अहिले भएका नमुना सामुदायिक वनबाट के कस्ता पाठ सिक्न सक्छन् ?’ साथै उनले कार्यक्रममा सामुदायिक वन नमुना बनाउन समावेशीलाई पनि ध्यान दिन जरुरी रहेको जानकारी गराइन् । उनले अगाडि भनिन् ‘पारदर्शिता, सहभागिता, समावेशीताका आधारमा मात्र सामुदायिक वन नमुना बन्न सक्छ ।’

 

कार्यक्रममा सामुदायिक वनको पहिलेका अवस्था, विगतमा महासंघले गरेको संघर्ष र अहिले राज्य पुनर्संरचनापछि सामुदायिक वनमा भएका चुनौति र यसको संरक्षणका लागि वर्तमान समयमा महासंघले खेलेको भूमिकाबारे पाठकले जानकारी गराएकी थिइन् । पछिल्लो समय करको विषयमा भएको आन्दोलन र सामुदायिक वनलाई दीगो व्यवस्थापनतर्फ कसरी लैजाने भन्ने बारेमा पनि उनले चर्चा गरेकी थिइन् ।

कार्यक्रममा महासंघका सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतमलगायतले सामुदायिक वनको अवस्थाका बारेमा चर्चा गरेका थिए । महासंघका सचिव भण्डारीले सामुदायिक वनको वर्तमान अवस्था, कानुनी जटिलता, सामुदायिक वन जोगाउन महासंघले गरिरहेको कामको बारेमा चर्चा गरेका थिए । उनले सामुदायिक वनको सन्दर्भ, वैज्ञानिक वन व्यवस्थापनका जटिलता, राज्य पुनर्संरचना र अधिकार, सामुदायिक वनका योगदान, सवाल र महासंघको अडानका विषय समेटेर आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

 

साथै कार्यक्रममा हरियो वन कार्यक्रमकी कार्यकारी निर्देशक डा. सिता अर्यालले सामुदायिक वनलाई कसरी नमुना बनाउने र सामुदायिक वनबाट समुदायले कसरी दीगो रुपमा फाइदा लिने भन्ने बारेमा चर्चा गरेकी थिइन् ।

अर्यालले हरियो वनले गरेका कार्यक्रम र हरियो वनले नमुना सामुदायिक वन र उद्धम प्रवर्द्धनमा पुर्‍याएको सहयोगको चर्चा गरेकी थिइन् । उनले हरियो वन कार्यक्रमको समीक्षा स्थानीय सहजकर्ताको उपलब्धिका बारेमा पनि चर्चा गरेकी थिइन् ।

साथै हरियो वन कार्यक्रमका क्षेत्रीय संयाेजक तुलसी अधिकारीले नमुना सामुदायिक वनले कसरी प्रतिवेदन र अभिलेखीकरण गर्ने भन्ने बारेमा सहजकर्ता तथा सामुदायिक वन उपभोक्ता समितिका अन्य सदस्यहरुलाई जानकारी गराएका थिए ।

 

यसैगरी कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा हरियो वन कार्यक्रममा आवद्ध रहेका अन्य सदस्यहरुले सामुदायिक वन नमुना कसरी बन्छ र बनाउन के के गर्नुपर्छ भन्ने बारेमा चर्चा गरेका थिए । कार्यक्रममा उनीहरुले वित्तीय व्यवस्थापन तथा कार्ययोजनाको तयारीका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

यसका साथै कार्यक्रममा नमुना सामुदायिक वन तथा अन्य सामुदायिक वनले हालसम्म गरेका काम र उपलब्धिका बारेमा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा सहजकर्ताहरुले जानकारी गराएका थिए ।

प्रकाशित मिति : 10 जनवरी 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस