हिमालयमा किन नयाँ बोटबिरुवा बढ्दैछन् ?

केही समयअघि भएको एक अनुसन्धान अनुसार सगरमाथा क्षेत्रसहित हिमालयको उच्च सतहमा नयाँ विरुवा तथा झारपात उम्रिरहेको छ । अनुसन्धानकर्ता भन्छन् यो विरुवा हिमालय क्षेत्रको यस्तो उचाइमा बढिरहेको छ जहाँ पहिला कहिल्यै उम्रिदैनथ्यो । अनुसन्धानकर्ताहरुले १९९३ देखि १०१८ सम्म ट्रि लाइन (उच्च हिमाली भूभागका रुख विरुवा उम्रने क्षेत्र) तथा स्नो लाइन (हिउँ पर्ने ठाउँ)को बीचमा भइरहेको वनस्पति विस्तारको जाँचका लागि उपग्रह डाटाको प्रयोग गरेका थिए ।

यस अनुसन्धानको नतिजा जर्नल ग्लोबल चेञ्ज बायोलोजीमा प्रकाशित भएको छ ।

यो अनुसन्धानको मुख्य विषय थियो सबनाइबल क्षेत्र (हिउँ पर्ने ठाउँ र रुखहरु हुर्कन सक्षम हुने ठाउँको बीचको भाग) मा उम्रने रुखविरुवाका बारेमा जानकारी लिने ।

यस क्षेत्रमा धेरैजसो साना रुख तथा घाँसमात्रै उम्रने गर्दछ । प्रतिवेदनका प्रमुख अध्ययनकर्ता तथा ब्रिटेनको एक्सेटर विश्वविद्यालयका डा. करेन एण्डरसन भन्छिन् ‘सबैभन्दा धेरै ५ हजार देखि ५ हजार ५ सय मिटरको उचाइमा वनस्पति बढेको पाइएको थियो ।’

यो अनुसन्धान नासाको ल्याण्डसेट उपग्रह चित्रको आधारमा गरिएको थियो जसमा हिमालय क्षेत्रको ४ हजार १ सय ५० मिटर तथा ६ हजार मिटर उचाइ चार भागमा बाँडिएको थियो । यो अनुसन्धानको कार्य क्षेत्र पूर्वमा म्यानमारदेखि लिएर पश्चिममा अफगानिस्तानसम्म हिन्दु कुश हिमालयको अलग–अलग स्थान समेटिएको थियो ।

सगरमाथा वरपरका क्षेत्रमा ल्याण्डसेट डाटाबाट १९९३ र २०१७ बीच वनस्पति विस्तारकाे तुलना गरिएकाे । Photo: DOMINIC FAWCETT

अध्ययनमा हिमालय क्षेत्रको सबै उचाइ श्रेणीमा वनस्पतिमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । हिमालका हिमनदी तथा जल प्रणालीको बारेमा काम गर्ने अन्य अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले पनि वनस्पति विस्तार भएको पुष्टि गरेका छन् ।

यो अनुसन्धानमा हिमालय क्षेत्रमा वनस्पति उम्रिनुको कारण भने खुलाइएको छैन । हिमालयन इकोसिस्टम जलवायु प्रेरित वनस्पति परिवर्तनका लागि अत्याधिक संवेदनशील रहेको अन्य अनुसन्धानले पनि देखाएको छ ।

नेपालको त्रिभुवन विश्व्विद्यालयका वोटनी विभागका असिस्टेन्ट प्रोफेसर अच्युत तिवारी भन्छन्, ‘हामीले नेपाल तथा चीनको तराइ क्षेत्रको तापक्रममा वृद्धिका साथै ट्री लाइनको विस्तार भएको पाएका छौँ ।’ उनी थप भन्छन् ‘यदी तराइ क्षेत्रको भूमिमा तापक्रम वृद्धि हुँदा रुख विरुवामा परिवर्तन भएको छ भने उचाइमा पनि तापक्रम वृद्धि हुँदा बोटविरुवाले प्रतिक्रिया जनाउँछन् ।’

हिमालयमा नियमित जाने केही वैज्ञानिकहरुले तस्बिरसहित नयाँ विरुवाकाबारे पुष्टि गरेका छन् । तिवारीको अनुसन्धान ‘ट्रि लाइन डायनामिक इन द हिमालय’ डेन्डा्रेक्रोनोलोजिया नामक जर्नलमा प्रकाशित छ ।

करिब ४० वर्षदेखि नेपालको हिमालयको बारेमा अध्ययन गरेका एक वनस्पति इकोलोजिस्ट एलिजावेथ बायर्सले भने, ‘वास्तवमा हिमालयको त्यो क्षेत्रमा अहिले विरुवाहरु बढीरहेको देखिन्छ जहाँ पहिला हिउँका पत्रले ढाकिएका हुन्थे ।’ उनले भने, ‘केही वर्ष पहिले सँधै हिउँले ढाक्ने ठाउँमा अहिले त्यहाँ ढुंगा देखिन थालेको छ त्यहाँ केही झारपात र फूलका विरुवा पनि देखिन थालेको छ ।’

उच्च हिमालयको केही स्थानहरूमा यस प्रकारले फूल फुल्ने बोटहरू देख्न सकिन्छ । Photo: ELIZABETH A. BYERS

हिमालयको यो उचाइमा बोटविरुवाको बारेमा थोरैमात्र जानकारी छ किनकि प्रायः वैज्ञानिक अध्ययनले बढ्दो तापमानको कारणले हिमनदी र हिम ताल विस्तार मात्र समेट्ने गरेको छ । यहाँका बोटविरुवाका बारे खासै अध्ययन हुन सकेको छैन ।

अनुसन्धानकर्ताहरु भन्छन् हिमालयको यो उचाइमा वनस्पति सम्बन्धी विस्तृत अध्ययनका लागि वनस्पतिहरूले माटो र हिउँसँग कसरी व्यवहार गर्छन् र कस्तो प्रतिक्रिया गर्छन् भनेर बुझ्नु महत्वपूर्ण छ ।

एण्डरसन सोध्छन् ‘सबैभन्दा ठूलो प्रश्न त जल विज्ञानको लागि यो छ कि यस क्षेत्रमा वनस्पतिमा आएको यस किसिमको बदलावको अर्थ के हो ?’ उनी प्रश्न गर्छन् के यसले हिउँ पग्लिने क्रममा कमी ल्याउँछ वा झन् तीव्रता ल्याउँछ ?’

उट्रेचट विश्वविद्यालयमा संवद्ध प्रोफेसर इमर्जिल यो कुरासँग सम्बन्धित छन् कि यो एक महत्वपूर्ण अनुसन्धान सावित हुनेछ । उनी भन्छन्, ‘जल विज्ञानसम्बन्धी प्रभावको अध्ययन गर्न पनि चाखलाग्दो हुन्छ । उच्च उचाइमा धेरै वनस्पति तथा झारपात उम्रनुको मतलव अल्पाइन क्याचमेन्टभन्दा धेरै वाष्पीकरण हो ।’

वाष्पीकरण त्यस्तो प्रक्रिया हो जसमा पानी जमिनबाट वायुमण्डलमा स्थानान्तरण हुन्छ । यस्तो तापमान बढ्नुको कारण पनि हुन्छ यसले गर्दा नदीमा पानीको प्रवाह पनि कम हुन्छ ।

हिन्दु कुश हिमालय क्षेत्र पूर्वमा म्यानमारदेखि लिएर पश्चिममा अफगानिस्तानसम्म आठ देशमा फैलिएको छ । यस क्षेत्रको १४० करोडभन्दा धेरै मानिस पानीको लागि यसमा निर्भर रहेका छन् ।

– बीबीसीबाट

प्रकाशित मिति : 17 जनवरी 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस