लमजुङ – लमजुङ जिल्लाको बेँशीसहर नगरपालिका वडा नम्बर १ उदीपुर गाउँ । गाउँको माथिल्लो भू–भागमा छ कालिका सामुदायिक वन । मुख्य सडकबाट अलि उकालो बाटो लगभग १५ मिनेट हिँडेपछि सुरु हुन्छ यो वन । वन नजिकै जोडिएको छ श्याम परियारको घर ।
लमजुङ जिल्लाको बेसिशहर नगरपालिका वडा नम्बर १ निवासी ४२ वर्षका श्याम परियार स्थानीय कालिका सामुदायिक वन उपभोक्ता समूहका सदस्य हुन् । उनी आफ्ना छोराछोरी सहित ६ जनाको परिवारमा बस्दै आएका छन् । सामुदायिक वन समूहले गरेको सम्पन्नता स्तरीकरण अनुसार उनी ‘घ’ वर्गका उपभोक्ता हुन् अर्थात् उनी अति विपन्न वर्गमा पर्छन् ।
श्यामको परिवारलाई गरिबीका कारणले गर्दा पहिले दैनिक हातमुख जोर्न र एकसरो गतिलो लुगा लगाउनसमेत धौ–धौ थियो । परिवारका सदस्य कोही बिरामी परिहाले पनि औषधोपचार गर्न नसकेर गाउँलेसँग हात फैलाउँदा समेत हातमा केही नपरेपछि उनी बेला–बेला निराश हुन्थे । ज्याला मजदूरीबाट हुने लगभग मासिक ५ हजार रुपैयाँ आम्दानीले जेनतेन परिवारको जीविका चलेको थियो । बस्नका लागि व्यवस्थित घर थिएन, न त राम्रोसँग खेतीपाती गर्नका प्रसस्त जग्गा जमिन नै थियो । यस्तो विषम परिस्थितिमा श्यामको लागि कालिका सामुदायिक वन नै सहयोगी बन्यो ।
सामान्यतया सामुदायिक वनले समुदायका उपभोक्ताका लागि काठ दाउरा, घाँसपात गर्न सहज बनाइरहेको छ । यसबाहेक पनि कालिका सामुदायिक वनका उपभोक्ताको जीवनस्तर उकास्न हरियो वन कार्यक्रमले ल्याएको जिविकोपार्जन सुधार कार्यक्रम श्यामको लागि एकदम फलदायी सावित भयो । विगतका ती दिन स्मरण गर्दै श्याम भन्छन् ‘कालिका सामुदायिक वनमा हरियो वन कार्यक्रमले सुरु गरेको जीविकोपार्जन सुधार कार्यक्रमले मेरो जीवनमा राहत दिलाएको छ ।’
हरियो वन कार्यक्रममार्फत् १२ हजार रुपैयाँको अनुदान सहयोग पाएका श्याम परियारले २०७० सालमा सो अनुदानको रकमबाट बङ्गुर पालन व्यवसाय सुरु गरे । २ ओटा बङ्गुरको पाठाबाट छ महिना बित्न नपाउँदै उनले लगानी कटाएर करिब ३० हजार रुपैयाँ फाइदा निकाल्न सफल भए । त्यसपछि बंगुरपालनमा उनको मोह बढ्दै गयो । अति विपन्न वर्गमा पर्ने श्याम आजभोलि बङ्गुर पालन व्यवसायकै कारण पहिलेभन्दा आर्थिक रूपमा सक्षम भएका छन् । भन्छन्, ‘यसबाट घरखर्च राम्रैसँग चलेको छ । छोराछोरीको पढाइ खर्च पनि यसैले धानेको छु ।’
२०७२ सालमा पहिलो पटक विपन्न वर्गहरूका लागि जीविकोपार्जन सुधार योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पाएको श्यामले त्यसको केही समयपछि हरियो वन कार्यक्रमको सहयोगमा बङ्गुर पालन व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा तीन दिने तालिम पनि लिए । उनले यही तालिममा सिकाए अनुसार नै व्यावसायिक योजनाकासाथ बङ्गुर पालन गर्दै आएको बताए ।
अहिले उनी यस व्यवसायबाट सरदर अर्धवार्षिक रुपमा ४५ हजार आम्दानी हुने गरेको बताउँछन् । यही आम्दानीले उनले अहिले बंगुर किन्ने बेच्ने गरिरहेका छन् । बंगुर पालनको आफ्नो अनुभव सुनाउँदै श्याम भन्छन् ‘साना बंगुरका पाठा किनेर अलि ठूलो बनाउँदै बेच्दै गर्दा छिटो नाफा लिन सकिने रहेछ ।’ बंगुर बिक्री नहोला कि भन्ने चिन्ता श्यामलाई हुँदैन । अहिलेसम्म उनलाई यस्तो समस्या परेको छैन । सबै बंगुरहरु हुर्किएपछि घरबाटै बिक्री भइरहेको छ ।
अहिले उनको बंगुर फार्ममा साना साना २ ओटा पाठामात्रा छन् । ठूला भएका बंगुर बेचेर उनले अहिले २ ओटा पाठा हुर्काइरहेका छन् । ठूला बंगुर बेचेको पैसाबाट फेरि साना पाठा किन्ने उनको योजना रहेको छ । उनले भने ‘अब केही दिनभित्र बंगुरको पाठा थप्दैछु ।’
श्यामले बङ्गुर पालन व्यवसायबाट नै १० कक्षा सम्म छोरा र १२ कक्षासम्म छोरी पढाएका छन् । आज भोलि दैनिक गुजारा चलाउनका लागि ज्याला मजदूरीमा हिँड्न नपरेको उनी बताउँछन् ।
श्याम भन्छन् ‘भविष्यमा बङ्गुरको संख्या थप्ने र यहाँको बंगुरपालन व्यवसाय ठूलो बनाउने योजना बनाएको छु । यही व्यवसायबाट आम्दानी गर्न थालेपछि म र मेरो परिवारलाई समाजले हेर्ने दृष्टिकोण नै फेरिएको छ ।’ खुसी मुद्रामा उनले अगाडि भने, ‘अहिले नै यो व्यवसाय विस्तार गर्नका लागि मसँग पर्याप्त पैसा छैन । अझै केही सहयोगी हातहरुको पर्खाइमा छु ।’