सामुदायिक वनको काम : गरिबी न्यूनीकरणका लागि बन्धकीमा गैरी खेत

– मीना घोरसाइने

तनहुँ, मङ्सिर ५ । म्याग्दे गाउँपालिका १, गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले अति विपन्न परिवारलाई बन्धकी (समयसीमा पुरा भएपछि सो रकम फिर्ता हुने गरी)  मा खेत उपलब्ध गराएर उनीहरुको जिविकोपार्जनमा सघाउने काम गरिरहेको छ ।

मुलुककै नमुना र उदाहरणीय उक्त कार्य सामुदायिक वनको कोषमा जम्मा भएको रकमबाट अघि बढाइएको हो । वि.सं.२०७५ सालमा जग्गा बन्दकीमा लिएर खेती सुरु गरेको सामुदायिक वनले दुई वर्षसम्म ‘घ’ वर्गका ६÷६ जना उपभोक्तालाई खेती गर्न दिएको थियो ।

त्यो उत्पादनले अन्य परिवारलाई समेत खान पुग्ने देखिएपछि यो वर्ष १३ जना उपभोक्ताले दर्ता रकम रु ५० तिर्न लगाएर खेत उपलब्ध गराइएको समूहका अध्यक्ष मुक्तिनाथ दाहालले बताउनुभयो ।

सामुदायिक वनले उपलब्ध गराएको २० रोपनी खेतमा उपभोक्ताले सामुहिक रुपमा तीन बाली खेती गर्छन् । हिउँदे र वर्षे गरी दुई बाली धान लगाउँदै आएका छन् भने एकबाली मकै, तोरी, गहुँ लगायतका अन्न लगाउने गर्छन् ।

सुरुको वर्ष बिनासम्झौता खेती गरेपनि अर्काे वर्षदेखि पाँच वर्षका लागि सम्झौता गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । वि.सं.२०७६ मा सो खेतमा ८४ मुरी ६ पाथी धान उत्पादन भएको थियो । यो वर्ष भने भित्र्याउने काम सुरु भएको उहाँले बताउनुभयो ।

समुहको नौलो कामले उपभोक्तालाई धेरै सहयोग पुगेको छ । परिवारमा पहिले दुई छाक टार्न समेत निकै मुस्किल हुने अनुभव संगालेकी उपभोक्ता ४३ वर्षीया चन्द्रकला सुनारले सामुदायिक वनले विपन्न परिवारका लागि खेत उपलब्ध गराएपछि आफूहरुलाई निकै राहत मिलेको बताउनुभयो । दुई रोपनी पाखो बारीमा उब्जाएको अन्नले ६ महिना समेत धान्न कठिन हुने स्मरण गर्दै उहाँले भन्नुभयो “सात जनाको परिवार धान्न निकै मुस्किल थियो, अहिले आफैंले उत्पादन गरेको धानले दुईछाक भात खान पुगेको छ ।”

उहाँका अनुसार सामुदायिक वनकै कारण अहिले दैनिक ज्यालामजदुरी गरेर मात्र हातमुख जोड्नुपर्ने बाध्यता हटेको छ । अर्का उपभोक्ता आशबहादुर आलेको अनुभव पनि उस्तै छ । पाँचजनाको परिवार ज्याला मजदुरीबाटै चलाएका र मजदुरी समेत नभएको समय भोकै रात काटेको तीतो अनुभव भएका उहाँ भन्नुहुन्छ, “पहिले छोरीहरुलाई समेत ज्याला गर्न पठाइन्थ्यो, सधैँ विद्यालय जान पाउँदैनथे, तर अहिले बुढाबुढी मिलेर काम गर्छाैँ भने छोरीहरुलाई त्यही पैसाले कापीकिताब किनिदिने गरेका छौँ ।”

तनहुँका तत्कालीन जिल्ला वन कार्यालय प्रमुख रामबाबु खनालले वनको आम्दानीबाट फरक खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने सल्लाह दिएपछि उपभोक्ता समुहले अति विपन्न परिवारका लागि भन्दै चार लाख रुपैंयामा खेत बन्धकीमा लिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

सामुदायिक वनले साल, चिलाउने, खयर लगायतका काठ विक्री गरी आम्दानी गर्दै आएको छ । खेतमा लगानी गर्नुपूर्व समूहले बाख्रापालन, तरकारी खेती, गाईपालन आदिमा लगानी गरेको थियो ।

प्रकाशित मिति : 20 नोभेम्बर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस