रानीबारी : मध्य काठमाण्डौमा रहेको एक्लो सामुदायिक वन

काठमाण्डौ – चक्रपथ क्षेत्रभित्रको एक्लो सामुदायिक वन हो रानीबारी । पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक वन गरी २ ओटा सामुदायिक वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि चक्रपथ क्षेत्रभित्र रानीबारी एक्लो सामुदायिक वन भएको हो ।

काठमाण्डौ जिल्लामा १ सय ४४ ओटा सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ । काठमाण्डौ कंक्रिटको जंगलमा परिणत भइरहेको बेला चक्रपथ भित्रको यो एक्लो सामुदायिक वन यहाँका बासिन्दाका लागि सास फेर्ने ठाउँका रुपमा परिचित हुन थालेको छ ।

मध्य काठमाण्डौमा बसोबास गर्नेहरुका लागि प्रकृतिसँग घुलमिल हुन यो वन उपयुक्त गन्तव्य पनि बनेको छ ।

काठमाण्डौ महानगरपालिका –३ लाजिम्पाट र सामाखुसी छेउमा रहेको यो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाहरुको देवाली हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ सालमा जिल्ला वन कार्यालय काठमाण्डौमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको छ ।

यो वनभित्र रानीदेवी मन्दिर पनि रहेको छ । यसलाई ‘पोर्पा अजिमा’ पनि भनिन्छ । परम्परादेखि नै राजाहरुको देवाली हुने मन्दिरको रुपमा पहिचान बनाएको यो जंगलमा विसं २००७ साल भन्दा अगाडि सर्वसाधारणले प्रवेश पनि पाउँदैन थिए । पछि ०५७ सालमा सामुदायिक वनमा रुपान्तरण भएपछि उपभोक्ता समूहद्वारा संरक्षित हुँदै आइरहेको छ । रानीबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोषविक्रम शाह भन्छन्, ‘अहिले लाजिम्पाट र रानीवारी वरपर क्षेत्रका ४१ घरधुरीले यो वनको संरक्षण गर्दै आइरहेका छन् ।’

स्वच्छ हावापानी र खुला स्थान भएकाले यो वन ‘मर्निङ वाक’ गर्ने महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको छ । अध्यक्ष शाह भन्छन् ‘वनभित्र वरीपरि हिँड्नका लागि बाटोको निर्माण गरिएको छ । अहिले पनि दैनिक १ हजार जना भन्दा बढी बिहान मर्निङ वाकका लागि मानिसहरु आउने गरेको तथ्यांक छ ।’

वनको बीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिसहरु देवीको दर्शनका लागि समेत जाने गरेका छन् । बिहानैदेखि खुल्ने वनमा बिहान ८ बजेसम्म निःशुल्क प्रवेश र बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म प्रतिव्यक्ति १० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । बेलुकी ५ बजेपछि भने यो वनमा प्रवेश निषेध गरिएको छ ।

रानीबारी सामुदायिक वन उपभोक्ता समिति र नेपाल पन्छी संरक्षण संघको सहकार्यमा वनभित्रै ‘जैविक विविधता संरक्षण सिकाइ केन्द्र’ स्थापना गरिएको छ । यहाँको जैविक विविधताको बारेमा अध्ययन गर्नका लागि यो सिकाइ केन्द्र स्थापना गरेको अध्यक्ष शाह बताउँछन् । यहाँ विभिन्न समयमा बसाइँसराइ गरेरसमेत चराहरु आउने गरेका छन् । अध्यक्ष शाह भन्छन् ‘विभिन्न समयमा बसाइँसराइ गरेर समेत स्वदेशी तथा विदेशी गरी करिब १ सय प्रजातिका चराहरु विभिन्न मौसममा यहाँ आउने गरेको नेपाल पन्छी संरक्षण संघको तथ्यांक छ ।’ यो वन चरा अध्ययनको लागि पनि उपयुक्त बनेको उनकाे तर्क छ ।

पछिल्लो समय काठमाण्डौको खुला स्थान मासिँदै गइरहेको बेलामा यो वन काठमाण्डौ बासीका लागि उपयुक्त खुला सास फेर्ने ठाउँ बनेको छ । जंगल क्षेत्र भएकाले सुरक्षा चुनौति पनि देखिन्छ तर पनि व्यवस्थित बनाउन सके मध्य काठमाण्डौका बासिन्दा टहलिनका लागि यो उपयुक्त गन्तव्य बनिरहेको छ ।

रानीबारी उपभोक्ता समूहका अध्यक्ष शाह भन्छन् ‘यो वनभित्र भौतिक पूर्वाधारको निर्माणका लागि दैनिक मर्निङ वाकमा आउने व्यक्तिहरुसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क उठाएर काम गर्ने भनेर पनि हामीले सुरु गरेका छौँ ।’ उनका अनुसार अहिलेसम्म ४० जनाभन्दा बढीले सदस्यता ग्रहण गरिसकेका छन् ।

जंगलभित्र बिहान हिँड्नका लागि राम्रो बाटो निर्माण गर्ने, खुड्किलाहरु मर्मत गर्ने, ढलेका रुखहरु व्यवस्थापन गर्ने, सुस्ताउनका लागि केही ठाउँ बनाउने गर्न सके यहाँ बिहान दिउँसो टहलिन आउनेहरुका लागि अझ रोमाञ्चक हुने अध्यक्ष शाह बताउँछन् । यसका लागि उपभोक्ता समितिले पनि काम गरिरहेको उनले जानकारी दिए ।

शहरको भिडभाड र घरहरूबीच काठमाण्डौ उपत्यका कंक्रिडको जंगल बन्दै गर्दा रानीवारी सामुदायिक वनले गरिरहेको यस किसिमको पहल सराहनीय रहेको घुमफिरका लागि आएका उपत्यकाबासीहरु बताउँछन् ।

मध्य काठमाण्डाैमा रहेकाे रानीबारी सामुदायिक वनको गुगल नक्सा ।

सबै तस्बिर : रानीबारी सामुदायिक वनकाे फेसबुक पेजबाट

प्रकाशित मिति : 20 जनवरी 2020, सोमवार
प्रतिक्रिया दिनुहोस