सामुदायिक वनले दिएको बाख्राबाट लाखौँँको आम्दानी

मीना घोरसाइने

चितवन, मङ्सिर ८। चितवनको कालिका नगरपालिका वडा नम्वर ५ की ७५ वर्षीया साबित्री सुवेदीले आम्दानीको स्रोत केही नहुँदा ज्यालामजदुरी गरेरै जीवन चलाइरहनुभएको थियो । त्यसमाथि श्रीमानले सौता ल्याएका कारण उहाँ माइतीको सहारामा बस्दै आउनुभएको थियो ।

बाख्रालाई घाँस दिँदै सावित्री सापकोटा

मनभरी पिडा बोकेर आर्थिक अभावसँग जुध्नुपरेका बेला भिमवली सामुदायिक वन उपभोक्ता समूह उहाँका लागि वरदार भएर आइदियो । त्यसैले समूहका कार्यालय सचिव राजेश महतो आफ्नै घरमा आएर, “आमा हाम्रो सामुदायिक वनले तपाईंजस्तै विपन्नको सहयोगका लागि बाख्रा दिन लागेको छ, हजुरको नाम पनि पठाइदिएँ है !” भनेको कुरा उहाँ कहिल्यै बिर्सनु हुन्न । हुनपनि यो शब्दले नै उहाँमा नयाँ उर्जा थपिदिएको हो ।

श्रीमानबाट पीडित भइसकेपछि ज्यालामजदुरीबाहेक अन्य आम्दानीको स्रोत केही नभएकी उहाँलाई माइतीले एक रोपनी जग्गा दिएका थिए । तर त्यसमा पनि साबित्रीले सास्ती भोग्नुपर्यो । किनभने सो जग्गा पनि श्रीमानले आफ्नै नाममा नामसारी गरिदिनुपर्ने भन्दै रोक्का गरिदिए । त्यसैले त जग्गा आफ्नो नाममा ल्याउन समेत उहाँले वर्षाै आफ्ना श्रीमानसँग मुद्दा लड्नुपरेको थियो ।

सापकोटाले पाल्नुभएको बाख्रा

सारै अप्ठ्यारोमा परेका बेला सामुदायिक वन उपभोक्ता समूहले बाख्रा खरिद गरेर उहाँलाई दुईवटा पाठा सहित दिएको थियो । “बाख्रा ल्याएपछि मलाई परिवारमा नयाँ सदस्य थपिएको आभास भयो ।” उहाँ थप्नुहुन्छ, “ त्यसैले जङ्गलमा घाँस लिन जाँदा घरमा पुगेर कतिबेला बाख्रापाठालाई भेटुँ जस्तै हुन्छ ।”

एक्लै बस्दै आउनुभएकी उहाँले सामुदायिक वनबाट नै घाँस ल्याएर बाख्रापालन गर्नुभएको छ । उहाँको घरबाट सामुदायिक वनमा पुग्न आधाघण्टा लाग्छ । वि.सं.२०६९ सालमा रु दश हजार अनुदानमा दिएको उक्त बाख्राको रकम समेत साबित्रीले समयमै समूहलाई बुझाइसक्नुभएको छ । बाख्राले वर्षको दुईपटक पाठापाठी जन्माउने गरेकोले उहाँको आम्दानी बढ्न थाल्यो । अहिले पनि वर्षको पाँचदेखि सातवटासम्म खसिबोका बिक्री गरी आम्दानी गर्दै आउनुभएको छ । एउटा खसीलाई पन्ध्रदेखि बीस हजार रुपैंयासम्ममा बिक्री गर्ने गरेको उहाँको भनाई छ । सो बाख्राबाटै आफूले रु तीन लाखभन्दा बढी आम्दानी गरिसकेको उहाँको भनाइ छ । यो वर्ष भने कोभिड १९ का कारण उहाँले खसीबोका विक्रीमा अलि समस्या छ ।

अरु कामजस्तो बाख्रापालनमा खासै खट्नुपर्दैन । बाख्रापालनबाट आफूले गरेको लगानीभन्दा तेब्बर मुनाफा गरेको उहाँको दाबी छ । पहिले मेलापात गरेर खान नपुग्ने उहाँको खुसी सामुदायिक वनले नै ल्याइदिएको पुष्टि उहाँ गर्नुहुन्छ ।

त्यहाँकी अर्की उपभोक्ता पार्वती सुनारको कथा अलि फरक छ । आफैंले बाख्रा पाल्दा खासै फाइदा नभएपनि २०७४ सालमा सो सामुदायिक वनले अनुदानमार्फत दिएको बाख्राबाट उहाँले निकै लाभ लिइरहनुभएको छ ।

सुरुमा माउसहित दुईवटा पाठा ल्याउनुभएकी उहाँले सो वर्ष रु ३० हजारको लाभ लिनुभयो । भन्नुहुन्छ, “पहिले परिवार चलाउन निकै गाह्रो थियो, बाख्रा ल्याइसकेपछि धेरै सजिलो भएको छ ।” उहाँसहित पाँच जनाको परिवार चलाउन उहाँलाई खासै गाह्रो छैन । परिवार चलाउन मात्र होइन दुई छोराछोरीलाई पढाउन समेत अहिले निकै सजिलो भएको छ ।

आफूले पालेको बाख्रासँग पार्वती सुनार 

बाख्रा पालनबाटै उहाँले तीन वर्षमा रु दुईलाख भन्दा बढी आम्दानी उठाइसकेको बताउँदै उहाँले भन्नुभयो “मैले पालेको बाख्रा देखेर गाउँहरु समेत इष्र्या गर्ने गर्छन् ।”

उपभोक्ता समूहले आर्थिक वर्ष २०६०÷०७० देखि बाख्रा पालनमा घुम्ती कोषअन्तर्गत लगानी गर्न सुरु गरेको हो । समूहको तथ्याङ्क अनुसार सो वर्ष सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल अन्तर्गत हरियो वन कार्यक्रमको रु ७० हजार र समूहको रु २० हजार गरी नौ जना उपभोक्तालाई रु १०÷१० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । त्यस्तै आर्थिक वर्ष २०७०÷०७१ मा रु दश हजारका दरले १० जनालाई उपलब्ध गराएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७१÷०७२ मा १२ हजारको दरले ७ जनालाई उपलब्ध गराएको थियो । घुम्ती कोषको रकम उठ्न नसकेपछि दुई वर्ष सो कार्य हुन सकेको थिएन् । आर्थिक वर्ष २०७४÷०७५ मा १२ जनालाई १२ हजारको दरले बाख्रा खरिदका लागि अनुदान उपलब्ध गराइएको थियो भने आर्थिक वर्ष २०७५÷०७६ मा १६ जनालाई १२ हजारको दरले वितरण गरिएको समूहका अध्यक्ष मछिन्द्र पाण्डेले जानकारी दिनुभयो ।

“यो वर्ष कोभिड १९ का कारण घुम्ती कोषको रकम नआइसकेकाले लगानी गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो । अन्य क्षेत्रमा लगानी गर्नुभन्दा बाख्रापालनबाट सजिलै मुनाफा कमाउन सकिने भएकाले यो कार्यक्रमलाई पछिसम्म निरन्तरता दिने योजना बनाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 23 नोभेम्बर 2020, सोमवार
प्रतिक्रिया दिनुहोस