हरियो वन कार्यक्रमको दश वर्षे समीक्षात्मक कार्यक्रम सम्पन्न

स्याङ्जा, मङ्सिर २६ । फेदीखोला गाउँपालिकामा सामुदायिक उपभोक्ता महासंघ नेपाल (फेकोफन) द्वारा सञ्चालित हरियो वनले गरेको दशवर्षे उपलब्धिको समीक्षात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।

सामुदायिक वनमार्फत कृषि वन, पर्यापर्यटन, फलफूल खेती, जडीबुटीखेती आदिमा प्रशस्त सम्भावना भएकाले गाउँपालिकाले त्यसतर्फ लगानी गर्नुपर्ने फेकोफनका सचिव ठाकुर भण्डारीले बताउनुभयो । “वनमार्फत समृद्धिमा जान सकिने भएकाले युवा स्वरोजगार कार्यक्रममा सामुदायिक वन लाग्नुपर्छ”, उहाँ थप्नुहुन्छ, “वनमार्फत महिला हिंसा अन्त्य गर्न सबै जना आ–आफ्नो ठाउँबाट संगठित रुपमा लाग्नु आवश्यक छ ।” गाउँपालिका पोखराबाट नजिकै जोडिएकाले पर्यटनको पनि प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले स्याङ्जाको वनमा प्रशस्त सम्भावना भएकाले वनमार्फत आयआर्जनमा जान गाउँपालिका तत्पर रहेको बताउनुभयो । आगामी दिनमा पनि यो क्षेत्रमा हरियो वनको कार्यक्रमलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।

फेकोफन गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले अबको दिनमा वनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा १ नम्बर वडाध्यक्ष खिमबहादुर थापा, २ नम्बरका वडाध्यक्ष हिमालयजंग बानियाँ, ३ नम्बरका वडाध्यक्ष कृष्ण रानाभाट, ४ नम्बरका वडाध्यक्ष माधव सुवेदी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा २ नम्बर वडाका वडाध्यक्ष बानियाँले स्वागत गर्नुभएको थियो । हरियो वन कार्यक्रममा कार्यक्रम प्रमुख डा शान्ताराज ज्ञवालीले हरियो वनको बारेमा प्रकाश पार्दै आगामी दिनमा आफ्नो तर्फबाट सामुदायिक वनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा महासंघको हरियो वनको कार्यक्रमका कार्यक्रम संयोजक डा सीता अर्यालले फेदीखोला गाउँपालिकामा हरियो वन कार्यक्रमले समीक्षा, हालसम्मको उपलब्धि, सिकाइ तथा भावी कार्यदिशाबारे प्रस्तुती गर्नुभयो । कार्यक्रममा त्यहाँका उपभोक्ताहरुले हरियो वनको सानो लगानीले आफूहरुले अहिले मासिक रु ५० हजारभन्दा बढी आम्दानी गरिरहेको जानकारी दिएका थिए । कार्यक्रममा स्याङ्जा फेकोफनका अध्यक्ष दोबबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नुभयो । विगत दश वर्षदेखि सो जिल्लामा हरियो वन कार्यक्रमले वृक्षरोपण, तरकारी खेती, रु चार लाख दुई हजारको घुम्ती कोष स्थापना गरी विपन्न वर्गको जिविकोपार्जनमा लगानी, बाख्रापालन, जलवायु परिवर्तन अनुकुलन आदिमा लगानी गर्दै आएको छ । त्यस्तै कार्यक्रममार्फत १० वटा सामुदायिक सिकाई तथा कार्य केन्द्रहरुका स्थापना र परिचालन गरी बाल विवाह न्युनीकरण अभियान, महिला हिंसा, जातिय छुवाछुतको अन्त्य, वन संरक्षण र विकासनिर्माणमा सहजीकरण गर्दै आएको छ ।

प्रकाशित मिति : 11 डिसेम्बर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस