चितवन, मङ्सिर १५ । राप्ती नगरपालिका १० स्थित कोराककी ५१ वर्षिया वनमाया चेपाङले विदेश जान ठिक्क परेका छोरालाई सम्झाई बुझाई गरेर आफूले थालेको तरकारी खेतीमा सहयोग गर्ने बनाउनुभएको छ । झण्डै बाह्र वर्षदेखि तरकारी खेतीमा हात हाल्नुभएकी वनमायाले छोरालाई समेत प्रोत्साहन गरेर व्यवसायिक तरकारी खेतीमा रम्न सिकाएपछि गाउँमा विदेश भन्दा आफ्नै माटोमा श्रम गर्नेहरु बढ्न थालेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) की केन्द्रिय सदस्य समेत रहनुभएकी उहाँले सामुदायिक वनमा लाग्दालाग्दै जीविकोपार्जनका लागि मात्रै नभई व्यवसायिक रुपमै तरकारी खेती थाल्नुभएको हो । व्यवसायिक तरकारी खेतीले अहिले राम्रै आम्दानी हुन थालेको छ ।
त्यसैले वनमायाले छोरालाई विदेश जानबाट रोकेर व्यवसायिक तरकारी खेतीमै प्रोत्साहन गर्नुभएको छ । उहाँ थप्नुहुन्छ, “मेरो छोरा विदेश जान्छु भनेर तयार थियो, उसलाई विदेशमा गरेको मेहेनत यहीँ गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर बुझाएपछि उसले आफ्नो मनसाय बदलेर यसैमा लागेको छ ।” विदेशिनुको साटो गाउँमै तरकारी खेतीमा रमाउन थालेपछि अरु परिवालाई पनि प्रेरणा मिलेको छ । वनमायाले भन्नुभयो–“तरकारी खेतीबाट मेरो परिवारले रोजगारी पाएको छ, राम्रै छ हामी सन्तुष्ट छौं ।”
परिवार नै मिलेर खेती गर्दा श्रमिकलाई दिनुपर्ने ज्याला पनि बचेको उहाँ बताउनुहुन्छ । १० कठ्ठा जमिनमा तरकारी खेती गर्दै आउनुभएकी उहाँले तालिम लिने र अझ राम्ररी कसरी खेती गर्न सकिन्छ भनेर सिक्ने अवसर समेत पाउनुुभएको थियो । हाल उहाँले गोडभेंला, काउली, बन्दागोपी, करेला, सिमी लगायतका मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।
तरकारी खेतीका लागि प्राङ्गारिक मल आवश्यक पर्ने हुँदा वनमायाले बाख्रापालन समेत गर्नुभएको छ । बाख्रापालनबाट समेत राम्रै आम्दानी भैरहेको छ । सामुदायिक वनको आत्मनिर्भर अभियान र त्यसको उपयोगबाट नै बाख्रापालनलाई व्यवसायिकता दिन सकिएको उहाँले बताउनुुभयो ।
उहाँ भन्नुहुन्छ, “तरकारी खेतीका लागि बाख्राको मल एकदमै उपयुक्त सावित भएको छ, सायद सामुदायिक वन नभएको भए यसलाई निरन्तरता दिन सक्ने थिइँन ।”
तरकारी खेती र बाख्रापालनबाटै उहाँको परिवारले रु पाँचलाखभन्दा बढी आम्दानी गर्दै आएको छ । ८ जना परिवारले राम्रोसँग गुजारा चलाएको छ । उहाँ भन्नुहुन्छ, “आफूमा इच्छाशक्ति भए आफ्नै ठाउँमा धेरै प्रगति गर्न सकिन्छ ।”
सामुदायिक वनको उत्प्रेरण तथा वनमायाको सिकाईबाट नै कोराकका अन्य बाह्र जना चेपाङ महिलाले समेत व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् ।
३८ वर्षीय टिकामाया चेपाङले पनि १० कठ्ठा जमिनमा तरकारी खेती गर्न थालेको ६ वर्ष भयो । परम्परागत रुपमा धान, गहुँ, मकै, कोदो लगायत अन्नबाली लगाउँदै आउनुभएकी उहाँले व्यवसायिक रुपमा तरकारी खेती गर्नुपर्छ भन्ने जानकारी वनमायाले नै दिनुभएको थियो । उहाँ भन्नुहुन्छ, “पहिले आम्दानी नहुँदा छोराछोरीलाई विद्यालय भर्ना गर्न सकेका थिएनौँ, अहिले तरकारी खेतीको आम्दानीबाटै उनीहरुले पढ्न पाएका छन् ।”
कोराकका अधिकांश महिलाहरु आफूले गरेका उत्पादनलाई भरतपुर लगेर बेच्छन् । तरकारीको सिँचाई र ढुवानीका लागि सहजता छ । वनमायाकै प्रेरणाबाट अरु महिलाहरु समेत तरकारी खेती गरी आत्मनिर्भर बनिसकेका छन् ।
तरकारी खेती गर्नुपूर्व त्यहाँका महिलाहरु जंगलबाट भ्याकुर, तरुल खोजेर जीविका चलाउने गर्दथे । त्यस्तै ज्यालामजदुरी उनीहरुको प्रमुख पेशा थियो । त्यसबाट पनि उनीहरुलाई जीवन धान्न मुस्किल हुने गर्दथ्यो । तर व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि भने उनीहरुको जीवनशैलीमा धेरै नै परिवर्तन आइसकेको छ ।